• ७ पुस २०८१, आइतबार

काठमाडौँमा तिहारमा कुचोको माग धेरै, १० करोड व्यापार लक्ष्य

blog

काठमाडौँ, कात्तिक १४ गते । तिहारमा फूल माला र पालासँगै कुचाको माग पनि अत्यधिक हुने गर्दछ । नेपालका मुख्य सहरहरूमा कुचोको माग यति बेला अत्यधिक नै हुन्छ । कुचो व्यवसायीहरूलाई आपूर्ति धान्न गाह्रो हुन्छ । तिहार नेपालीहरूको हर्षोल्लासको पर्व भएकाले तिहारमा प्रयोग हुने झिलिमिली बत्ती, भाइ मसला, माटोको पाला, फूल माला र कुचोको माग अन्य समयको तुलनामा दोब्बर हुन्छ । अझ कुचोको माग त नेपालमा भन्दा भारतीय बजारमा बढी हुने व्यवसायीहरू बताउँछन् । कुचोमा पनि झाडु र अम्रिसोको कुचो हुन्छ । अम्रिसोको कुचो भारतीय बजारमा बढी माग हुने नेपाल कुचो सङ्घका अध्यक्ष राजकुमार कार्की बताउनु हुन्छ । यतिसम्म कि भारतीय बजारमा कुचोको मागले नेपालमा कुचोको मूल्य निर्धारण गर्छ । काठमाडौँमा गजमुखी झाडु कुचो उद्योग सञ्चालन गर्दै आउनुभएका अध्यक्ष कार्कीले कुचोको व्यापार सुरु गर्नुभएको २०४९ सालदेखि नै हो । इलाममा आफ्नो पुर्ख्यौली घरमा २०३० सालमा आफू जन्मिँदा पनि आफ्ना पिताले कुचाको व्यापार गर्नुभएको सम्झना उहाँलाई छ । त्यसैले उहाँले पनि पुर्ख्यौली पेसा २०४९ सालदेखि गर्दै आउनुभयो । काठमाडौँमा आएर व्यापार सुरु गरेको भने उहाँले १४ वर्ष करिब पुग्यो । 

उहाँले भन्नुभयो, ‘हामीले पारिवारिक रूपमा नै काम गरिरहेका छौँ । गजमुखी झाडु कुचो उद्योग, एनके लक्ष्मी ट्रेडर्स र गृहलक्ष्मी ट्रेडर्स तीन वटा हाम्रो फर्म छ । मैले यो व्यवसाय पारिवारिक विरासतकै रूपमा पाएको हो । म इलाममा जन्मिएको हो । हाम्रो इलाममा पिताजीबाटै २०३० सालमा नै व्यवसाय थियो । २०५० सालदेखि निरन्तर यो व्यवसायमा छु । हामी सबैको लागि यो रमाइलो पर्व तिहार हो ।’

किसानको असार १५ झैँ तिहारमा कुचो व्यवसायीहरूलाई कुचोको चटारो छ । माघ, फागुनमा जम्मा पारेका कुचोहरू बनाउने र बेच्ने काममा भ्याइन भ्याइ छ । तिहारमा कुचोको पूजा गर्ने कारणले पनि माग धेरै हुने गरेको उहाँ बताउनु हुन्छ । कुचोलाई आफ्नो जीवनपद्धतिका रूपमा लिनुपर्ने कार्की बताउनु हुन्छ । ‘अहिले विशेष गरेर हामी कुचो व्यवसायीहरूको लागि यतिखेर किसानको असार १५ जस्तै हो ।’ उहाँले भन्नुभयो, ‘हामीले माघ, फागुनमा जम्मा पारेका कुचोहरूलाई हाम्रो नेपाली सनातनी परम्पराअनुसार लक्ष्मी पूजामा यसको पनि विशेष पूजा हुने भएकाले अरू समयको तुलनामा दीपावलीको समयमा धेरै नै कुचोको माग हुन्छ । कुचो हाम्रो जीवनपद्धति हो भन्ने सम्झिनुपर्छ ।’

अध्यक्ष कार्कीले तिहारको समयमा काठमाडौँ उपत्यकामा कुचोका अतिरिक्त नाङ्लो र झाडुको माग धेरै हुने गरेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले अम्रिसोको कुचाको निर्यात विशेष गरी भारतमा बढी हुने बताउनु भयो । यस वर्ष मात्रै भारतमा १ अर्ब बराबरको कुचो निर्यात गरिसकेको उहाँको भनाइ छ । त्यसै बराबरको आन्तरिक खपत नेपालका विभिन्न सहरमा हुने गरेको कार्की बताउनुहुन्छ । तिहारको बेलामा अन्य समयको तुलनामा चार गुणासम्म बढी कुचो व्यापार हुने बताउनुभयो ।  

