• २५ पुस २०८१, बिहिबार

पर्यटन प्रवर्धन गर्न निर्माण गरिँदै ताल

blog

बुलबुले समाचारदाता

सुर्खेत, कात्तिक ९ गते । पश्चिम सुर्खेतको चौकुनेमा पर्यटन प्रवर्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । गाउँपालिका–६ र ७ को सिमानामा ताल निर्माण गर्न लागिएको हो । गत आर्थिक वर्षदेखि ठेक्का सम्झौता गरेर चार हेक्टर क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गरिएको जनाइएको छ ।

ताल संरक्षण, बाँध तथा नहर निर्माणका लागि ठेक्का सम्झौता गरी काम अघि बढाइएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । १६ करोड ६७ लाख रुपियाँको बजेटमा खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत र एप्लाइट इन्जिनियरिङ प्रालि ललितपुरबिच  २०८१ जेठ १६ गते ठेक्का सम्झौता गरिएको हो । सम्झौता अनुसार २०८३ असार मसान्तसम्म बाँध तथा नहर निर्माणको काम सम्पन्न गर्नुपर्ने छ । यहाँ ताल निर्माण गरी पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य अनुरूप ताल निर्माणको काम थालिएको निर्देशनालयले जनाएको छ । जुम्ल्याहा मूल ताललाई पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्ने सोचसहित ताल निर्माण सुरु गरिएको निर्देशनालयका निर्देशक श्रीधर भट्टराईले बताउनुभयो । उहाँका अनुसार बहुवर्षीय ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ । चार हेक्टर क्षेत्रमा ताल निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

जग्गा प्राप्तिका लागि गाउँपालिकाले समेत पहल थालेको छ । स्थानीयको ३५ रोपनी जग्गा ताल निर्माणका क्रममा प्रभावित हुने भएकाले उचित मुआब्जा उपलब्ध गराएर ताल निर्माण गर्न लागिएको चौकुने गाउँपालिकाले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि ताल निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताउनुभयो । 

ताल निर्माणका लागि गाउँपालिकाले समन्वयको काम गरिरहेको उहाँको भनाइ छ । तालको वरिपरि फुटपाथ, उद्यान, विभिन्न पर्यटकीय संरचना र प्राकृतिक सौन्दर्यका लागि काम गर्ने योजना रहेको अध्यक्ष विकले जानकारी दिनुभयो ।

ताल निर्माण योजना अन्तर्गत लिफ्ट सिँचाइ आयोजना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । हालसम्म लिफ्ट सिँचाइ निर्माणको ९७ प्रतिशत काम सकिएको ऊर्जा विकास निर्देशनालयले जनाएको छ । २०८१ जेठ १६ गते ठेक्का सम्झौता गरी लिफ्ट सिँचाइ निर्माणको काम सुरु गरिएको थियो । २०८२ असारसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । निर्माण अवधिअगावै निर्माणको काम सम्पन्न हुने निर्देशक भट्टराईले बताउनुभयो । 

तीन करोड ६० लाख लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण गर्न लागिएको हो । ३० हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याउने लक्ष्य अनुरूप आयोजना निर्माण गर्न लागिएको छ । उक्त आयोजना अन्तिम चरणमा पुगेपछि यहाँका किसान हर्षित भएका छन् । आयोजना निर्माणपछि व्यावसायिक तरकारी खेती गर्न कृषकलाई सहज हुने छ । ६० मिटर उचाइबाट पानी खसालिने छ । तीन वटा भण्डारण ट्याङ्की निर्माण गरिने बताइएको छ ।