• ७ मंसिर २०८१, शुक्रबार

इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु

blog

बेरुत (लेबनान), कात्तिक ९ गते । पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको लेबनानको राष्ट्रिय सञ्चार माध्यामले शुक्रबार जनाएको छ ।

लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले हसबायामा भएको उक्त घटनाको रिपोर्ट गरेको थियो । रिर्पोटका अनुसार इजरायलले सिरियाली सीमा नजिकै  शुक्रबार बिहान ३ः३० मा आक्रमण गरेको थियो ।

एनएनएका अनुसार बेरुतको दक्षिणी चौइफत अल–अमरोसिह क्षेत्रमा, इजरायली हामलाले दुई वटा भवनहरू क्षतिग्रस्त बनाएको थियो ।  सेन्ट थेरेस क्षेत्रलाई लक्षित गरी गरिएको आक्रमणमा संवैधानिक परिषद् नजिकैका दुईवटा भवनसमेत ढलेको जनाइएको छ । 

इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचे अद्राईले सामाजिक सञ्जाल एक्स मार्फत निकासी चेतावनी जारी गरेपछि बेरुतको दक्षिणमा आक्रमण भएको एनएनएले रिपोर्ट  गरेको छ । 

एएफपिटिभीको फुटेजमा आक्रमणपछि बेरुतको दक्षिणबाट धुवाँको मुस्लो उठेको देखाइएको छ । 

केही समय अघि दक्षिण बेरुतको चौइफत क्षेत्रमा नयाँ आक्रमण सुरु गरेको इजरायलले, विस्तारै हारेत ह्रीक र हदथलाई पनि लक्षित गरी आक्रमण सुरु गरेको  छ ।

बुधबारको इजरायली आक्रमणले दक्षिण बेरुतमा छ वटा भवन क्षतिग्रस्त भएकाे राष्ट्रिय सञ्चार माध्यम तथा र एएफपी फुटेजले देखाएको थियो भने इजरायली सेनाले हिजबुल्लाह हतियार उत्पादन केन्द्रभित्र आक्रमण गरेको जनाएको छ । 

सेप्टेम्बर–२३ मा, इजरायलले लेबनानमा तीव्र आक्रमण सुरु गरेपछि गाजा युद्धलाई लिएर इरान समर्थित हिजबुल्लाहसँग सीमापार झडपपछि स्थलगत आक्रमणको घोषणा गरेको  छ ।

पत्रकार संरक्षण समितिले सन् २०२३ अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएदेखि गाजा, वेस्ट ब्याङ्क, इजरायल र लेबनानमा कम्तीमा १२८ पत्रकारको मृत्यु भएको जनाएको छ । रासस/एएफपी