कार्कीले भन्नुभयो, ‘लक्ष्मीको प्रिय वस्तुका रूपमा कुचोलाई लिइन्छ । काठमाडौँलगायत सहरमा कुचोका अतिरिक्त नाङ्लो र झाडुको माग धेरै हुन्छ । अम्रिसोको कुचाको निर्यात विशेष गरी भारतमा हुन्छ । यो वर्ष १ अर्बभन्दा माथि अम्रिसोको कुचो निर्यात गरेका छौँ । त्यो बराबरको नेपालको विभिन्न सहरहरूमा हाम्रो आन्तरिक खपत हुन्छ ।’

कार्कीकाअनुसार दसैँ र तिहार चाडपर्व परेका दुई महिना ९असोज र कार्तिक० मा अन्य १० महिनाको बराबरको व्यापार हुन्छ । गत साल तिहारमा मात्रै करिब २० करोडको हाराहारीमा कुचो विक्री भएको उहाँको सङ्घको अनुमान छ । तर यस पटक भने अम्रिसोको कुचोको मूल्य केही घटेकाले माग बढे पनि रकमका हिसाबले भने विगतका वर्षहरूकै हाराहारीमा विक्री हुने अध्यक्ष कार्कीले बताउनु भयो । ‘अरू १० महिनामा जति व्यापार हुन्छ, त्यो व्यापार यो दुई महिना, दसैँ र तिहार केन्द्रित महिनामा हुन्छ । तिहारमा मात्रै गत साल २० करोडको कारोबार भएको थियो ।’ उहाँले भन्नुभयो, ‘तिहार बेला कुचो अरू बेलाको भन्दा तीन, चार गुणा बढी नै कारोबार हुन्छ । यो पटक अलिकति अम्रिसोको मूल्यमा गिरावट आएकाले कारोबार त बढ्यो तर मूल्य कम भएकाले फेरि पनि पोहोरकै दाँजोमा हाम्रो कारोबार हुन्छ ।’

काठमाडौँमा काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, सिन्धुलीलगायतका पहाडी जिल्लाहरूबाट कुचो आउने गरेको उहाँले बताउनु भयो । उहाँले कुचोको मूल्य निर्धारण भारतीय बजारबाट नै हुने गरेको पनि बताउनुभयो । भारतको आसाममा कुचोको ठुलो बजार भएकाले भारतको मागअनुसार कुचोको मूल्य त्यहीँ तय हुने उहाँको भनाइ छ । ४० रुपियाँ प्रति गाेटाबाट साढे तीन सयसम्मको कुचो विक्री गर्ने गरेको उहाँले बताउनुभयो । 

 यस दीपावलीमा काठमाडौँ उपत्यकामा १० करोडभन्दा बढीको अम्रिसोको कुचोको विक्री हुने आङ्कलन गरेका छौँ । अब अम्रिसो बनाउँदा खेरी यसलाई गुणस्तरीय बनाउनु पर्छ । समयमै दिने र समयमै सुकाइदिने गर्नुपर्छ किसानले भने । व्यवसायी साथीहरूले पनि अहिले उत्साहपूर्वक विक्री भइरहेको छ । साथीहरूले उपभोक्ताहरूलाई नठगिने हिसाबले व्यावसायिक प्रतिस्पर्धा कायम राख्न आग्रह गर्दछु । कुचो व्यवसायीहरूको असोजको बाढीका कारण काठमाडौँ र काभ्रेपलान्चोकमा भएका कुचो व्यवसायीहरूको करिब १ करोडभन्दा माथिको क्षति भयो । धेरै ठाउँमा कुचोको माग आएकाले समयमा कुचो नपुग्ने भएर कुचोभित्र कालोबजारी हुनसक्छ । त्यसलाई मध्यनजर गरी आबद्ध उद्योगहरूलाई दिन र रातमा पनि काम सञ्चालन गर्न र आफ्नो माग कायम राख्न आग्रह गरेका छौँ ।’

अध्यक्ष कार्कीले यस वर्षको दीपावलीमा दीपावलीमा काठमाडौँ उपत्यकामा १० करोडभन्दा बढीको अम्रिसोको कुचो विक्री हुने आङ्कलन गरेको बताउनु भयो । उहाँले अब अम्रिसो बनाउँदा गुणस्तरीय बनाउन आग्रह गर्नुभयो । किसानले पनि समयमै व्यापारीहरूलाई दिने र राम्रोसँग सुकाउनुपर्ने बताउनु भयो । उहाँले व्यवसायीहरूले पनि विपद्का कारण आवतजावतमा समस्या पर्ने भएकाले मागको आपूर्ति समयमा हुन नसक्दा कालोबजारी हुनसक्ने कुरालाई विचार गरी समयमै माग पूरा गर्न र तोकिएको मूल्यभन्दा बढीमा विक्री नगर्न आग्रह गर्नुभयो ।