• २७ पुस २०८१, शनिबार

सिँचाइले किसानमा उत्साह

blog

उपभोक्तालाई हस्तान्तरण गरिएको हुग्दीखोला तुराङ सिँचाइ योजना ।तस्बिर : रमेश विश्वकर्मा

गुल्मी समाचारदाता 

गुल्मी, कात्तिक १५ गते  । गुल्मीमा सिँचाइ योजना सम्पन्न भएसँगै स्थानीय अत्यन्तै खुसी देखिएका छन् । यहाँको चन्द्रकोट गाउँपालिका वडा नम्बर–८ स्थित हुग्दीखोला तुराङ सिँचाइ योजनाको निर्माण कार्य सम्पन्न भएसँगै सो योजना उपभोक्तालाई हस्तान्तरण गर्दा स्थानीय कृषक हर्षित भएका हुन् । विगतमा किसानले निकै दुःखका साथ अस्थायी कुलो निर्माण गरेर पालो कुर्दै सिँचाइ गर्दै आएकोमा अब सहज रूपमा खेतमा रातदिन जतिबेला पनि सिँचाइ गर्न पाइने भएको छ । उहाँहरूले विगतमा जस्तो खेतमा सिँचाइ गर्न दुःख नपाइने भन्दै खुसी व्यक्त गर्नुभयो । 

तत्कालीन जिविसमा रहेको गार्डेप परियोजना र स्थानीय उपभोक्ताबिचको संयुक्त लगानीमा माइक्रो–हाइड्रो निर्माण गर्ने उद्देश्यले कुलो निर्माण गरिएसँगै त्यो समयमा पनि सिँचाइमा केही सहयोग भएको स्थानीय उपभोक्ता रमेश भण्डारीले बताउनुभयो । 

हालको यो सिँचाइ योजना निर्माण गर्नका लागि यहाँका अगुवासँगै उपभोक्ताबाट निकै पहल भएको थियो । सिँचाइका लागि प्रशस्त पानी पुग्नुका साथै रातको समयमा यसैबाट २५ किलोवाट विद्युत्समेत उत्पादन गरिएको छ । विद्युत्बाट दुई विद्यालय, पाँच मन्दिर, तीन कुटानी–पिसानी मिल, दुई फर्निचरसमेत सञ्चालन गरिएको छ । २६५ घरधुरी विद्युत्बाट प्रत्यक्ष लाभान्वित भएका छन् । सिँचाइ योजनालाई पूर्ण रूपमा सञ्चालन गर्न सकिएमा रातदिन विद्युत् उत्पादनसँगै खेतमा सिँचाइ गर्न सकिने उपभोक्ताले बताएका छन् । 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीले दुई करोड ४३ लाख तीन हजार ३३ रुपियाँको लागतमा हुग्दीखोला तुराङ सिँचाइ योजना निर्माण गरेको हो ।