• २७ पुस २०८१, शनिबार

तिहारमा ढाका टोपीको व्यापार बढ्दो

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, कात्तिक १८ गते । तिहारमा ढाका टोपीको व्यापारबाट ललितपुर पाटनका व्यापारीहरु सन्तुष्ट देखिएका छन् । स्थानीय व्यापारी नहकुल सिलवालले यस वर्ष पनि तिहारमा भाइटीकाका लागि ढाका टोपीको व्यापार राम्रो भइरहेको बताउनुभयो । 

उहाँले गत वर्षभन्दा यस वर्ष टोपीको मूल्य धेरै सस्तो भएको पनि जानकारी दिनुभयो । सर्वसाधारणले पनि लगाउन मिल्नेगरी सस्तोमा बजारमा टोपीहरु आएको व्यापारीहरुको भनाइ छ । उहाँरुले ढाकाटोपी नेपालको शान भएकाले त्यसको प्रयोग पनि बढ्दै गइरहेको प्रतिक्रिया दिनुभयो ।

व्यापारी सिलवालले भन्नुभयो, ‘पोहोरको दाँजोमा यस वर्ष एकदम सस्तो भएको छ । विशेष गरेर सानोतिनो वर्गका मान्छेले पनि टोपी लगाउन सक्ने स्थितिको टोपीहरु बजारमा आएको छ । अरुमा मूल्य बढे पनि टोपीमा घटेर आएको छ । एउटा सर्वसाधारणले लगाउन सक्नेखालको स्थितिमा आएको छ टोपी । तिहारको कारणले टोपीको व्यापार राम्रो भएको छ ।’

नेपालमा चाडपर्व दसैँ–तिहार, विवाह, व्रतबन्धलगायतका उत्सवहरुमा ढाका टोपीको अधिक प्रयोग हुन्छ । विशेषगरी तिहारमा दिदीबहिनीले भाजुभाइलाई उपहारको रुपमा पनि ढाकाटोपी दिने चलन अधिक रुपमा रहेको छ ।