• १९ पुस २०८१, शुक्रबार

छोरीहरूले गरे बाबुको काजकिरिया

blog

बुवाको निधन भएपछि काजकिरियामा लागेका छोरीहरु ।

हरिप्रसाद कोइराला 

उर्लाबारी, कात्तिक १५ गते । मोरङको सुन्दरहरैँचा–५ तीनपैनीका कृष्णबहादुर शाहीको मृत्युपछि उहाँका पाँच जना छोरीहरू र आमा टीका दशगात्र किरियामा बस्नु भएको छ । 

शाहीको कात्तिक ६ गते मिर्गौला र कलेजो रोगका कारण निधन भएको थियो । शाहीका पाँच छोरीहरू हुनुहुन्छ । परम्परागत हिन्दु संस्कारअनुसार परिवारका छोरा वा पुरुष सदस्यले मात्र किरिया बस्ने चलन छ । शाहीका पाँचै जना छोरीहरूले मिलेर आफ्ना पितालाई दागबत्ती दिनुभयो । दशगात्र किरिया कर्म पनि गरिरहनु भएको छ । 

मृतक शाहीको इच्छाअनुसार नै छोरीहरूले दागबत्ती दिएर काज किरिया गरेको आमा टीका शाहीले बताउनुभयो । “बुवाले किरिया गर्ने कोही नखोज्नु आफै गर्नु भन्नुभएको थियो, त्यसैले बुबाको अन्तिम इच्छा पूरा गरिदिएका हौँ, छोरी जेनिसाले भन्नुभयो । 

जेनिसासँगै जस्मीन, कृष्टिना, कसिस र प्रेरणाले कपाल मात्र खौरिनु भएको छैन, अरू सबै भेष किरियापुत्रीको जस्तै छ । सामाजिक कर्म पनि सबै प्रक्रिया पुगाएर गरिरहनु भएको छ । गाउँघरमा तिहारको झिलिमिली चलिरहेको बेला उहाँहरू स्नेहपूर्वक बुबाको काजकिरिया गरिरहनु भएको छ । स्थानीयले छोरीहरूलाई स्याबास दिँदै वियोगमा साथ दिइरहनु भएको छ । 

शाही परिवारको यो निर्णयले समाजमा नयाँ सन्देश प्रवाह गरेको छ । केहीले पितृसत्तात्मक परम्परालाई चुनौती दिँदै छोरीहरूले गरेको कदमलाई स्वागत गरेका छन् । सुन्दरहरैँचा ५ का वडाध्यक्ष गणेश चौधरीले भन्नुभयो– किरिया गर्ने अधिकार छोरीहरूले आफै स्थापित गर्दै जानुपर्छ । 

छोराले मात्र किरिया बस्नु पर्छ भन्ने सामाजिक परम्परा अन्त्य भए मात्र छोराछोरी दुवै बराबरी भन्ने नारा समेत सार्थक हुने स्थानीय शिवकुमार भट्टराई भोजपुरेले बताउनुभयो ।