• ७ मंसिर २०८१, शुक्रबार

लक्ष्मीप्रसाद (कविता)

blog

लक्ष्मीपूजा जुराई तिथि त निशि थियो चम्कियौ पूर्णचन्द्र

स्वच्छन्दी धार पक्र्‍यौ कलम जल भरी भावनाका नरेन्द्र 

नेपाली काव्यभाषा सुललित रमणी भव्य पार्ने मुराद

लक्ष्मी ता नाममात्रै वरद अति अहा भारतीका प्रसाद ।।१।।


च्याप्दै सिग्रेट शाकुन्तल सरस रची द्वीपको सर्प खोज्दै,

चम्पूका पात्र निस्क्यौ अविचलित तिमी नव्यधारा नियाल्दै 

पग्लाहा शब्द कस्तो स्थितिसित भनियौ तुच्छ गर्दा प्रचार

नामी पन्तै निराला त्रयगुण मिसियो एक बन्दा प्रसाद ।।२।।


आगो चोरेर सुम्प्यौ प्रमिथस रचना विश्व–साहित्यबाट

सिर्‍ज्यौ उँचो बनायौ शिर र त जनको चम्कियो त्यो ललाट 

छोटो यात्रा थियो त्यो असल मनुजको बाँची मात्रै पचास

खोज्यौ अन्त क्षणैमा सजल नयनले कृष्णको त्यो प्रसाद ।।३।।


जिम्मा ती बालबच्चा परिजन सबको बोझ अत्यन्त भाम   

पीडा भो खोज्न पोटासियम विष कठै पान गर्दै बिराम 

गर्ने इच्छा सुनेरै हृदय ढुकढुकी बढ्न थाल्यो नि नाद, 

नेपालीका पियारा कविवर कसरी फाल्नु तिम्रा प्रसाद ? ।।४।।


देख्यौ नेपाल सानो तर पनि त अहा शब्दमा भो विशाल

अङ्ग्रेजीमा चिनायौ फररर रुसमा विश्वमा भो कमाल 

बर्सन्थ्यो काव्यधारा छङछङ झरनातल्य स्वच्छन्दवाद

शिक्षासेवी ! खुलायौ त्रिभुवन गतिलो विश्व दीक्षा प्रसाद ।।५।।


नेपाली लोकगाथा मदन अनि मुना पात्र ती लोभलाग्दा

खोज्दै हिँड्ने मजस्तै अझ कति कति छन् काव्य तिम्रा नियाल्दा 

सक्दैनन् लेख्न कोही तर पनि विचरा चोर्न खोज्छन्, फसाद ! १

माफी देऊ सबैमा र म पनि छु यता माग्छु लक्ष्मी ! प्रसाद ।।६।।


सिस्नु खायौ पचायौ कहर जति सबै जीवनी टुम्टुमैमा 

बित्दा लेख्दै रमायौ जल थल नभका वैभवी आसिकैमा 

झञ्झा झेल्यौ सधैँ नै टसमस नभई मुक्त मान्छे प्रमाद 

भोग्यौ सङ्घर्षका ती दिन भुल अब ता हाँस लक्ष्मीप्रसाद ।।७।।


नेपाली शब्दशाला नवनव सृजना शब्दको कर्म एक

भन्थ्यौ हो जात यौटै बुझ मनुज सबै मानवी धर्म एक 

नेपालीका असाध्यै प्रिय कवि ! रचना भव्य देदीप्य चाँद 

तिम्रा छन् काव्य गाथा अजर अमर भै बाँच लक्ष्मीप्रसाद ।।८।।  

Author

केदार वाशिष्ठ