• १२ कात्तिक २०८१, सोमबार

‘तिलिचो पुग्दा चाडपर्व बिर्सन्छन् पर्यटक’

blog

तिलिचोको भ्रमणमा आन्तरिक पर्यटकहरू । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट

मनाङ, कात्तिक १२ गते । शरद् ऋतुमा चक्रीय अन्नपूर्ण क्षेत्र पर्यटकका लागि घुमफिर गर्ने उत्तम समय हो । दसैँ सकिएको र तिहार आउनै लागेको बेला धेरैको रोजाइमा उत्कृष्ट गन्तव्यका रूपमा मनाङलाई लिने गरेको छ । 

आ–आफ्नो पेसा व्यवसाय गरेर फुर्सद भएको समय मनाङ घुम्ने र विश्वको अग्लो स्थानमा रहेको ताल तिलिचो पुग्ने रहर सबै नेपाली र आन्तरिक तथा बाह्य पर्यटकलाई हुनेगर्छ ।

यस्ता चाहना बोकेका रहर पालेका नेपाली पर्यटकले आफ्नो चाडपर्व नै नभनी घुमफिरमा समय बिताउने क्रम बढ्दैगएको छ । पर्यटनलाई आफ्नो मुख्य पेसा व्यवसाय बनाउनेहरूका लागि भने के दसैँ, के तिहार सधैँ घुमफिर गर्नुपर्ने बाध्यतामा रहन्छन् । दसैँ–तिहारमा गाउँ जानुको सट्टा आम्दानी हुने भएकाले धेरै पथ प्रदर्शक युवाको रोजाइमा पनि पर्यटन क्षेत्र परेको छ ।


गत साता सुदर्शन देवकोटा काठमाडौँदेखि १७ जना विदेशीको टोली लिएर मनाङका विभिन्न स्थानमा प्रस्थान गर्नुभयो । प्राकृतिक सुन्दरताको आनन्द लिँदै हिमालको दृश्यावलोकन गर्न देवकोटाको टोली मनाङ घुम्न आएको हो । 

देवकोटाले भन्नुभयो, ‘पेसाले म पथ प्रदर्शक हुँ, पर्यटकीय समय पनि सुरु भएको बेला मौसमले पनि साथ दिएकाले मनाङको तिलिचो लगायतका क्षेत्रमा पर्यटकलाई घुमाउन आएको हुँ ।’ उहाँले एक महिनाअघि स्वदेशी तथा विदेशी गरी करिब ६० जनाको समूहलाई मानसरोवर लिएर गएको बताउनुभयो ।

मानसरोवरको तुलनामा मनाङनजिक तथा थोरै समय पनि लाग्ने र सजिलो हुने उहाँको भनाइ छ । देवकोटाको यो सिजनमा अधिक समय घुमफिरमै बित्नेगरेको छ । स्नातक सकेपछि पर्यटन क्षेत्रमा लागेको उहाँको भनाइ छ ।

देवकोटाले यस क्षेत्रमा लाग्दा चाडपर्व सबै बिर्सिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चाडपर्व र मुख्य पर्यटकीय समय एकै पटक पर्छ, रोजीरोटीको व्यवस्था गर्नैपर्छ, यतिबेला नकमाए अफ सिजनमा कहाँबाट खर्च धान्ने ?  चिन्ता हुन्छ ।’ हरेक वर्ष आफ्नो चाडपर्व हिमालमै वित्नेगरेको गरेको उहाँको भनाइ छ । 

अर्का पर्यटन व्यवसायी गोविन्द पाठकले हरेक वर्ष दसैँ र तिहार हिमालतिरै बिताउने गरेको बताउनुभयो । पाठकले दसैँ फूलपातीको दिनमा एक टोली लिएर लमजुङको सदरमुकाम बेँसीशहर हुँदै मनाङको सदरमुकाम चामे पुगेको र सोही टोलीसँग आफ्नो दसैँ बितेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अझ मेरो त मुख्य दसैँको दिन तिलिचोमै बित्यो ।’

गत वर्ष असोजमा तिलिचो तालमा वाइफाई जडान भएपछि सो क्षेत्र घुम्नका लागि आन्तरिक र बाह्य पर्यटकको पहिलो रोजाइमा पर्दैआएको छ । चाडपर्वको समयमा बाह्य पर्यटकको चहलपहल बढी भएको पर्यटन व्यवसायी एवं होटल याक एन्ड यतिका सञ्चालक विनोद गुरुङले बताउनुभयो । बाह्य पर्यटकको चाप तिलिचोमा परेकाले आफूहरू उत्साहित भएको गुरुङले बताउनुभयो । 


मनाङ प्रवेशद्वारका रूपमा रहेको च्याम्चेबाट हिजोआज दैनिक दुई सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको चामेका होटल व्यवसायी फुर्वा लामाले बताउनुभयो । लामाले भन्नुभयो, ‘हिजोआज चाडपर्व नभनी आन्तरिक पर्यटक हिमालमा रमाउने क्रम बढ्दैगएको छ । यसले हामी व्यवसायीलाई उत्साहित बनाएको छ । आन्तरिक पर्यटकलाई मनाङ प्रवेशमा कुनै शुल्क नलाग्नुले पनि घुमफिरको संस्कृति बढेको छ ।’