• १९ पुस २०८१, शुक्रबार

आइसिसी विश्वकप लिग–२

स्कटल्यान्डसँग हार्‍यो अमेरिका

blog

अमेरिकाको विकेट लिएपछि स्कटल्यान्डका खेलाडी । तस्बिर : स्कटल्यान्ड क्रिकेट

काठमाडौँ, कात्तिक १० गते । आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिजमा घरेलु टोली अमेरिका स्कटल्यान्डसँग १० विकेटले पराजित भएको छ ।

टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा शनिबार बिहान भएको खेलमा अमेरिकाले लज्जास्पद हार खेपेको हो । अमेरिकाले दिएको एक सय ४५ रनको विजय लक्ष्य स्कटल्यान्डले २४.५ ओभरमा विना विकेटको क्षति पूरा गरेको थियो । 

स्कटल्यान्डका लागि आन्द्रे उमिदले अविजित ९८ रन बनाउनुभयो । उहाँले ७९ बलमा १३ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । चार्ली टिमयरले अविजित ४३ रन बनाउनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ३८.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो । अमेरिकाका सुरुवाती ६ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । आठौँ नम्बरमा ब्याटिङ गर्नुभएका स्याड्ली भान श्यालवायकले ५८ रन बनाउनुभयो । यस्तै हर्मित सिंहले २२ र नोसथुस केन्जिगेले २१ रन बनाउनुभयो । 

अमेरिकालाई सस्तैमा समेट्न स्कटल्यान्डका ब्राड करीले चार विकेट लिनुभयो ।  ब्रान्डेन म्याकमुलेनले तीन तथा ब्राड ह्विलले दुई विकेट लिनुभयो । जितसँगै आठ खेलबाट ११ अङ्क बनाएको स्कटल्यान्ड चौथो स्थानमा उक्लिएको छ । पराजित अमेरिका नौ खेलबाट १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ । अमेरिका, स्कटल्यान्ड र नेपाल सम्मिलित यस सिरिजमा नेपालले कात्तिक ११ गते आइतबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । 

नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ । लिगमा आठ खेलबाट तीन अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । आठ देश सहभागी लिग–२ मा नेपाल यसअघि क्यानडामा आयोजक क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर अमेरिका गएको हो ।