• १२ कात्तिक २०८१, सोमबार

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनको तयारी

blog

मुस्ताङको कोरला नाका । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक १२ गते । मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनको तयारी गरिएको छ । चीनसँग सीमाना जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाभित्र पर्ने कोरला नाकाको दशगजा नजिक अध्यागमन कार्यालय स्थापना गरी सञ्चालनको तयारी गरिएको हो । 

अध्यागमन कार्यालय सञ्चालनमा आएपछि नाकामा आवतजावत तथा व्यापारिक कारोबार सञ्चालन गर्न सहज हुने आशा गरिएको छ । कार्यालयको यही १४ गते बुधबार नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । अध्यागमन कार्यालय स्थापना भएपछि भिसा लगाएर नाका वारपार गर्न सहज हुने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘अहिले मुस्ताङवासीहरु मात्र नाका प्रवेश अनुमतिपत्र लिएर आवतजावत गर्ने गरेका छन् । अध्यागमन कार्यालय सञ्चालनमा आएपछि सबै नेपालीहरु भिसा लगाएर नाका वारपार गर्न पाउने छन् । चिनियाँ पर्यटकहरु पनि भिसा लगाएर यही नाका हुँदै मुस्ताङ आउन पाउनेछन् ।’’ 

अध्यागमन कार्यालय सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यागमन र सुरक्षा पोष्ट रहने भवनमा केन्द्रीय विद्युतीकरण गरिएको छ भने नेपाल टेलिकमको उच्च गतिको इन्टरनेटसहित मोबाइल फोन सञ्चालनमा ल्याइएको छ । नाकामा चिनियाँ भन्सारको आमने–सामने निर्मित प्रिफ्याब प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट भवन बनाइएको छ । 

आवश्यक पूर्वाधार निर्माण गरी कोरला नाकाबाट नै एकीकृत सेवा दिने तयारी गरिएको उहाँको भनाइ छ । नेचुङ भन्सार कार्यालयलाई पनि अध्यागमन कार्यालयसँगै राख्ने तयारी भएको प्रजिअ भुसालले बताउनुभयो । 

कोरनाका कारण चार वर्षदेखि बन्द रहेको उक्त नाका गत वर्षदेखि सञ्चालनमा आएको थियो । नेपाल–चीन बीचको २४ नम्बरको सीमास्तम्भ रहेको कोरला नाकाको नेपाल तर्फको भूभागमा अस्थायी संरचना निर्माण गरी नाका सञ्चालनमा ल्याइएको छ । 

समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकाबाट मुस्ताङवासीले मात्र जिल्ला प्रशासन कार्यालय मुस्ताङको पास लिएर सीमा वारपार गर्न छुट दिइएको छ । अध्यागमन कार्यालय स्थापना भएपछि सबै नेपालीले भिसा लिएर कोरला सीमा वारपार गर्न पाउने भएका छन् । यसअघि मुस्ताङका जनप्रतिनिधिले नेपाल सरकारसँग अध्यागमन कार्यालय स्थापनाको माग गर्दै आएका थिए । 

अध्यागमन कार्यालय स्थापना भएपछि किनमेलका लागि चीन जाने नेपाली नागरिकहरूको अभिलेख तथा आयात तथा निर्यात गर्ने सामानको अभिलेखिकरण हुने प्रजिअ भुसालले बताउनुभयो । नाकामा गत वर्ष गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयले ६ कोठे भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको थियो । उपल्लो मुस्ताङका दुई गाउँपालिकाका नागरिकलाई मात्रै सीमापार पास वितरण गर्दै आइरहेकोमा चालु वर्षदेखि मुस्ताङका अन्य पालिकाका नागरिकलाई पनि पास वितरण गरि आवतजावतको व्यवस्था मिलाइएको छ । 

कोरला नाकाको नजिकै रहेको नेचुङ भन्सार कार्यालयमा नियमित रुपमा कर्मचारी वस्ने वातावरण मिलाइएको छ । नेचुङ सशस्त्र प्रहरी बलको (बिओपी) भवन निर्माण भएको छ। जोमसोमबाट कोरला नाकासम्म दुई लेनको कच्ची सडक पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको छ । 

नाका सञ्चालन भएपछि मुुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्दै आएकोमा अध्यागमन कार्यालय सञ्चालनमा आएपछि थप सहज हुनुका साथै सबै नेपालीहरुलाई नाका पार गरेर व्यावसायिक कारोबार गर्न सजिलो हुने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिनुभयो । नाकामा अध्यागमन कार्यालय सञ्चालन हुने भएपछि मुस्ताङवासीहरु उत्साहित भएको उहाँको भनाइ छ ।