• ९ मंसिर २०८१, आइतबार

काठमाडौँको विकल्पमा भैरहवाबाट उडान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १० गते । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न तीन वटाभन्दा बढी अन्तर्राष्ट्रिय हवाई कम्पनीले तयारी गरिरहेका छन् । यही कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनासम्म दैनिक १० घण्टा बन्द हुने भएपछि दुई वटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले भैरहवामा उडान गर्न टिकट खुला गरिसकेका छन् भने दुई वटा कम्पनी उडानको अन्तिम तयारीमा रहेका छन् ।

भैरहवा विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार कात्तिक २४ गतेदेखि कुवेतको जजिरा एयरवेज र २५ गतेदेखि संयुक्त अरब इमिरेट्स (युएई) बाट फ्लाई दुबईले भैरहवामा उडान गर्न टिकट खुला गरिसकेका छन् ।

उहाँले भन्नुभयो, “जजिरा एयरवेजले हरेक मङ्गलबार, बिहीबार र शनिबार कुवेत–भैरहवा–कुवेत र फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ–दुबई हरेक दिन एक उडान गर्न टिकट खुला गरिसकेका छन् ।”यसै गरी थाई एयर एसिया र एयर अरेबियाले समेत भैरहवामा उडानको प्रक्रियालगायतको तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । निर्माण सम्पन्न भएको लामो समयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द रहेको गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुचारु गर्न जजिरा, दुबई र थाई एयर एसियाले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेको उहाँले बताउनुभयो । महाप्रबन्धक तिवारीका अनुसार फ्लाई दुबईको विमान दुबईबाट दिउँसो १:४५ बजे भैरहवा आएर ३:३० बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई फर्किने छ । 

यसअघि १० महिना उडान गरेर उडान स्थगन गरेको जजिराको विमान बिहान ७:३० बजे भैरहवा अवतरण भएर ८:३० बजे कुवेत उड्ने तालिका प्राधिकरणबाट स्वीकृत भएको छ । दुई वर्षअघि २०७९ जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै उडान सुरु गरेको जजिराले पछि प्राविधिक कारण देखाउँदै भैरहवा उडान स्थगित गरेको थियो ।

थाई एयर एसियाले पनि छिटै गौतम बुद्ध विमानस्थलमा उडान गर्ने योजनासहित एयरलाइन्सको प्राविधिक टोलीले विमानस्थलको भ्रमण गरेर थप अध्ययन गरिरहेको प्राधिकरणले जनाएको छ । हालसम्म भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ जजिरा एयरवेजले २५२, हिमालय एयरलाइन्सले ७२, नेपाल वायु सेवा निगमले ८४ उडान अवतरण गरेका छन् । त्यस्तै भैरहवामा हालसम्म ४३ चाटर उडान भएका छन् । सबै उडानमार्फत भैरहवामा ३७ हजार ३० जनाले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन् ।