• २७ पुस २०८१, शनिबार

गाजामा पोलियो खोप शनिबार पुनः सुरु हुने

blog

जेनेभा, कात्तिक  १७ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार उत्तरी गाजामा बालबालिकाका लागि पोलियो खोपको आवश्यक दोस्रो चरण शनिबार सुरु हुने बताएको छ । इजरायली बमबारीले खोप अभियान रोकेको थियो ।

गाजा क्षेत्रमा पोलियो खोपको अन्तिम चरण अघि बढ्नसक्ने घोषणा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलसँग अभियान तुरुन्त पूरा गर्न आग्रह गरेको एक दिनपछि आएको हो ।

घेराबन्दीमा रहेको प्यालेस्टिनी क्षेत्रमा पोलियोको पहिलो केस २५ वर्षपछि पुष्टि भएसँगै खोप अभियान सेप्टेम्बर १ मा सुरु भएको हो ।

पहिलो चरणको खोप गाजा क्षेत्रभरि पूरा गरियो र प्रतिरोधात्मक क्षमता निर्माण गर्न आवश्यक दोस्रो चरण अक्टोबर १४ मा अनुसूचीअनुसार सुरु भयो । युद्धमा मानवीय विरामको सहययोगमा पहिले केन्द्रीय गाजामा र त्यसपछि दक्षिणमा खोप अभियान सुरु भएको हो ।

तथापि डब्लुएचओले ‘तीव्र बमबारी’ का कारण जमिनी अवस्था ‘असम्भव’ भएकाले अक्टोबर २३ मा सुरु हुन लागेको उत्तरमा अन्तिम चरण स्थगित गर्‍यो। हमास लडाकुहरूलाई त्यहाँ पुनः सङ्गठित हुन नदिने उद्देश्यले इजरायलले गत महिना उत्तरी गाजामा ठूलो हवाई र स्थल आक्रमण सुरु गर्‍यो ।

“उत्तरी गाजामा पोलियो खोप भोलि पुनः सुरु हुन तयार छ”, डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले शुक्रबार सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “हामी गाजा सहरमा खोप अभियान गर्न आवश्यक मानवीय विरामको बारेमा आश्वस्त छौँ, दुर्भाग्यवश कभर गरिएको क्षेत्र पहिलो खोप चरणको तुलनामा उल्लेख्य रूपमा घटाइएकाले केही बालबालिकालाई असुरक्षित र सङ्क्रमणको उच्च जोखिममा छोड्नेछ ।”

उत्तरमा खोपहरू स्थगित गर्नुको आफ्नो मूल कारणमा संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीले मानवीय विरामका लागि अनुमोदित क्षेत्र गाजा सहर मात्र सीमित रहेको बताएको थियो ।

यसको अर्थ धेरै बालबालिकाहरूले आफ्नो दोस्रो खुराक छुटाउनेछन् । यसले गाजामा पोलियोभाइरसको संचरणलाई रोक्ने प्रयासलाई ‘गम्भीर रूपमा खतरामा’ पार्नेछ ।

गत शुक्रबार प्यालेस्टिनी क्षेत्रमा डब्लुएचओका प्रतिनिधि रिक पीपरकोर्नले केन्द्रीय र दक्षिणी गाजामा चार लाख ५२ हजार बालबालिकालाई खोप लगाइएको र उत्तरमा एक लाख १९ हजार बालबालिका आफ्नो दोस्रो खुराकको प्रतीक्षामा रहेको बताउनुभयो ।

डब्लुएचओका अनुसार मौखिक खोपको न्यूनतम दुई अलग–अलग खुराकहरू पोलियोभाइरस संचरणलाई रोक्न आवश्यक छन् । यसका लागि एउटै समुदायमा १० वर्षमुनिका सबै बालबालिकाको ९० प्रतिशतले खोप लगाउनुपर्छ ।

सामान्यतया ढल र प्रदूषित पानीद्वारा फैलिने पोलियोभाइरस अत्यधिक सङ्क्रामक हुन्छ । यसले विकृति र पक्षाघात ल्याउन सक्छ र मुख्य रूपमा पाँच वर्षमुनिका बालबालिकालाई प्रभावित गर्दै यो सम्भावित रूपमा घातक हुन्छ । रासस/एएफपी