• २७ पुस २०८१, शनिबार

पोल ढलेपछि तार चोरी

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, कात्तिक १४ गते । तीन वर्षअघि सानीभेरी गाउँपालिका–६ मा विद्युत्को केन्द्रीय लाइन विस्तारका लागि सुरु भएको योजना अलपत्र बनेको छ । ठेकेदारको लापर्बाही र सरोकारवाला निकाय मौन बस्दा यहाँका सर्वसाधारणले अझै पनि अँध्यारोमै दैनिकी गुजार्नु परेको छ । सानीभेरी गाउँपालिका–३, गरायला हुँदै वडा नम्बर ६ को दुलीसम्म केन्द्रीय विद्युत् लाइन विस्तार गर्ने भनेर तीन वर्षपहिला ठेक्का भएको थियो तर उक्त काम दिगो र समयमै नहुँदा विद्युतीकरणको योजना नै अलपत्र परेको छ । 

स्थानीय दिलबहादुर केसीले ठेकेदारको कमजोरीका कारण जनता अँध्यारोमा बस्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “न काम गतिलो भयो, न समयमै काम पूरा भयो । जनताको नाममा आएको रकम दुरुपयोग भयो, हामीले बत्ती बाल्न पाएनौँ ।” उहाँका अनुसार कतै पोल गाडेर छाडेका छन्, आधाआधी त तार पनि तानेका छन् । अधिकांश पोल ढलिसकेका छन् भने तार काटेर चोरीसमेत भएको छ । बाटोमै ढलेका पोल र लत्रिएका तारबार बन्देज गर्ने र कपडा सुकाउने काममा प्रयोग हुन थालेको छ ।  केन्द्रीय लाइन आउने आशामा बसेका यहाँका करिब तीन सय घरधुरी अँध्यारोमै बस्न बाध्य भएका उहाँको भनाइ छ । 

दुई लाइनमा ठेक्का लिएका ठेकेदारले पोल राम्रोसँग नगाडेको र तार राम्रोसँग नतानेका कारण अलपत्र रहेको उहाँले जानकारी दिनुभयो । यस विषयमा सम्बन्धित ठेकेदार र विद्युत् प्राधिकरणको कार्यालयसँग बारम्बार समस्या समाधान गर्न पहल गरिरहेको वडाध्यक्ष घर्तीले जनाउनुभयो । पोल हावा लाग्दासमेत ढल्ने अवस्थामा छन् भने तार लत्रिएर सडकमै पुगेको छ । कतिपयले तार काटेर कपडासमेत सुकाउन थालेका छन् । 

यस विषयमा नेपाल विद्युत् प्राधिकरण रुकुमपश्चिम वितरण केन्द्रका प्रमुख इन्जिनियर वीरमान रास्कोटीले गुनासो आएको बताउनुभयो । उहाँले विगतमा केही योजना अपूरो रहेको सुनिएको तर अलपत्र तथा लथालिङ्ग भएको गुनासो हालै मात्र आएकाले कार्यालयका तर्फबाट के गर्न सकिन्छ अध्ययन गरिने जनाउनुभयो ।