• २७ पुस २०८१, शनिबार

राहत नपाउँदा पशुपालक कृषक मर्कामा

blog

फाइल तस्बिर

कुस्मा समाचारदाता  

कुस्मा (पर्वत), कात्तिक १४ गते । पर्वतका पशुपालक कृषकले पशुधन क्षतिको राहत समयमा पाउन नसक्दा आफूहरू मर्कामा परेको गुनासो गरेका छन् । जिल्लामा बर्सेनि वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति हुँदै आएको छ । जिल्ला वन कार्यालय पर्वतका वन अधिकृत रामबहादुर विकका अनुसार गत वर्ष वन्यजन्तु खास गरी चितुवाको आक्रमणबाट भेडाबाख्रा, गाईगोरुसहित मारिनेको सङ्ख्या ९२ वटा रहेको थियो । सो पशुधन क्षतिबापतको छ लाख २८ हजार राहत रकम एक वर्षदेखि कृषकले पाउन सकेका छैनन् । जिल्लाको महाशिला गाउँपालिकाका कृषकको सबैभन्दा बढी सङ्ख्या ४२ वटा पशु वन्यजन्तुबाट मारिएको देखिन्छ । 

मोदी गाउँपालिका–६, तिलाहार रातामाटाका कृषक गोपी शर्मा पाध्याको आफ्नो घरनजिकै रहेको खोरमा थुनिएका छ वटा बाख्रा चितुवाले मारिदियो । कृषक पाध्याको खोरबाट छ वटा मारिएका थिए तर अवशेष भेटिँदा तीन वटाको मात्रै भेटियो । बाँकी तीन वटा बाख्राको भेटिएन । कृषक पाध्या दुःखेसो पोख्दै भन्नुहुन्छ, “खोरका छ वटा बाख्रा मारिए । मुचुल्का उठाउँदा तीन वटाको मात्रै अवशेष भेटियो । बाँकीको प्रहरीले सङ्ख्या टिप्न मानेन । तीन वटाकै मात्र भए पनि राहत रकम छिटो पाउन पाए थप बाख्रा राख्न पाइने थियो ।” पर्वतकै बिहादी गाउँपालिका–५, लुङ्¥याङ घर भएका ३६ बर्से अमृत थापा पशुपालक कृषक हुनुहुन्छ । खाडी मुलुकबाट फर्केपछि पशुपालन गरी जीवन गुजारा गर्दै आउनुभएका कृषक थापाको पनि चितुवाले खोरबाटै तीन वटा बाख्रा खाइदिएपछि राहतका लागि वन कार्यालयमा निवेदन दर्ता गराउनुभएको छ तर रकम भने नपाएको उहाँको गुनासो छ । 

पैयुँ गाउँपालिका–२ मा घर भएका कृषक नरबहादुर रानाको व्यथा पनि उस्तै छ । कृषक रानाले पालेको माउ बाख्रा चितुवाले खाइदियो तर राहत रकम भने हात परेको छैन । राहत रकम मिलेमा अलि राम्रो जातको माउ बाख्रा किनेर ल्याउने कृषक रानाको धोको कहिले पूरा हुने हो पत्तो छैन । वन अधिकृत विकले बजेट अभावकै कारण कृषकलाई समयमा पशुधन क्षतिबापत दिइनुपर्ने रकम भुक्तानी दिन नसकिएको बताउनुभयो । जिल्ला वन कार्यालय पर्वतका अनुसार गत वर्षको पशुधन क्षतिको राहत रकम पाउनुपर्ने कृषकको सङ्ख्या ५८ रहेको छ । जिल्ला वन कार्यालय पर्वतका वन अधिकृत रामबहादुर विकका अनुसार अघिल्लो एक आर्थिक वर्षमा दुई वटा राँगाभैँसीसहित ७५ वटा पशु मारिँदा कृषकलाई लाख २८ हजार क्षतिपूर्ति रकम दिइएको थियो । पर्वतका सातै स्थानीय पालिकाका कृषक वन्यजन्तुको आक्रमणबाट प्रभावित रहँदै आएका छन् । यस आवको साउनयता मात्रै जिल्ला वन कार्यालय पर्वतमा पशुधन क्षतिको राहतका लागि भनी १५ जना कृषकको निवेदन आएको छ ।