जब बेनी–जोमसोम कच्ची सडकको धर्सो कोरियो तब मुक्तिनाथतिर सवारीसाधन चल्न थाले । तीर्थयात्राका लागि पैदल हिँड्ने क्रम रोकियो, सवारीसाधन प्रयोग हुन थाले । यसो गर्दा सुविधा त भयो तर धर्म चाहिँ कठिन यात्रापश्चात् पुग्नेको तुलनामा तीर्थ मात्रै गर्ने उद्देश्यले पुग्नेभन्दा पक्कै कम हुन थाल्यो ।
त्यतिबेला माथिल्लो मुस्ताङ त परै थियो र त्यता जाने निकै कम हुन्थे । तिनताक मुक्तिनाथ जानेहरूले यात्राका क्रममा भोग्नु परेका कठिनाइ अपत्यारिला जस्ता नै लागे पनि ती भोगाइ वास्तविक हुन्थे । समय परिवर्तन भयो र मुस्ताङ सबैसँग जोडियो । केही समय सडकमा उत्पन्न बाधा हटेसँगै आवतजावत सहज अनि घुमफिर सजिलो भयो । आफ्ना साधन लिएर हिँड्न पाइने भएपछि निजी वा भाडाका सवारीसाधन लिएर मुस्ताङ यात्रामा निस्कनेको सङ्ख्या बढेको छ । मुस्ताङबारे सुनेका तर नदेखेका मानिस पनि सजिलै चाहेका ठाउँमा पुग्न, मुस्ताङलाई नजिकबाट नियाल्न, उसकै छातीमा टाँसिएर रमाउन र उसलाई भोग्न सक्ने भएका छन् । यसैले तीर्थका रूपमा कागबेनी, मुक्तिनाथ जाने र घुमफिरका लागि मुस्ताङ ताक्ने यात्रुको सङ्ख्या दिनदिनै बढ्दो छ । अचेल त अझै माथि ल्होमन्थाङ, कोरला पुग्ने आन्तरिक पर्यटक र दामोदर कुण्डसम्मै पुग्ने तीर्थालुको सङ्ख्या पनि बढ्दो छ । मुस्ताङ धार्मिक गन्तव्य मात्र होइन, यो विशिष्ट अवस्थिति, विशिष्ट पहिचान, विशिष्ट संस्कृति र भिन्न भूगोल एवं प्राकृतिक सुन्दरताले युक्त हिमालपारिको जिल्ला र एउटा किल्ला पनि हो ।
प्रकृतिको कुरा गर्दा मुस्ताङ प्रवेशसँगै भलाकुसारी गर्न सम्मुख आए झैँ लाग्छ हिमाल । गजब त त्यतिखेर लाग्छ जब सधैँ उत्तरमा हिमाल देखिरहेका आँखा मुस्ताङ पसेसँगै दायाँबायाँ र अलि माथि पुग्दा दक्षिणतर्फ देखिन थाल्छन् । हामी हिमाल चढ्दैनौँ तर चालै नपाई हिमाल तलतिर देखिन थाल्छन् । यो देख्दा साँच्चिकै आश्चर्य लाग्छ, हामी अग्लिए झैँ र हिमाल होचिए झैँ लाग्छ ।
अझ माथिल्लो मुस्ताङ पुग्नु पर्छ झन्डै झन्डै चारैतिर हिउँले ढाकेका वा हिउँको टोपी लगाएका चुचुराले घेरा हाल्छन् वा भनौँ हातेमालो गर्न आउँछन् । प्रकृतिको यो अद्भुत सुन्दरता हेरेर हत्तपत्त अघाउँदैन मन, बर्सौंपछि भेटिएका प्रेमीप्रेमिका झैँ आँखै नझिम्क्याएर एकोहोरो हेरिरहूँ, अझै हेरूँ जस्तो लाग्छ नेपालका यी पहिचानलाई ।
यिनै हिमाललाई हेर्दै माथिल्लो मुस्ताङ पुगेका हामी २०७९ फागुन २१ गते फर्केर जोमसोम आइपुग्दा एकाएक झरीसँग साक्षात्कर हुन पुग्छ । निकै कम वर्षा हुने हिमाली क्षेत्रको यात्रा अनि हिमाली जिल्लाको सदरमुकाममा आइपुग्दा दुर्लभ झरी झेल्न पाउँदा हामी हर्षित मात्र छैनौँ, जोमसोमले हाम्रो स्वागतमा स्नेहवर्षा गराएको अनुभूति गर्दछौँ । झरीकै बिच जोमसोमलाई दायाँ पार्दै हामी उक्लिन्छौँ ठिनीतर्फ । ठिनी यहाँको पुरानो बस्ती हो, यही बस्ती हुँदै झरीमा रुझ्दै र जोमसोमको सुन्दरता नियाल्दै झन्डै छ किलोमिटर पर दक्षिणपश्चिम दिशामा रहेको धुम्बातालछेउ पुग्छौँ हामी ।
