काठमाडौँ, कात्तिक १४ गते । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई झुटा समाचारबाट जोगाउन आग्रह गर्नुभएको छ । नेपाल टेलिभिजन कर्मचारी सङ्घको आयोजनामा दीपावली, नेपाल संवत् र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै उहाँले झुटा समाचारलाई रोक्न जिम्मेवार सञ्चारमाध्यमहरुले भूमिका खेल्नुपर्ने बताउनुभएको हो ।
‘‘आफ्नो पेशाबाट तपाईंहरुले नेपालका समाजलाई झुटा समाचारबाट होइन कि सत्य समाचारबाट सूचित गर्नुस् । झुटा समाचारबाट नेपाली समाजलाई जोगाउन भूमिका खेल्नुस्’’, उहाँले भन्नुभयो ।
त्यस्तै, अहिले व्यवस्था बदलियो अवस्था उस्तै छ भनेर गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको भन्दै व्यवस्था परिवर्तनसँगै अवस्था पनि परिवर्तन भएको उहाँको भनाइ थियो । ‘‘पहिला एउटा टेलिभिजन थियो, अहिले कतिवटा छन् ? पहिला एउटा एयरलाइन्स थियो, अहिले कति छन् ? बैंकहरु पहिले कति थिए अहिले कति छन् ? पहिला इञ्जिनियरिङ कलेज एउटा थियो, अहिले कतिवटा भइसके ?’’ उहाँले भन्नुभयो, ‘‘कोही आएर केही भनिदिए हुने ? कमन सेन्स प्रयोग गर्न नपर्ने ?’’
उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैले अधिकारको कुरा गर्न पाउने तर त्योसँगै जिम्मेवारी पनि बिर्सन नहुनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।