• २७ पुस २०८१, शनिबार

६ करोड बढी लगानीका भौतिक संरचनाको उद्घाटन

blog

सूर्योदयको करफोक विद्या मन्दिर माध्यमिक विद्यालयमा निर्माण गरिएका संरचनाको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारी र सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम) कात्तिक १४ गते । इलामको सूर्योदय नगरपालिकामा रहेको करफोक विद्या मन्दिर माध्यमिक विद्यालयमा निर्माण गरिएको कृषि अनुसन्धान केन्द्र सहितका भौतिक संरचनाको उद्घाटन गरिएको छ ।

सङ्घीय सरकार र नगरपालिकाको छ करोड ३१ लाखको लगानीमा निर्माण गरिएको संरचनाको उद्घाटन गरिएको हो । बाली विज्ञान संकायका विद्यार्थीलाई सहयोग पुग्ने उद्देश्यले निर्माण गरिएका संरचनाको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारी र सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ । 

विद्यालयमा बाली विज्ञान सङ्कायलाई लक्षित गरी कृषि अनुसन्धान केन्द्र, टनेल, इ लाइब्रेरी, आइसिटी ल्याब, विज्ञान प्रयोगशाला, शिक्षक आवास, सोइल ल्याब, स्टेज, शौचालय, विद्यालय कार्यक्रम हल लगायतका संरचना निर्माण गरिएको छ । सङ्घीय सरकार र सूर्योदय नगरपालिकाले पढ्दै कमाउँदैको अवधारणा अन्तर्गत ती संरचना निर्माण गरी सञ्चालनमा ल्याइएको नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनुभयो ।

निर्माण भएका संरचना विद्यालयलाई हस्तान्तरण गरिएको उक्त कार्यक्रममा उपाध्यक्ष अधिकारी र नगर प्रमुख राईले विद्यालयका प्रधानाध्यापक गणेश आचार्यलाई संरचना सञ्चालन कार्यविधि समेत हस्तान्तरण गर्नुभयो । कार्यक्रममा उपाध्यक्ष अधिकारीले सबै संरचनाको स्थलगत अवलोकन गर्दै दिगो विकासका लक्ष्य प्राप्तिका लागि निर्माण भएका संरचनाले विद्यालयलाई ठुलो सहयोग पुग्ने बताउनुभयो । 

उहाँले दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गरेर जानु पर्नेमा जोड दिनुभयो । उपाध्यक्ष अधिकारीले भन्नुभयो, "दिगो विकासका लक्ष्य प्राप्तिका लागि यी योजना कोसे ढुङ्गा साबित हुने छन् ।" उहाँले संरचना निर्माण भएसँगै प्याकेजमा काम गर्नु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले करफोक क्याम्पसलाई नमुना अध्ययन अनुसन्धान केन्द्र बनाउने लक्ष्यका साथ नगरले काम गरी रहेको जानकारी दिनुभयो । उहाँले करफोक क्याम्पसमा २०० बढीलाई छोरीबुहारी शिक्षामार्फत अध्ययन गराइएको जानकारी दिनुभयो । उहाँले प्याकेज बनाएर आगामी दिनमा विद्यालयमा काम गरिने बताउनु भयो। उहाँले जलवायु र वातावरण अनुकूल विद्यालय निर्माणका लागि नगरले पहल थालेको बताउनुभयो । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश आचार्यले विद्यालयको इतिहास, वर्तमान अवस्था, भावी योजना र चुनौतीका विषयमा जानकारी गराउनुभयो । वि.सं २०१० सालमा औपचारिक शिक्षा सुरु गरेको करफोक विद्या मन्दिर पूर्वी नेपालकै सबै भन्दा पुरानो शैक्षिक केन्द्र रहेको प्रधानाध्यापक आचार्यले जानकारी दिनुभयो । 

निर्माण गरिएको टनेलमा अहिले बाली विज्ञान संकायका विद्यार्थीले सब्जी खेती गर्न थालेका छन् । करफोक विद्या मन्दिरको करफोकमा ५०० रोपनी र झापामा ३२ बिगाहा जमिन रहे पनि सही तरिकाले सदुपयोग हुन सकेको छैन ।