• ८ मंसिर २०८१, शनिबार

रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरु

blog

रेसुङ्गा विमानस्थलबाट उडान भर्दै जहाज । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, कात्तिक ९ गते । गुल्मीको रेसुङगा विमानस्थलबाट एक महिनापछि नियमित उडान सुरु भएको छ । मौसम खराबका कारण विगत एक महिनादेखि नियमित उडान हुन नसकेको विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो ।  

हप्ताको दुई दिन बुधबार र शुक्रबार उडान हुने कार्यतालिका रहेपनि विगत एक महिनादेखि नियमित उडान हुन नसकेका थापाले बताउनुभयो । कात्तिक महिनाको सात गते बुधबार र ९ गते शुक्रबार नियमित उडान भएकाले मौसम सफा भएमा नियमित हप्ताको दु  दिन उडान हुने उहाँको भनाइ छ ।

असोज महिनामा चार गते र २५ गतेमात्रै उडान भएको थियो । मौसम सफा नभएका कारण उडान भर्न नसकिएको थापाले बताउनुभयो । क्रमिक रुपमा मौसम सफा हुँदै गएकाले नियमित उडान हुने भन्दै यात्रुहरुलाई निराश नहुन उहाँले आग्रह गर्नुभएको छ ।

गत असार १४ गतेदेखि करिब दुई महिना रेसुङ्गा विमानस्थलबाट उडान ठप्प भए पनि भदौ ७ गतेबाट उडान नियमित भएको थियो । पहिले हप्ताको एक दिन शुक्रबार मात्रै उडान भर्दै आएको जहाजले यात्रुको अत्यधिक चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो । वर्षायाम सुरु भएपछि पछिल्लो समय हप्ताको एक दिन शुक्रबार मात्रै उडान गर्ने गरी कार्यतालिका रहेको थापाले बताउनुभयो । पछिल्लो समयमा यात्रुहरुको चापलाई दृष्टिगत गर्दै हप्ताको शुकबार र बुधबार दुई दिन उडान गर्ने कार्यतालिका रहेको थापाले बताउनुभयो । 

काठमाडौँबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङ्गाबाट काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने कार्यतालिका रहेको उहाँले बताउनुभयो । हवाई यात्रामा गुल्मी जोडिएसँगै फ्रान्स र स्पेनबाट पनि पर्यटकहरु घुम्नको लागि गुल्मी आएको रेसुङ्गा नगरपालिका गुल्मीले जनाएको छ।

हाल गुल्मीबाट काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट गुल्मीका लागि सात हजार पाँच सय रुपियाँ भाडा कायम गरेको स्टेशन प्रमुख थापाले बताउनुभयो ।  जिल्ला सदरमुकाम तम्घासबाट करिब पाँच मिलोमिटर कच्चीबाटोपछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गतवर्षको वैशाख २९ गतेबाट व्यावसायिक उडान सुरु गरिएको थियो ।