जब हामी ताललाई नियाल्न थाल्छौँ, यहाँको पानीको स्वच्छताले हामीलाई आहा ! भन्न बाध्य बनाउँछ । विभिन्न ठाउँका थुप्रै ताल देखे पनि प्रायः सबैतिर र प्रसिद्ध ताल नै पनि फोहोरले कुरूप भएको देखेका हामी धुम्बातालको हरियो निर्मल जल देखेर रमाउँछौँ । मनले मात्र होइन, मुखैले भन्छौँ, “आहा !” यति मात्र होइन, यस्तो सफा पानीमा पौडन पाए ! रहर उब्जन्छ मनमा ।
मन न हो कहाँ कहाँ पुग्छ, के के सोच्छ थाहै हुँदैन । कहिले थाहै नभई आकासिन्छ, कहिले पातालिन्छ । यो सीमाहीन, बेलगाम र निर्बन्ध मन सोच्नका लागि स्वतन्त्र छ । यसलाई रोक्ने कुनै विधान छैन । यसैले बेलाबखत यसले असम्भव पनि सोच्छ ।
यहाँ पुग्दा मनले पौडी खेल्ने सोच्छ तर त्यो केवल कल्पना मात्र हो, असम्भव किनकि यहाँ यतिखेरको चिसो साँच्चिकै चिसो छ, चिसोले पोलिरहेको छ हामीलाई र हामीले जोगिन हामीसँग भएका सम्पूर्ण न्याना कपडाले शिरदेखि पाउसम्म ढाकेका छौँ केवल आँखा खुला छन् दृश्यपान गर्नका लागि ।
सहयात्री फोटो खिच्दै छन्, म तालछेउ उभिएर एकोहोरो ताललाई नियाल्न थाल्छु । दुनियाँ बिर्साउने खालको ताल छ यो । आहा, कति मनमोहक ! म मोहित हुन्छु । मन सोच्छ– यही तालछेउ बसेर ध्यानमग्न हुन पाए !
मानव सृजित फोहोर र प्रदूषणबाट टाढा धुम्बाताल माथितिरको हरियाली देखेर मन लोभिन्छ । यो उचाइमा सायद यही नै अन्तिम हरियाली हो यस भेगको, यहाँभन्दा माथि यस्तो हरियाली देखिएन ल्होमन्थाङ, कोरलासम्म पुग्दा अन्यत्र कतै । समर आसपास मिश्रित वनस्पति देखिए पनि त्यसभन्दा परतिर फाटफुट भोटे पिपलका रुखबाहेक अन्य कुनै अग्ला वनस्पति देखिन्नन् । वनस्पतिका नाममा काँडे झ्याङ मात्रै देखिन्छन् ।
कुनै सिद्धहस्त कलाकारले कोरेको चित्र जस्तो, चिटिक्कको र आकर्षक, स्वच्छ सफा र हरियो पानीयुक्त ताल काँडेतारको घेराभित्र छ । यो घेराबन्दी तालको संरक्षणका लागि नै गरिएको हो, अन्यथा होइन । जल संरक्षणका लागि वनस्पतिको आवश्यकता हुन्छ र तालभन्दा माथिका वृक्षले यस तालको अस्तित्व जोगाउने काम गरिरहेका छन् पानीको मूल सुक्न नदिएर । कोणधारी वनस्पति छन् यहाँ । सल्ला, धुपी आदिका अग्ला बोट उभिएका छन् तालका पहरेदार बनेर । प्रकृतिको यो सिर्जना अनि यो तालमेल देखेर गजब लाग्छ । धुम्बाताललाई एक धार्मिक स्थल एवं पवित्र तालका रूपमा लिइँदो रहेछ बौद्धमार्गी स्थानीयद्वारा । सम्भवतः तालको संरक्षण र स्वच्छतामा यसको पनि भूमिका छ ।
जोमसोमको उचाइ पुगनपुग २,८०० मिटर हो, धुम्बाताल समुद्री सतहबाट करिब २,९०० मिटरमाथि अवस्थित रहेको जानकारी तालपरिसरको प्रवेशद्वारसामु रहेको बोर्डमा उल्लेख छ ।
