• ८ मंसिर २०८१, शनिबार

मुस्ताङको ठिनीमा पर्वतीय चित्रकला महोत्सव

blog

ठिनीमा आयोजना गरिएको चित्रकला महोत्सवमा चित्रकार । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, कात्तिक ८ गते । मुस्ताङको घरपझोङ गाउँपालिका ५ को पर्यटकीय बस्ती ठिनीमा प्रथम अन्तर्राष्ट्रिय पर्वतीय चित्र कला महोत्सव भएको छ । मुस्ताङमा गत शुक्रबार देखि सुरु भएको चित्रकला महोत्सवका क्रममा बिहिबार घरपझोङ गाउँपालिका ५ ठिनीको वस्तीमा पुगेर चित्रकारहरुले प्राकृतिक, सांस्कृतिक र मौलिकतालाई चित्रमा उतारेका छन् ।

चित्रकला महोत्सवमा देशभरका ९ जना चित्रकार तथा भुटान, थाईल्याण्ड, पोल्याण्ड, रोमानिया, ताइवान, इन्डोनोसिया समेत विभिन्न मुलुकका ७ जना सहित १६ जना चित्रकारले मुस्ताङका विभिन्न बस्तीमा बसेर चित्र कोरिरहेका छन् । चित्रकला महोत्सवले मुस्ताङको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । 

कात्तिक २ गते देखि सुरु भएको कला महोत्सव मार्फा,कागबेनी,जोमसोम र अन्तिम दिन ठिनीमा पुगेर समापन गरिएको महोत्सव आयोजक समितिका सदस्य ट्रिपल पी गुरुङले जानकारी दिनुभयो । चित्रकला महोत्सव मार्फत यहाँको मौलिकता,पहिचान,संस्कृति र प्रकृतिलाई विश्वभर प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो। 

थाइल्यान्डबाट डिरेक किङ्नक र काराज डब्लुएसपी, पोल्यान्डबाट इवा क्रुएजकोस्का, रोमानियाबाट स्टेफन बालोग, भुटानबाट जामपेल छेदा, इन्डोनेसियाबाट एमी गोर ताइवानबाट छेङ हान वेनलगायतका अन्तर्राष्ट्रिय चित्रकारले सहभागिता जनाएको उहाँले बताउनुभयो । उहाँका अनुसार नेपालका चित्रकार सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नवीन नाल्बो र आकाश गुरुङको सहभागिता थियो । 

मुस्ताङको धार्मिक, संस्कृतिक तथा हिमाली क्षेत्रको जैविक विविधता र मौलिकताको चित्रमार्फत् विश्व समुदायमा पु¥याउने उद्देश्यले पर्वतीय चित्रकला महोत्सव आयोजना गरिएको आयोजक समितिका सदस्य गुरुङले बताउनुभयो । ठिनीमा गरिएको महोत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको वडाध्यक्ष प्रदिप थकालीले बताउनुभयो । महोत्सवका अवसरमा ठिनीमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।