• १९ पुस २०८१, शुक्रबार

नेपालले अघि सारेका विषयप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री

blog

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिएर स्वदेश फर्किनुहुँदै । तस्बिर : मन्त्री पौडेलको सचिवालय

काठमाडौँ, कात्तिक १५ गते । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिएर बिहीबार स्वदेश फर्किनुभएको छ ।

अर्थमन्त्री पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले स्वागत गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरूको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गर्नुभयो ।


त्यसैगरी, जलवायु न्यायका लागि विकास साझेदार र सिङ्गो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्नुका साथै जलवायु न्यायका लागि स्थापित हानी नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अनुरोध गर्नु भएको थियो ।

अर्थमन्त्री पौडेलले नेपालले अघि सारेका विषयहरूप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको बताउनुभयो ।

अमेरिकामा रहेका बेला अर्थमन्त्रीले विश्व बैङ्क, एसियाली विकास बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीहरूसँग अलग–अलग भेटवार्ता गर्नुभएको थियो । त्यसैगरी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्नुभएको थियो ।

अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री पौडेलले नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुका साथै अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधि, नेपाली समुदाय लगायतसँग भेटघाट गर्नुभएको थियो । अर्थमन्त्री पौडेल कात्तिक ५ गते अमेरिका जानुभएको थियो ।