• ७ मंसिर २०८१, शुक्रबार

वैद्यखाना चलाउन सक्ने अवस्था छैन : विभागका महानिर्देशक केसी

blog

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग महानिर्देशक डा. प्रदीप केसी धन्वन्तरि जयन्ती तथा आरोग्यता दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै ।

काठमाडौँ, कात्तिक १३ गते । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विद्यमान अवस्थामा वैद्यखाना चलाउन सक्ने अवस्था नरहेको जनाएको छ ।

धन्वन्तरि जयन्ती तथा आरोग्यता दिवसको अवसर पारेर मङ्गलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विभागले कानुनी अवस्थामा परिवर्तन नगर्ने हो भने नेपालमा वैद्यखाना चलाउने अवस्था नरहेको निष्कर्ष सुनाएको हो ।

विभागका महानिर्देशक डा. प्रदीप केसीले अमला टिपेर आयआर्जन गर्छु भन्नेहरूलाई समेत १० ठाउँमा कर लगाएर गरिखाने अवस्था नरहेको उल्लेख गर्नुहुँदै त्यसैकारण नेपालमा कुनै पनि वैद्यखाना सरकारले सञ्चालन गर्न सक्ने अवस्थामा नभएको बताउनुभयो । उहाँले सिंहदरबार वैद्यखानालाई सुचारु गराउन पनि सरकारले विद्यमान कानुन अवस्थामा परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले स्वस्थ नागरिक बन्नका लागि योग र ध्यानमा जोड दिन पनि आग्रह गर्नुभयो ।

‘‘पाखापखेरामा अहिले अमला पाक्न थाले । त्यसलाई ल्याउनका लागि अहिले १० ठाउँमा ट्याक्स तिर्नुपर्दछ । बाँदरले खान छोडिसके त्यो अमला । त्यसलाई कसैले टिपेर बेच्छु नि दुई पैसा कमाउँछु भन्न थाल्यो भने त्यो खालको समस्या छन् ।,’’ महानिर्देशक केसीले भन्नुभयो, ‘‘यी चिजहरू चेन्ज भएनन् भने वैद्यखाना होइन अब जुन वैद्यखाना बने पनि सरकारले चलाउन सक्दैन । जडीबुटी त्यस्तै भइसक्यो । आफैँ खेती गर्न त्यो सम्भावना नहोला । यस्तो अवस्था अन्त्य गर्न आवश्यक छ । स्वस्थ बन्ने प्रयास गरौँ सबैले । योग, ध्यानमा जोड दिऔँ ।’’

विभागले आयुर्वेद मानव स्वास्थ्यका लागि अति उपयोगी भएकाले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने पनि जनाएको छ । महानिर्देशक डा. केसीले स्वस्थ मानव बन्नका लागि आयुर्वेदको आवश्यकता र महत्त्व झनै बढेर गएको बताउनुभयो ।