निशा राई
धरान, कात्तिक १५ गते । ‘विमल कृति पुरस्कार–२०८०’ बाट साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ पुरस्कृत हुने भएको छ । देश तथा विदेशबाट नेपाली भाषी,लेखक,साहित्यकार सर्जकहरूबाट लेखिएका १ सय २ जना लेखकका विभिन्न विधाका कृतिहरू मध्येबाट निर्णायक समितिको सिफारिस अनुसार साहित्यकार थाम्सुहाङको निबन्ध कृति पुरस्कृत गर्ने बिहीबार पत्रकार सम्मेलन गरी आयोजकले बताएको छ ।
प्रकाश थाम्सुहाङको निबन्ध कृति ’शब्दथुम’ भित्र पूर्वेली पहिचान बोकेको रैथाने संस्कृति, रैथाने चेत र रैथाने जीवनशैलीलाई मिहिनरूपमा उतारिएको कवि विमल गुरुङ स्मृति पुस्तकालयको अध्यक्ष पूर्ण बहादुर गुरुङले बताउनुभयो । तीनै रैथाने चेत, संस्कृति र जीवनशैलीलाई आवाज दिने काम निबन्धले गरेको उहाँले बताउनुभयो ।
निबन्ध सङ्ग्रहभित्र आफ्नो भूगोलको सांस्कृतिक पक्ष र सीमान्तकृत चेतलाई उजागर गर्दै सशक्त विचार प्रवाह पनि गरिएको आयोजकले जनाएको छ । शब्दथुममा माटोको सुगन्ध र सांस्कृतिक रोमाञ्चकताले भर्दै आफ्नो समुदाय र परम्परामाथि शालीन विमर्ष गरिएको पुस्तकालयको सचिव भीम चाम्लिङले बताउनुभयो ।
प्राप्त भएका कृति मध्ये यसअघि श्रेष्ठ १० कृति चयन गरिएको थियो । पुरस्कार यही कात्तिक २४ गते आयोजना हुने ३३ औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५३ औँ जन्मजयन्तीको अवसरमा कृतिकार प्रकाश थाम्सुहाङलाई नगद राशि दुई लाख रुपियाँ, ताम्रपत्र र दोसल्लासहित अर्पण गरिने आयोजकले जनाएको छ ।
यसैगरी उक्त अवसरमा सुनसरीको तरहरा बसेर नेपाली साहित्यसँगै पत्रकारिता गर्दै आएका सिर्जनसील युवा विवेक विवश रेग्मीलाई यो वर्षको कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान प्रदान गरिने पुस्तकालयको सदस्य चन्द्र गुरुङले बताउनुभयो । सोही दिन उत्कृष्ट १० कविता मध्ये प्रथम, द्वितीय र तृतीय हुने कविहरूलाई पनि क्रमशः नगद २१ हजार, १८ हजार र १७ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।