• १२ कात्तिक २०८१, सोमबार

छानबिनको दायरामा भएका सबैमाथि अनुसन्धान हुन्छ : सञ्चारमन्त्री गुरुङ

blog

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

लमजुङ, कात्तिक १० गते । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताउनुभएको छ । गृह जिल्ला लमजुङमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले आज सो कुरा बताउनुभएको हो । 

रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि दबाब दिन सडकमा वितण्डा मच्चाइरहेको बेला सरकारका प्रवक्ता गुरुङले अनुसन्धान नरोकिने प्रस्ट पार्नुभयो । सञ्चारमन्त्री गुरुङले जतिसुकै ठुलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान नरोकिने बताउनुभयो । 

‘सूर्य थापा नेतृत्वको सर्वपक्षीय संसदीय छानबिन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन अघि बढाएको छ । यही क्रममा ६ सय जना जति अनुसन्धानको दायरामा आइ पक्राउ परेका छन् । रवि लामिछाने पनि उही क्रममा पक्राउ परेका हुन्’ उहाँले थप्नुभयो, “कोही भ्रममा पर्नु वा भ्रममा पार्न जरुरी छैन, प्रक्रियाअनुसार सबै काम अघि बढिरहेको छ ।’ 

उहाँले सरकार सुशासनमा दृढताका साथ अघि बढेको भन्दै रोक्न कोसिस गर्नेहरूको अभियान सफल नहुने र दोषी प्रमाणित भए सजाय भोग्न तयार हुनुपर्ने प्रस्ट पार्नुभयो ।  ‘सहकारी ठगीमा सत्तापक्ष र विपक्षी भन्ने हेरिन्न, छानबिनका दायरामा परेका सबैमाथि अनुसन्धान अघि बढ्छ, सडकमा जतिसुकै भीड देखाए पनि केही हुनेवाला छैन’ मन्त्री गुरुङले भन्नुभयो ।

उहाँले अपराध गर्ने जोकोही पनि अव बच्न नसक्ने तथ्यलाई आत्मसात् गरी अनुसन्धानमा सहयोग गर्नुको विकल्प नरहेको प्रस्ट पार्नुभयो । मन्त्री गुरुङले सडकमा वितण्डा देखाएर सुशासनको विपक्षमा रास्वपा उभिनु गलत रहेको उहाँले चर्चा गर्नुभयो ।