• २७ पुस २०८१, शनिबार

गण्डकीमा खुल्यो निजामती किताबखाना

blog

लेखनाथ समाचारदाता 

लेखनाथ, कात्तिक १४ गते । गण्डकी प्रदेशमा मङ्गलबारबाट प्रदेश निजामती सेवा र स्थानीय सेवाको पद दर्ता एवं कर्मचारी वैयक्तिक विवरण व्यवस्थापन सिटरोल दर्ता सुरु भएको छ । गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९, नियमावली २०७९, स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०७९ तथा नियमावली २०८० र प्रदेश किताबखाना सञ्चालन कार्यविधि २०८० बमोजिम सिटरोल दर्ता सुरु भएको हो । 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङ जिल्ला अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट भारती मेहतालाई पहिलो सिटरोल प्रदान गरी सेवा सुरुवात गर्नुभएको हो । मुख्यमन्त्री पाण्डेले गत वर्ष सङ्घीय किताबाखानाबाट पासवर्ड प्राप्त भए पनि सुरु हुन नसकेको सेवा अहिले सुरु भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अब प्रदेशमा कर्मचारीको व्यवस्थित रेकर्ड रहने छ । यसले कर्मचारीको मनोबल उच्च बनाउन पनि सघाउने अपेक्षा गरेका छौँ ।”

स्वीकृत सङ्गठन संरचना एवं पद दर्ता तथा अद्यावधिक गर्ने, अभिलेख व्यवस्थापन गर्ने, कर्मचारीको सम्पत्ति विवरण अभिलेख राख्नेलगायतका काम अब किताबखानाबाट हुने छ । पहिलो चरणमा प्रदेश मन्त्रालय, निकाय र कार्यालयमा कार्यरत कर्मचारीको सिटरोल दर्ता गरिने छ । 

दोस्रो चरणमा स्थानीय तहका कर्मचारीको दर्ता गर्ने तयारी छ । दर्ताका लागि आफ्नो विवरण कर्मचारीले प्रदेश किताबखानामा पेस गर्नुपर्ने छ । सिटरोल दर्ता भएपछि पदपूर्ति, सेवा, सुविधा, जनशक्ति व्यवस्थापनलगायतका काममा सहज हुने प्रदेशका मुख्यसचिव रघुराम विष्टले उल्लेख गर्नुभयो । उहाँले गण्डकीमा स्वीकृत दरबन्दीमध्ये करिब ९० प्रतिशत कर्मचारी रहेको र बाँकी पदपूर्ति गर्नुपर्ने अवस्था भएको उल्लेख गर्नुभयो । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रशासन महाशाखा प्रमुख बाबुराम गौतम किताबखाना स्थापना भएपछि कर्मचारी संयन्त्र परिचालन र योजना निर्माणमा सहज हुने उल्लेख गर्नुहुन्छ । उहाँले भन्नुभयो, “आवश्यक जनशक्ति यकिन, वित्तीय स्रोत व्यवस्थापनसहित कर्मचारीको अभिलेख रहने भएकाले यसले सरकारलाई अनेक पक्षमा काम गर्न सहज बनाउँछ ।”