• २७ पुस २०८१, शनिबार

७६ सैन्यहरु सिपाहीमा दीक्षित

blog

चण्डीदल गणमा भएको दिक्षान्त समारोह । तस्बिरः राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक १४ गते । रुकुमपश्चिममा रहेको नेपाली सेनाको श्री चण्डीदल गणमा सञ्चालित सैन्य आधार तालिमको बुधबार दिक्षान्त समारोह सम्पन्न भएको छ । गणमा सञ्चालन भएको सि.सं. ६ सैन्य आधार तालिमको दिक्षान्त समारोहमा ७६ जना सैन्यहरु सिपाहीमा दिक्षित हुनुभएको हो । 

दिक्षान्त समारोहमा बोल्नुहुँदै गणपती एवम् प्रमुख सेनानी शरद थापाले सैनिक जवानहरुलाई सेनाको व्यावसायिकता र पेशागत मर्यादाभित्र रही देशको सेवामा दत्तचित्त भएर लाग्न निर्देशन दिनुभयो ।  

उहाँले नौ महिने तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने सैन्यहरूलाई बधाई तथा शुभकामना दिनुका साथै तालिम टोलीद्वारा प्रदर्शन गरिएको कवाजको निरीक्षण गर्नुभएको थियो । 

प्रमुख सेनानी थापाले नेपाली सेनाको मूल्य, मान्यता र परम्परालाई पालन गर्दै जस्तोसुकै परिस्थितिमा पनि राष्ट्र, जनता र नेपाली सेनाप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली सेनाको गरिमा र स्थापनाको महत्व बुझेर मातृभूमिको रक्षाका लागि हरदम तयार रहन समेत अनुरोध गर्नुभयो ।  

यस अवसरमा सी.सं. ६ सैन्य आधार तालिममा उत्कृष्ट हुन सफल पाँच जना सैनिक जवानलाई पुरस्कृत गरिएको थियो । सर्वोत्कृष्ट हुन सफल रबिन्द्र बिक, शारीरिक सहिष्णुतातर्फ गोपाल नेपाली, फायरिङ्गमा सुरेश बिक, बाधापारमा नरेश चौधरी र ड्रिलतर्फ नवराज घर्तीले पुरस्कार प्राप्त गर्नुभयो । उहाँहरूलाई गणपति प्रमुख सेनानी थापाले पुरस्कृत गर्नुभयो । 

दीक्षान्त समारोहस्थलमा दीक्षित हुनुभएका सिपाहीहरूका परिवार फूलमालासहित शुभकामना र बधाई दिन पुग्नुभयो । समारोहमा रुकुमपश्चिम र रुकुमपूर्वका प्रमुख सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयमा प्रमुखहरु लगायतको उपस्थिति थियो ।