धुम्बाताल कचौरा जस्तो छ आकारमा, सानो र एकै झलकमा हेरिसकिने, कतै खोजिरहनु नपर्ने । यो ताल आकारमा सानो तर आँखै नहटाएर हेरिरहूँ जस्तो सुन्दर छ । मन डुबल्की मार्छ कञ्चन तालमा र स्फूर्ति प्राप्त गर्दछ । चिसोमा कठ्याङ्ग्रिएका मौन पहाड एकोहोरो हामीतर्फ हेरिरहेका छन् । लाग्छ हामीलाई देखेर उनीहरू प्रसन्न छन् । चिसो निकै छ र हामीले भएभरका न्याना कपडा लगाएका छौँ । यसैले झरीको पर्बाह नगरी देखिएसम्मका दृश्य नियाल्दै तस्बिर लिन्छौँ, धित मरुन्जेल धुम्बातालको आँगनबाट ताल र वरपरका दृश्यको । हामी मन लागे जसरी र मन लागे जति धुम्बाताललाई हेर्छौं, नियाल्छौँ, कुनाकानी सबै झरीकै बिच र फर्किन्छौँ हल्का झरीमै जोमसोमतर्फ । जोमसोमलाई माथिल्लो मुस्ताङको प्रवेशद्वार पनि भनिन्छ । यो नीलगिरि, धवलागिरि र अन्नपूर्ण शृङ्खलाले घेरिएको छ । हाल घरपझोङ गाउँपालिकामा पर्ने जोमसोमको नामकरण सम्बन्धमा चाहिँ तिब्बती शब्द ‘जोङ साम्पा’ अर्थात् ‘नयाँ किल्ला’ बाट भएको मानिन्छ । त्यसैको अपभ्रंश भई जोमसोम भएको भनाइ छ । पुरानो बस्ती ठिनी हो, इतिहास भन्छ ठिनीका राजा थाङ मिग चेनले उत्तरदक्षिण व्यापा मार्गमा आवतजावत गर्ने मानिसको गतिविधि निगरानी गर्न यो किल्लाको स्थापना गरेका थिए । समयक्रममा ठिनी पातलिएर जोमसोम बाक्लिन थाल्यो । बिचमा कालीगण्डकी बहिरहेको छ शान्त, वारिपारि बस्ती छ जोमसोममा । बस्तीछेउ कालीगण्डकीसँगै छ आकलझुकल विमान आउने विमानस्थल । नजिकबाट हेर्दा सानो खोँच जस्तो लाग्ने जोमसोम धुम्बाताल र ठिनीको उचाइबाट हेर्दा भने कृषियोग्य भूमिसहितको ठुलो फाँट पो देखिँदो रहेछ । पाँचगाउँ क्षेत्र प्रसिद्ध छ यहाँको र यो क्षेत्र पनि ठिनी हुँदै धुम्बाताल पुग्दा देखिन्छ ।अलि माथि पुग्यो भने स्याङगाउँ, मार्फा, कागबेनी आदि र अझ पर परसम्मका दृश्य देखिन सक्छ पक्कै तर हामी माथितिर लाग्दैनौँ समय र मौसमका कारण ।
प्रकृतिको अनुपम छटा मुस्ताङको एउटा पहिचान हो । यसको अभाव यहाँ पनि छैन । नग्नतामा पनि सुन्दरता हुन्छ भन्ने कुरा आँखासामु उभिएका अग्ला धारिला चुचुरामा अनुभूत भइरहेको छ । ठिनीगाउँ, ठिनी गुम्बा, धुम्बाताल र जोमसोम अनि यहाँबाट देखिएका दृश्यबाट मन अघाएको छैन । छाड्न मन लागेको छैन तर समय र मौसमले हामीलाई धेरै अलमल नगर्न दबाब दिइरहेको छ । यसैले हामी फर्किन्छौँ गएकै बाटो ऐतिहासिक ठिनीको प्राचीन सुन्दर बस्ती र तलतिरका, खुर्पानी र स्याउ बारीका सुन्दर पाटा अनि तिनका तल गहुँ र जौका हरियाली नियाल्दै जोमसोमतर्फ किनकि कालीगण्डकी तर्ने पुल त्यहीँ नै छ र छुसाङबाट निरन्तर दायाँ रहेको कालीलाई बायाँ पार्दै अगाडि बढ्नु छ हामीलाई मार्फातर्फ ।