• ९ मंसिर २०८१, आइतबार

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

blog

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सहभागी वैज्ञानिकहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ९ गते । विभिन्‍न १५ देशका वैज्ञानिकहरूको सहभागितामा कात्तिक ९ देखि अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु भएको छ । नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्‍चिम विश्वविद्यालयको सहआयोजनामा सुरु भएको सम्मेलनमा विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल हुने भएको छ। 

सम्मेलनको समुद्घाटन गर्दै शिक्षामन्त्री विद्या भट्टराईले विज्ञानलाई नेपाली समाजसँग बुझाउनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आज विश्व एआईमा प्रतिस्पर्धा गरिरहेको छ, हामी उहाँहरुले उत्पादन गरेका कुरालाई उपभोग मात्र गरिरहने हो, भने नेपाली समाज अघि बढ्न सक्दैन । विज्ञानलाई जीवनसँग जोड्नेगरी काम गर्न आवश्यक छ ।”

विज्ञानलाई व्यवहारमा लागु गर्नेगरी काम गर्न आवश्यक रहेको मन्त्री भट्टराईले बताउनुभयो । मन्त्री भट्टराईले थप्नुभयो, “यस्ता सम्मेलनबाट निकालेका निष्कर्ष र प्रतिबद्धतालाई नेपाली समुदाय र अन्तर्राष्ट्रिय स्तरसम्म कसरी पुगाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ । विज्ञानलाई हाम्रो समाजसँग जोड्न आवश्यक छ ।”

चीनबाट आएका प्रा. बिङडिङले नेपालको शैक्षिक संस्थाको प्रशंसा गर्दै भन्नुभयो, “हामी मिलेर ग्राउन्डब्रेकिङ रिसर्चका लागि बाटो बनाउन सक्छौँ ।” मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा ध्रुवप्रसाद गौतमले सम्मेलनलाई ज्ञान आदान–प्रदानका लागि महत्वपूर्ण मञ्चका रूपमा उपयोग गरिने जानकारी गराएका छन् । 

सहायक प्राध्यापक टंक मुखियाले सहभागीलाई स्वागत गर्दै भन्नुभयो, “यो सम्मेलनमा विज्ञान प्रविधिको उपयोग र यसले सिर्जना गरेका चुनौतीलाई समाधानका उपायबारे छलफल गरिनेछ।” प्राडा हेमराज पन्तले जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्यजस्ता समस्या समाधानका लागि सामुहिक प्रयासको महत्त्वलाई जोड दिनुभयो । सम्मेलनमा चीन, भारत, मलेसिया, इन्डोनेसिया, जापान र संयुक्तराज्य अमेरिका कोरिया लगायतका देशहरूका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको सहभागिता रहेको छ।