• १२ कात्तिक २०८१, सोमबार

दस वर्षसम्म बनेन पुल

blog

अमरगढी समाचारदाता

डडेलधुरा, कात्तिक १० गते । डडेलधुरा जिल्लाका गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकालाई जोड्ने पुल एक दशकसम्म निर्माण हुन नसक्दा स्थानीयले सास्ती पाउन थालेका छन् । 

दुई गाउँपालिकालाई जोड्नका लागि पक्की पुल निर्माण हुन थालेको एक दशक हुन थालेको छ तर पुलबाट मोटर चढेर आवतजावत गर्ने स्थानीयको चाहना अझै पूरा हुन सकेको छैन ।   

गन्यापधुरा गाउँपालिका–३, सकायललाई नवदुर्गा गाउँपालिका–३, डाँडावन जोड्ने सकायल खोलामा निर्माणाधीन पक्की पुल २०७२ सालदेखि अलपत्र अवस्थामा रहेको छ । करिब दुई करोड ५० लाख रुपियाँ लागत रहेको पुलको निर्माण दुई वर्षभित्र गरिसक्ने गरेर डडेलधुराकै निर्माण कम्पनी राजेन्द्र निर्माण कम्पनी र चाँदनी निर्माण कम्पनी जेभीलाई ठेक्का दिइएको थियो । 

ठेक्का सम्झौता भएको १० वर्ष पुग्दासम्म करिब ७५ प्रतिशत काम मात्र भएको सडक डिभिजन कार्यालय डोटीका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म पुल निर्माणका लागि निर्माण कम्पनीको चार पटक म्याद थप गरिएको छ । काम भए अनुसारको भुक्तानी पनि निर्माण व्यवसायीले बुझेको उहाँले बताउनुभयो । करिब एक वर्षदेखि निर्माण कार्य पूर्ण रूपमा ठप्प रहेको छ । अब तिहारपछि काम सुरु गर्ने निर्माण कम्पनीले जानकारी गराएको उहाँले बताउनुभयो । पुल अगाडिको सडक बनाउन जग्गा विवाद पनि रहेको उहाँको भनाइ छ । बर्खाका बेला खोलामा पानीको बहाव अत्यधिक हुने हुँदा स्थानीय बासिन्दालाई ओहोरदोहोर गर्न समस्या हुने गरेको स्थानीय योगेन्द्र देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीसँग पुल निर्माणका लागि पटक पटक आग्रह गर्दासमेत बेवास्ता गर्दा स्थानीयले जोखिम मोलेर खोला वारपार गर्नु परेको छ ।” 

पुल निर्माणको काम अगाडि बढाउन निर्माण कम्पनी र सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई पटक पटक आग्रह गर्दा पनि निर्माण सम्पन्न हुन नसकेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बताउनुभयो । बिहीबार मात्रै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेसहितको टोलीले स्थलगत अनुगमन गरेर पुल निर्माणका लागि सडक डिभिजन कार्यालयलाई निर्देशन गरेको छ ।

पुल निर्माण पूरा गर्न पटक पटक म्याद थप भएको यो थप गरिएको अवधिमा पनि निर्माण नभए कम्पनीलाई कारबाही गरिने सडक डिभिजन कार्यालय कुलपाते डोटीका कार्यालय प्रमुख भट्टराईको भनाइ छ ।  

पुल निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी लोकेन्द्र गुरुङले लागत पुनरवलोकन भएकाले काममा ढिलाइ भएको बताउनुभयो । निर्माण व्यवसायी गुरुङले तत्काल काम सुरु गरेर सडक डिभिजन कार्यालयले थप गरेको म्यादमा पुल निर्माण पूरा हुने दाबी गर्नुभयो ।