• २७ पुस २०८१, शनिबार

सेवा सुरु भएको नौ वर्षमा रणनीतिक अस्पतालको मान्यता

blog

रास्कोट अस्पताल । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट कात्तिक १५ गते ।
 कालीकोट जिल्लाको रास्कोट सामुदायिक अस्पतालले सेवा सुरु गरेको नौ वर्षमा रणनीतिक अस्पतालको मान्यता पाएको छ । स्थानीयको सहयोगबाट निर्माण भएर सेवा सुरु गरेको तत्कालीन रास्कोट सामुदायिक अस्पताल, हाल रास्कोट अस्पतालले कर्णाली प्रदेश सरकारबाट रणनीतिक अस्पतालको मान्यता पाएको हो ।

केही दिन अगाडि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा सबै सरोकारवालाहरू बिचको छलफलपछि प्रदेशका १२ वटा अस्पताललाई रणनीतिक अस्पतालका रूपमा विकास गर्ने निर्णय भएको थियो । कर्णाली विकास आयोगका सदस्य अशोक नाथ योगीले आफ्नो संयोजकत्वमा सबै सरोकारवालाहरुको बिचमा मन्त्रीको सहभागितामा प्रदेशका १२ अस्पताललाई सबै सेवा सुचारु गर्ने गरी रणनीतिक विकासका रूपमा अगाडि बढाउने निर्णय भएको बताउनुभयो ।

सदस्य योगीले प्रदेश योजना आयोगले हरेक पालिकामा रहेको स्वास्थ्य संस्थालाई डिजिटल प्रविधिसँग जोडेर लैजाने र त्यहाँ विशेषज्ञ सेवालाई विस्तार गर्ने विषयमा पनि सामाजिक विकास मन्त्रालयमा समन्वय भइरहेको बताउनुभयो । उहाँले मन्त्री घनश्याम भण्डारीले पनि स्वास्थ्य क्षेत्रलाई बढी महत्त्व दिनुभएकाले आयोगका साथै सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयको एकमत हुँदा विकासलाई गति दिन सकिने धारणा व्यक्त गर्नुभयो ।

त्यसमा कालीकोटको रास्कोट अस्पताल पनि परेको छ । स्थानीय तुलाराज सिम्खडा, दयाराम सिम्खडा (दाजु भाइ) सहित कौसल न्यौपाने, हंसराज न्यौपाने, हंसराज बराल, डा. मुकुल ढकाल र पछिल्लो समयमा टेलिभिजनकर्मी रवि लामिछाने लगायतको सहयोगमा निमार्ण भएको रास्कोट अस्पतालले २०७३ साल यता सेवा दिँदै आएको छ । सुरुमा रास्कोट आयुर्वेदिकको भवनमा सेवा सुचारु गरेको अस्पताल अहिले आफ्नै भवन गौतुकोटमा सरेर सेवा दिँदै आएको छ ।

अस्पतालको सेवा विस्तरका लागि रास्कोट नगर सरकारले पनि सहयोग गरिरहेको छ । सुरुवाती चरणमै नगरपालिकाको सहयोग र रहेको र अहिले नगरकै पूर्ण स्वामित्वमा निर्माण दाताले हस्तान्तरण गरेपछि रास्कोट नगर सरकारको आफ्नै अस्पताल भएको छ । अस्पताल विकास समितिदेखि कर्मचारीको खटनपटन सबै नगर सरकारले गरिरहेको छ । स्थानीयले अस्पताल निमार्णका लागि जग्गा दान गरेका छन् । सामान्य सर्त अर्थात् स्वास्थ्य सेवामा सौलियत दिने गरस् स्युनाका सज्याल परिवारले अस्पताल निमार्णका लागि जग्गा दान गरेका थिए । अस्पताल सञ्चालनताका अध्यक्ष तुलाराज सिम्खडाले रास्कोट लगायत कर्णाली वारीका १७ गाउँविकास समिति मध्य १२ गाउँ विकास समितिलाई सेवा लिन सहज होस भनेर अस्पताल स्थापना गरिएको बताउनुभयो ।