• २७ पुस २०८१, शनिबार

स्थानीय तहको कर एपबाटै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १५ गते । करदाताले मोबाइल एपबाटै स्थानीय तहको कर बुझाउन मिल्ने भएको छ । सरकारी कोषको हिसाबकिताब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार स्थानीय तहमा राजस्व बुझाउनका लागि सञ्चालनमा ल्याइएको ‘स्थानीय तह राजस्व पोर्टल’ अबदेखि मोबाइल एपमा पनि प्रयोग गर्न सकिने भएको हो । उक्त एप यही कात्तिक ११ गतेदेखि सञ्चालनमा आएको कार्यालयले जनाएको छ । 

कार्यालयले स्थानीय तहको कोष व्यवस्थापनका लागि २०७९ माघदेखि सञ्चालनमा ल्याएको सुत्र प्रणालीमा राजस्व मोड्युल सञ्चालनमा ल्याएको थियो । सोही मोड्युल अन्तर्गत अनलाइनमार्फत नै राजस्व बुझाउन सक्ने गरी २०८० पुसदेखि उक्त पोर्टल सञ्चालनमा ल्याइएको थियो । 

हालसम्म अनलाइनमार्फत वेब ब्राउजर प्रयोग गरेर सेवा लिन सक्ने भए पनि कार्यालयले मोबाइल एपबाट पनि यस्तो सुविधा थप गरेको हो । 

कार्यालयले ‘लोकल लेभल एलएलआरपी’ नाममा उक्त मोबाइल सञ्चालनमा ल्याएको हो । उक्त एप हाल गुगल प्ले स्टोरमा मात्र उपलब्ध छ । प्रयोगकर्ताले उक्त एप डाउनलोड गरेर आफैँ खाता खोलेर सम्बन्धित स्थानीय तहमा राजस्व बुझाउन सक्ने व्यवस्था गरेको कार्यालयले जानकारी दिएको छ । नयाँ प्रयोगकर्ताका लागि एप प्रयोग गर्ने तरिकाको जानकारी पनि कार्यालयले एपमै उपलब्ध गराएको छ । 

करदाताले स्थानीय तहको क्षेत्राधिकारभित्र रहेका सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिस्टे«सन शुल्क, सवारीसाधन कर, भूमिकर, मनोरञ्जन कर, विज्ञापन कर, व्यवसाय करलगायतका कर उक्त मोबाइल एपबाट भुक्तान गर्न सक्ने छन् । 

सुत्रमा थप सुविधा

महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहको सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा पनि केही नयाँ सुविधा थप गरेको छ । अहिलेसम्म सुत्रबाट भुक्तानी गर्दा सिधै गोश्वारा भौचर तयार गर्ने गरिएकोमा त्यसलाई सहज बनाउन अबदेखि सबै किसिमको भुक्तानी पेमेन्ट बुक ट्याबबाट गर्न सक्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।