अनिल पराजुली
हेटौँडा, कात्तिक १० गते । उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा प्लाष्टिक तथा प्लाष्टिकका फूलमाला बिक्री वितरण एवम् प्रयोगमा रोक लगाइएको छ । फूलको पर्व तिहार नजिकिएसँगै बजारमा प्लाष्टिकका फूलमाला आउन थालेपछी नगरपालिकाले सूचना जारी गर्दै तिहारमा प्लाष्टिक तथा प्लाष्टिकका फूलमाला बिक्री वितरण एवम् प्रयोगमा रोक लगाउने भएको हो ।
जारी सूचनामा स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवम् प्रवर्द्धन गर्नु हामी सबैको दायित्व हो भनिएको छ । प्लाष्टिकका फूलको प्रयोगले वातावरण क्षति हुने, माटोमा नकुहिने, नगल्ने, वातावरणीय सौन्दर्य समेतमा नकारात्मक असर पर्ने भएको हुनाले स्वदेशी तथा स्थानीय प्राकृतिक फूलमालाको प्रयोग गर्न नगर प्रमुख विष्णु विष्टले आग्रह गर्नुभएको छ ।
यदि त्यसरी कसैले उपयोग गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीद्वारा जारी सूचनामा भनिएको छ । मकवानपुरका अन्य स्थानीय निकायहरूले समेत स्वदेशी फूलको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा व्यावसायिक रूपमै तिहारका लागि फूल उत्पादन गरिएको छ ।