• २७ पुस २०८१, शनिबार

तिहार बिदामा पनि निरन्तर काममा

blog

तनहुँ जलविद्युत आयोजनाको बाँध स्थल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, कात्तिक १७ गते ।
निर्धारित समयमा काम पूरा गर्न तिहार बिदाको समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले कामलाई निरन्तरता दिएको छ । तोकिएको समयमा काम पूरा होस् भन्ने उद्देश्यले स्वदेशी तथा विदेशी दुवै गरी तीन सयभन्दा बढी कामदारहरु तिहारमा समेत काममा खटिरहेको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो । यस अघि दसैँको समयमा पनि कामलाई निरन्तरता दिइएको भण्डारीले जानकारी दिनुभयो ।

आयोजनाको तीन वटै प्याकेजका काम तिहारमा पनि निरन्तर सञ्चालन भइरहेको भण्डारीले बताउनुभयो । भण्डारीले भन्नुभयो, ‘‘निर्धारित समयमा पुरा गर्न प्याकेज १, प्याकेज २ र प्याकेज ३ अन्तर्गतका कामलाई तिहार बिदामा पनि नरोकी सञ्चालन गरेका छौँ ।’’

सिफ्टमा आलोपालो मिलाएर तिहार लगत्तै काममा फर्किने गरी केही नेपाली कामदारलाई तिहार मनाउन बिदा दिइएको भए पनि अधिकांशले काम गरिरहेको भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार नेपाली कामदार दुई सय ५० जना, चिनियाँ ३०, जर्मन दुई र भितनामी १५ काममा खटिएका छन् ।

आयोजनाको अनुसार प्याकेज १ अन्तर्गत बाँध खन्ने काम पूरा भई क्रङ्क्रिट गर्ने कार्य सुरु गर्न लागिएको छ ।  प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रालि) नेपाल जेभीले गरिरहेको छ ।  

त्यसैगरी आयोजनाको प्याकेज–२ अन्तर्गत पावरहाउसतर्फ स्टालेसन गर्ने कार्य तीव्र रुपमा भइरहेको छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ । भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युतगृहमा रहने उपकरणहरु जडानलगायतका कार्यहरु भइरहेका छन् ।

त्यसैगरी, प्याकेज–३ अन्तर्गत ९४ टावरमध्ये ७९ वटा टावरको फाउण्डेसन निर्माण गरिनुका साथै ६९ वटा टावर ठडाइ सकिएको छ । बाँकी वन क्षेत्रमा रहेकाले नीतिगत कार्यले रोकिएको आयोजनाले जनाएको छ । यसको निर्माण कार्य केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ । हालसम्म ६२ प्रतिशत काम पुरा भएको भण्डारीले जानकारी दिनुभयो ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । आयोजनाका अनुसार समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) मा सक्ने लक्ष्य राखिएको छ ।