बाबुराम कार्की
वराहक्षेत्र, कात्तिक १३ गते । पछिल्ला वर्षहरुमा माटोमा अम्लीयपन बढ्दै गएकोमा यस वर्ष भने माटोको अम्लीयपन घटेको पाइएको छ । अन्न, तरकारी र फलफूल उत्पादनको लागि राम्रो मानिने कोशी प्रदेशको कृषि भूमिको माटोमा सुधार आउन थालेको छ । प्राङ्गारिक मल बारे किसानको चेतना स्तर वृद्धि हुँदा माटोको अम्लीयपनमा सुधार आउन थालेको हो ।
खेति योग्य क्षेत्रमा प्राङ्गारिक मलहरुको प्रयोग बढेसँगै माटोको जैविकीय शक्ति बढ्दै गएको माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काका प्रमुख दिगम्बर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षभन्दा यस वर्ष माटोमा केहि सुधार भएको छ । गएको वर्ष ७८ प्रतिशत माटामा अम्लियपन भेटीएको थियो । यस वर्ष ४ हजार २ सय ५१ वटा माटोको नमुना विश्लेषण गर्दा ७६ प्रतिशत अम्लियपन भेटिएको उहाँले बताउनुभयो ।
सामान्यतया माटो ६ दशमलब ५ देखि ७ दशमलब ५ पिएच मान हुनुपर्ने हुन्छ । यस्तो माटोमा बाली विरुवाले सहन गर्न सक्ने हुदा यो माटो लाई राम्रो मानिन्छ । तर बढी रासायिनिक मलको प्रयोग र गोबर मल, हरियोमल, गड्लौमलहरुको प्रयोग नहुँदा माटोमा अम्लियपन बढ्दै जाने गरेको माटो परीक्षण प्रयोगशाला झुम्काले जनाएको छ । माटोमा अम्लीयपन बढ्दै जादा माटोको उर्वराशक्ति घट्दै जाने हँुदा कृषि उत्पादनमा कमि आउने हुन्छ ।
रासायनिक मलले तत्काल उत्पादन राम्रो दिए पनि यसले कालान्तरमा माटोको जैवीक शक्ति मार्ने हुँदा प्राङ्गारिकले कार्वन बढाउन माटोमा प्राङ्गारिक मलको प्रयोग गर्नुपर्ने कृषिका विज्ञहरु सुझाउँछन् ।
बालीमा बढी रासायनिक मल, विषादीको प्रयोग गर्दा बोटविरुवाले आवश्यक मात्रमा मात्र मल लिने र वढी भएको मल माटोमै घुल्दा माटोमा अम्लीयपन बढ्ने परीक्षण प्रयोगशाला प्रमुख यादव बताउनुहुन्छ । किसान सचेत हुँदै गएको र प्राङ्गारिक मलको प्रयोगलाई बढाउँदै लगेका कारण माटोमा अम्लीयपन घट्दै गएको उहाँ बताउनुहुन्छ । माटो बाली विरुवाको लागि नभई नहुने खाद्यतत्वको भण्डार हो । प्राङ्गरिक मलले मात्र मोटोलाई जीवित राख्न सक्ने भएकोले यसको प्रयोगलाई अझै बढाउदै जानुपर्ने उहाँ सुझाउनुहुन्छ ।
माटोको अम्लीयपन कम गर्ने प्राङ्गारिक कम्ष्पोट मलको आवश्यक पर्छ । विस्तारै किसानहरुमा जनचेतना बढ्दै गएकाले माटोमा केही सुधार आएको माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीले जनाएको छ । कोशी प्रदेशका तराईका जिल्लाहरुमा बालि चक्र बढी हुँदा माटोमा सुधार हुदै आएको बताइएको छ ।
बढी तरकारी उत्पादन हुने धनकुटाको हिले, सिधुवा क्षेत्रमा पछिल्लो समय पहिलाको भन्दा माटोमा अम्लीयपन बढेको माटो प्रयोगशाला झुम्काले जनाएको छ । बेला बेलामा माटोको परीक्षण गरेर आवश्यकताअनुसार मल प्रयोग गर्नुपर्ने भए पनि किसानहरुले माटो परीक्षण नै नगरी मल प्रयोग गर्ने गर्दा माटोमा अम्लीयपन बढ्न जान्छ । माटोको परिक्षण गराएर मात्र औषधी तथा रासायनिक मलको प्रयोग गर्नुपर्ने विज्ञहरुले सुभाए पनि किसानहरुले आफूखुसी मल र विषादीको प्रयोग गर्ने गरेको सुनसरी ज्ञान केन्द्रका सूचना अधिकारी प्रविनलाल श्रेष्ठ बताउनुहुन्छ ।
माटोमा अम्लीयपन बढ्दै गए माटोलाई जीवन्त राख्ने सूक्ष्म जीवहरुको गतिविधि कम हुँदै जाने हुन्छ । माटोमा हुने धेरै किसिमका सूक्ष्म जीवहरुले माटोको उर्वराशक्ति कायम राख्न मद्दत गर्दछ । माटो मलिलो बनाउन सूक्ष्म जैविक गतिविधि महत्वपुर्ण मानिन्छ । सूक्ष्म जीवहरुको लागि माटो उपयुक्त नभएमा तिनीहरुको गतिविधि घट्छ र माटोको उर्वराशक्ति पनि घट्दै जाने प्रयोगशाला प्रमुख यादव बताउनुहुन्छ । माटोको अम्लीयपन हटाउन कृषि चुनको प्रयोग र बढीभन्दा बढी प्राङ्गारिक मलको प्रयोग गर्न विज्ञहरु सुझाउँछन् ।