• २७ पुस २०८१, शनिबार

‘आचारसंहिता तोड्नेलाई कारबाही’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १४ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गर्नुभएको छ ।

नयाँ खुलेका अनलाइन सञ्चार माध्यमका सम्पादक, सञ्चालकका लागि मङ्गलबार काउन्सिलमा राखिएको अभिमुखीकरणमा बोल्दै उहाँले पत्रकार आचारसंहिता उल्लङ्घन गर्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले जिम्मेवारीपूर्ण ढङ्गले पत्रकारिता गर्न सबैलाई आग्रह गर्नुभयो ।

सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेष फैलाउने गरी जानी जानी गलत सूचना सम्प्रेषण गर्ने केही मिडियालाई कानुनी कारबाही गरिएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले भन्नुभयो, “समाजमा अन्योल सिर्जना गरी प्रणालीमाथि धावा बोल्ने काम कहीँकतैबाट भइरहेको हुन सक्छ । त्यस्ता गलत पात्र र प्रवृत्तिबाट मिडिया सधैँ जोगिनु पर्छ । काउन्सिलले केही मिडियालाई कारबाही गरिसकेको छ । बाँकी पनि छानबिन र कारबाहीको दायरामा आउने छन् ।”

प्रेस काउन्सिलले दुई साताअघि मात्रै पत्रकारिताको आवरणमा गलत काम गर्ने ४३ वटा युट्युब माध्यमलाई कानुनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरो पठाएको थियो । केही सञ्चार माध्यमलाई कालो सूचीमा राखी थप कारबाही बढाइरहेको छ ।

पत्रकार अभिमुखीकरण कक्षामा विषयगत विज्ञका रूपमा गोरखापत्र संस्थानका डिजिटल प्रमुख नारदमुनि गौतमले पत्रकार आचारसंहिता र सूचना विभागका निर्देशक भरत गौतमले विभिन्न सञ्चार निर्देशिका र पत्रकारका जिम्मेवारीबारे सहजीकरण गर्नुभएको थियो ।

यसैबिच काउन्सिलमा पत्रकारद्वय केशवशरण लामिछाने र विजयराज अधिकारी बोर्ड सदस्य नियुक्त हुनुभएको छ । दुवै सदस्यले मङ्गलबार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतबाट शपथ लिई कामको सुरुवात गर्नुभएको छ ।