• ७ मंसिर २०८१, शुक्रबार

मादल बेच्ने चटारो, संरक्षण गर्न व्यवसायीको माग

blog

मादल बिक्री गर्दै व्यापारी ।

काठमाडौँ, कात्तिक ११ गते । तिहार सुरु भएसँगै देउसी भैलोको स्मरण हुन्छ । देउसीमा मादलको धुनमा नाचगान र रमाइलो गरेको पल याद आउँछ । अब यस वर्षको तिहार सुरु हुन केही दिन मात्रै बाँकी छ । त्यसैले पनि अहिले काठमाडौँमा मादल किन्नेहरुको भिड छ । अन्य समयमा खोजी नहुने मादल तिहारको समयमा भने किन्ने र बेच्नेहरुको घुइँचो लाग्छ ।

विभिन्न जिल्लाबाट मादल खरिद गर्नका लागि काठमाडौँ आइपुग्छन् । आफूलाई मन पर्ने मादल छानेर किन्ने र घर लगी तिहारमा रमाउने हेतुले टाढाबाट काठमाडौँ मादल किन्न ग्राहकहरु आउने गरेका छन् । ओखलढुङ्गाको केत्तुकेबाट मादल किन्न आउनुभएका सुमन तामाङ गाउँघरमा देउसी, भैलो खेल्नेलाई मादल अनिवार्य हुने र मादल बिना रमाइलो नहुने बताउनुहुन्छ ।

त्यसैले पनि समूहका लागि मादल किन्न आएको बताउनुहुन्छ । अन्य ठाउँमा भन्दा विष्णु म्युजिक सपमा राम्रो मादल पाइने भएकाले आफू काठमाडौँ आएको बताउनुभयो । उहाँले आफूले विष्णु म्युजिक सपबाट तीन वर्ष यता मादल किन्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गाउँ घरमा देउसी, भैलो खेल्नेलाई मादल चाहिन्छ । यसले रमाइलो पनि हुन्छ । मादल राम्रो पाइन्छ । म यहाँ आउन थालेको तीन वर्ष भयो । रीतिरिवाज, संस्कृति जगेर्ना पनि भयो ।’’

काठमाडौँको विष्णु म्यूजिक सप सञ्चालन गर्दै आउनुभएका व्यवसायी रिपबहादुर कुलले गत वर्षको तुलनामा यस वर्ष मादलको व्यापार राम्रो रहेको बताउनुभयो । २५ वर्ष यता काठमाडौँको वसन्तपुर क्षेत्रमा मादल व्यापार गर्दै आएको बताउनुहुँदै उहाँले १३ सयदेखि १२ हजारसम्मका मादल आफूले पसलमा राख्ने गरेको जानकारी दिनुभयो ।

यस वर्ष १५ सयको हाराहारीमा मादल बेच्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो । मादलका लागि काठ सहजै पाउने भए पनि छाला भने ल्याउन गाह्रो रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘तिहार आउँदैछ, मध्यम व्यापार भइरहेको छ । भर्खर सुरु हुँदैछ, ग्राहकहरु आइरहनुभएको छ । पहिलाको तुलनामा मादल राम्रै बिक्री भएको छ । व्यापार अलि बढेकै हो । मैले २५ वर्ष जति भयो व्यापार गरेको । १३ सयदेखि १२ हजारसम्मका मादल छन् । काठ मकवानपुर तिरबाट ल्याउँछौँ । तिहारमा १५ सय वटा जति मादल बेचिन्छ होला । मादलको सामान छालाहरु ल्याउन गाह्रो छ । छाला फोहोर पनि भयो । नेपाली बाजा, लोकबाजा छ, सरकार केही संरक्षणमा लागेको छैन । हामीले अन्तर्राष्ट्रिय स्तरमा पनि पुर्‍याउन जरुरी छ ।’’

उहाँले नेपाली लोकबाजालाई सरकारले संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । एउटा मादल तयार गर्न करिब १० दिन लाग्ने मादल व्यवसायीहरु बताउँछन् । काठ खोपेर ढुङ्ग्रो बनाउनुपर्ने भएकोले अत्यधिक मेहनत र समय लाग्छ । विगतकै मूल्यमा मादल बेचिरहेको र बजार मूल्य चित्तबुझ्दो नरहेको व्यवसायीहरुको भनाइ छ ।