• ८ मंसिर २०८१, शनिबार

एमाले चन्द्रागिरि नगर कमिटी कार्यालय उद्घाटन

blog

नेकपा (एमाले) चन्द्रागिरी नगर कमिटीको कार्यालय उदघाटन गर्नुहुँदै स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ ।

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १५ गते । नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीको कार्यालय उद्घाटन गरिएको छ । एमाले स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले कार्यालयको बिहीबार उद्घाटन गर्नुभयो ।  

चन्द्रागिरि –१२ बलम्बु स्थित कार्यालय उद्घाटन गर्दै स्थायी कमिटी सदस्य श्रेष्ठले अब एमाले चन्द्रागिरि नगरको १५ वटै वडाको काम सोही कार्यालयबाट हुने बताउनुभयो । आगामी निर्वाचन मिसन ८४ मा एमालेलाई चन्द्रागिरिमा स्थापित गर्नेगरी काम गर्न उहाँले पार्टी नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । नेता श्रेष्ठले दीपावली, नेपाल संवत्, छठ, महपूजाको अवसरमा सबैलाई शुभकामना दिनुभयो । 


एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तमबहादुर राउतको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य आनन्द पोखरेल, बागमती प्रदेश सांसद केशव पोखरेल, विन्दु श्रेष्ठ, जिल्ला अध्यक्ष दीपक निरौला, नेताहरू राजेश शाक्य, सन्तोष खड्का, हरिशरण थापा, बेलीमाया घले, लेमन श्रेष्ठ लगायतको सहभागिता थियो । 


कार्यालय उद्घाटनपछि दीपावली, नेपाल संवत्, महपूजाको अवसरमा चियापान कार्यक्रमको आयोजना गरिएको छ । अध्यक्ष राउतले नेपालीको महान् पर्वको अवसरमा सबैमा एकता कायम गर्ने सन्देश दिनका लागि चियापानको कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।