• २७ पुस २०८१, शनिबार

बेलुका १० बजेसम्म मात्रै देउसी भैलो

blog

जिल्ला प्रशासन कार्यालय स्याङ्जा ।

अर्जुन काफ्ले

स्याङ्जा, कात्तिक १४ गते । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बेलुका १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले तिहारमा खेलिने देउसीभैलो, नाचगान कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित एवं अनुशासित रुपमा खेल्न आग्रह गरेको हो । 

देउसी भैलो कार्यक्रममा एकआपसमा भाइचारा र आत्मीयता अभिवृद्धि तथा आआफ्नो संस्कृतिको संरक्षण हुने गरी अरुको धर्म संस्कृति र परम्पराप्रति ठेस नपुग्ने गरी सौहार्दपूर्ण रुपमा मनाउन सहायक प्रजिअ दीपक पौडेलले बताउनुभयो ।  त्यस्तै दीपावलीको अवसरमा बिजुली तथा मैनबत्ती जस्ता प्रज्वलनशील वस्तुको प्रयोग गर्दा सावधानीपूर्वक प्रयोग गर्न अचानक लागलागी भएमा नजिकको सुरक्षा निकायमा खबर गरी नियन्त्त्रण गर्न प्रशासनले आग्रह गरेको छ । 

सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने तथा भीडभाड हुलहुज्जतजन्य गतिविधि तथा समाजमा अशान्ति सृजना एवं अशोभनीय क्रियाकलाप नगर्न नगराउन आग्रह गर्दै सवारी साधनको प्रयोग गर्दा छतमा बस्ने, झुण्डिएर यात्रा गर्ने कार्य नगर्न नगराउन भनिएको छ । विभिन्न बहानामा लामो तथा छोटो दूरीका भाडामा सवारी साधन धनीहरुले यात्रुसँग बढी भाडा लिने, दुर्व्यवहार गर्ने, क्षमताभन्दा धेरै यात्रु राख्ने, गरेको पाइएमा टोल फ्रि नम्बर १०० मा फोन गर्न प्रशासनले आग्रह गरेको छ । 

दीपावली मनाउने क्रममा प्रयोग हुने भुइँचम्पा, पटका, आतिजबाजी जस्ता विस्टफाेक पदार्थ तथा नियन्त्रित र निषेधित वस्तुको अवैध आयात  ओसारपसार र विक्री वितरणमा रोक लगाइएको भन्दै यस्ता कार्य नगर्न अनुरोध गरिएको छ । 

तिहार तथा दीपावलीको अवसरमा कानुनविपरीत जुवातास, कौडा, लङ्गुरबुर्जालगायत पैसाको हारजित हुने खेल नखेल्न नखेलाउन आग्रह गर्दै बजारमा कृत्रिम अभाव, जम्माखोरी, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि जस्ता कार्य नगर्न नगराउन साथै म्याद गुज्रेका भाइमसला तथा अन्य उपभोग्य वस्तु खरिद विक्री गर्नसमेत रोक लगाएको छ । 

निषेध गरिएका कुनै पनि कार्य गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने  प्रशासनले चेतावनी दिएको छ ।