• २६ पुस २०८१, शुक्रबार

पुल नबन्दा स्थानीय चिन्तित

blog

अलपत्र अवस्थामा रहेको पुुल । तस्बिर : होमराज रानाभाट

होमराज रानाभाट  

बुलिङटार, कात्तिक १० गते । पूर्वी नवलपरासीको बुलिङटार र तनहुँको ऋसिङ गाउँपालिकाको गडगडी घाटको कालीगण्डकी नदीमा पुल निर्माण सुरु भएको ११ वर्ष भएको छ । तीन पिल्लर मात्र बनाएर ठेकेदार फरार भएपछि स्थानीय चिन्तित भएका छन् । 

कालीगण्डकी कोरिडोर हुँदै बुलिङटारको कोखेबाट तनहुँ ऋसिङको मधुवन हुँदै रूपटार भएर यो बाटो भिमाद पुग्छ । यही सडकखण्ड अन्तर्गत निर्माण सुरु गरिएको यो पुलको ११ वर्षअघि शिलान्यास भएको थियो । चार वर्षमा सक्ने गरी काम सुरु भएको पुल अहिले अलपत्र अवस्थामा पुगेको छ । पुल निर्माणका लागि स्थानीयले सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएको बुलिङटार गाउँपालिकाका गौतम दरैले बताउनुभयो । 

कालीगण्डकीमा सङ्घीय सरकारको बजेटबाट पक्की पुलको निर्माण सुरु भएको ११ वर्ष बित्न लाग्दा कालीगण्डकीमा तीन वटा खम्बा मात्र बनेको र त्योभन्दा बढी कामै हुन नसकेको बुलिङटार–४ का पूर्ववडाध्यक्ष चेतबहादुर गोदामीमगरले बताउनुभयो । उहाँले भन्नुभयो, “एक वर्षअघि ठेकेदार देखा परेका थिए तर अहिले फेरि गायब छन् । यो पुल कहिलेसम्म बन्ने हो कुनै ठेगान छैन ।” 

कालीगण्डकी नदीमा बन्न लागेको पक्की पुुलको ठेक्का पाएको नागार्जुन कन्स्ट्रक्सनले चार वर्षमा सक्ने गरी ठेक्का लिएको तर अहिलेसम्म २४ प्रतिशत पनि काम नगर्नु अत्यन्त दुःखको विषय भएको बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले बताउनुभयो । 

यो पुल निर्माण अलपत्र परेपछि यसको ठेक्का लिएको ठेकेदारको बारम्बार खोजी गरिरहे पनि पत्ता लगाउन नसकिएको र स्थानीय प्रशासनको समेत ध्यानाकर्षण गराएको ऋसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । ठेकेदार नै यसमा दोषी रहेको उहाँको भनाइ छ । 

कालीगण्डकी नदीमा बन्दै गरेको पक्की पुुल अलपत्र अवस्थामा पुगेपछि स्थानीयसमेत आन्दोलित भएका छन् । बुलिङटार–४ का वडाध्यक्ष मीनबहादुर आलेमगरले अति आवश्यक यो पुल समयमा सक्नुपर्ने हो तर निर्माणको काम नहुँदा बन्ने छाँटकाँट नै नभएपछि प्रशासन गुहारेको बताउनुभयो । 

ठेकेदार नै फरार भएपछि अहिले ठेकेदारको खोजीका लागि पूर्वी नवलपरासी र तनहुँ जिल्ला प्रशासनमा निवेदन परेको पछि खोजीका लागि दुवै प्रशासनले ताकिता गरिरहेको जनाइएको छ ।