गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २७ गते । नेपालमा पठनपाठनको संस्कृति अन्य देशको तुलनामा कमजोर रहेको विज्ञहरूले बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा शुक्रबार आयोजित मातृभाषा साहित्य शृङ्खला अन्तर्गत सिर्जना, संवाद र विमर्श कार्यक्रममा पठन संस्कृति कमजोर रहेको उनीहरूले बताएका हुन् । प्रतिष्ठानका कुलपति भूपाल राईले २०४६ सालतिरको पाठकको सङ्ख्या अहिले पनि उत्ति नै रहेको दाबी गर्नुभयो । पठन संस्कृति किताबबाट डिजिटल संस्कृतिमा गइसकेको र त्यसको लामो कारण रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “लामो समयसम्म प्राज्ञिक सत्ता एउटा खास जाति, समुदाय र वर्गसँग थियो । परिणामतः पठन संस्कृति कमजोर हुन पुग्यो । यो अत्यन्तै महत्वपूर्ण विषय हो ।”
उहाँले भन्नुभयो, “१९५८ सालमा सुरु भएको गोरखापत्रले भातृभाषालाई स्थान दिन एक सय वर्ष लाग्यो । यो काम उति बेलैदेखि सुरु गर्नु पथ्र्यो ।” सरकारी मिडियाले केही हदसम्म मातृभाषालाई स्थान दिएको कार्यक्रमका सहभागीले बताएका छन् । प्राध्यापक तपनाथ शुक्लले भन्नुभयो, “मिडियाले भाषालाई समय दिएको छ । गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपालले मातृभाषालाई स्थान दिएर संरक्षणको काम गरेका छन् ।”