• ८ मंसिर २०८१, शनिबार

सांस्कृतिक पर्व भाँड्नेखालका क्रियाकलाप हुनुहुँदैन : प्रधानमन्त्री

blog

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल संवत् कार्यक्रममा । तस्विरः मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौँ, कात्तिक १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्नेखालका क्रियाकलाप कसैले गर्न नहुने बताउनुभएको छ । नेपाल संवत् नयाँ वर्ष ११४५ का अवसरमा आज मूल समारोह समितिले काठमाडौँको वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले कुनै यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोलेजस्तै हाम्रा संस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास हुन नहुनेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको चर्चा गर्दै नेपाल संवतलाई कामकाजका भाषाका रुपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शंखधर साख्वाका विषयमा अध्ययन अनुसन्धान र कक्षा ९ र १० को ऐच्छिक विषयका रुपमा नेपाल भाषालाई पनि समावेश गर्नेजस्ता यस क्षेत्रका मागका विषयमा सरकारको ध्यान जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


उहाँले नेपाल संवत् मूल समारोह समिति आयोजनाका लागि सहयोगस्वरुप विगतमा आफू हुँदा थालनी भएको र बिचका केही वर्ष रोकिएको १० लाखमा वृद्धि गरी यस वर्ष सरकारले १५ लाख रकम सहयोग गरेको जानकारी गराउनुभयो । 

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमानसिंह, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सङ्घीय सांसद् कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका उपप्रमुुख सुनीता डङ्गोललगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “सबै भाषा र संस्कृति हाम्रा हुन् । नेपाली माटोका यी भाषा र संस्कृतिको संरक्षणमा हामी सबै एक भएर लाग्नुपर्छ ।’’


प्रधानमन्त्री ओलीले यसअघि ललितपुरको मङ्गलबजार र भक्तपुरको नयाँ थिमीमा आयोजित नेपाल संवत् नयाँवर्षका कार्यक्रममा पुगेर शुभकामना दिनुुभएको थियो ।