• २७ पुस २०८१, शनिबार

पशुमा पूर्ण खोप कार्यक्रम सुरु

blog

बाख्रालाई खोप लगाइँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक १४ गते । रोगले गर्दा हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका दश वटै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु भएको छ ।

महामारीजन्य रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा र सम्भावित क्षतिलाई रोक्न पशुहरूमा खोप लगाउनु आवश्यक भएकोले कार्यक्रम सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । पशुधन सुरक्षाका लागि किसानका पशु फार्म तथा गोठमा पुगेर पशुचौपायाको तथ्याङ्क सङ्कलन, खोपकर्ता नियुक्ति र अगुवा किसानसँग अभिमुखीकरण गरिसकिएको केन्द्रका प्रमुख डा. राजेशकुमार चौधरीले बताउनुभयो । 

गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले प्रदेशका ११ वटै जिल्लामा अभियान सञ्चालन अन्तर्गत तनहुँमा अभियान सञ्चालन गरिएको हो ।

विज्ञ केन्द्रका प्राविधिक कर्मचारी कृषकका पशु फार्म तथा गोठमा पुगेर गाई, भैँसी, बाख्रा तथा भेडाको तथ्याङ्क सङ्कलन गर्ने र खोप लगाइने भएको छ। खोप लगाउन  १० वटा पालिकामा रहेका ८२ वटा वडाको लागि ९३ जना खोप कर्ता खटाइएको पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले जानकारी दिनुभयो । ठकुरीले भन्नुभयो, "सबै पालिकामा गणक पुगेर पशुवस्तुको तथ्याङ्क यकिन गर्ने काम सकिएको छ । दोस्रो चरणमा आवश्यक खोप व्यवस्था गरी खोपको लगाउन सुरु गर्न लागेका छौँ ।"

ठकुरीका अनुसार सबैभन्दा धेरै तीन लाख ७५ हजार बाख्रामा खोप लगाइने छ । भैँसी ५५ हजार गाई ५४ हजार, बङ्गुर-सुँगुर ४० हजार र भेडा एक हजारमा खोप लगाइने छ । किसानको फार्म र गोठमा पुगेर बाख्रालाई पिपिआर, गाईभैँसीलाई खारेत, भ्यागुते, चरचरे, सुगुरबङगुरलाई स्वाइन पीवर र कुकुरलाई रेबिज रोगविरुद्धको खोप निःशुल्क लगाउने व्यवस्था मिलाइएको छ । 

पशुलाई महामारीजन्य रोगबाट बचाउने प्रभावकारी उपाय नै खोप भएकाले अभियान सञ्चालन गरिएको हो । पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको विज्ञ केन्द्रले जनाएको छ ।