नेपाली समाज र संस्कृति कतातिर गइरहेको छ भन्ने आवाज उठ्न थालेको छ । नैतिक बन्धन तोडिँदै गएका छन् । खास गरी हाम्रा लवाइखवाइ, विश्वास, कला र साहित्य, रीतिरिवाज र धर्म, परम्परा, सामाजिक मूल्यहरू, वास्तुकला र मनोरञ्जन जस्ता विषयमा परिवर्तन आएको देखिन्छ । ठुलाबडाको आदर, सम्मान, आफ्नो धर्म संस्कृतिको सम्मान र पालन जस्ता कुरा ओझेलमा परेको भान हुन्छ । इमानदारी, आफ्नो कर्तव्य र जिम्मेवारी वहन, अरूको सम्मान, सहानुभूति र नैतिकता जस्ता पक्ष हराउँदै गएका हुन् त ?
संस्कृतिमा ह्रास आएको र नैतिकता हराएकाले नेपाली समाज क्रमशः भिन्न संस्कृति र परम्पराप्रति आकर्षित हुँदै गइरहेको छ । नेपाली परम्परामा भएका ठुलाबडा, बाबुआमा र गुरुको सम्मान, स्वयम् आफू, परिवार र समाजप्रतिको जिम्मेवारीबोध कमजोर हुँदै गएको देखिन्छ । आजभोलि छोराछोरी बाबुआमालाई ढोग दण्डवत् गर्न पनि हिच्किचाउँछन् । वृद्धाश्रम बढ्दै गएका छन् । मानव सेवा आश्रम खोलिँदै छन् ।
आखिर किन यस्तो भयो ? के हाम्रो शिक्षामा कमजोरी रह्यो कि ? हाम्रा विद्यालय र विश्वविद्यालय आफ्नो संस्कृति, परम्परा र नैतिकताको शिक्षा दिन असमर्थ भए त ? भन्ने प्रश्न बारम्बार सुनिन्छन् । यिनै प्रश्नमा आधारित भएर संस्कृति र नैतिक शिक्षाको बारेमा छलफल गर्ने प्रयास गरिएको छ ।
संस्कृति भनेको कुनै समाजको जीवनशैली, विश्वास, र व्यवहारको समग्र रूप हो । यसमा भाषा, धर्म, कला, रीतिरिवाज, परम्परा र सामाजिक मूल्यहरू समावेश हुन्छन् । संस्कृति कुनै समाजको पहिचान हो । यसले समाजको ऐतिहासिक, सामाजिक र आर्थिक विकासलाई प्रतिविम्बित गर्छ । यसभित्र निम्न लिखित कुरा पर्दछन् :–
जीवनशैली : कसरी मानिस आफ्नो दैनिक जीवन बिताउँछन्, जस्तै खानपान, लुगा लगाउने तरिका र वास्तुकला र घरको सजावट । विश्वास र धर्म : मानिसले के विश्वास गर्छन् र कसरी धार्मिक अनुष्ठान गर्छन् । कला र साहित्यः सङ्गीत, नृत्य, चित्रकला, मूर्तिकला, र साहित्य जस्ता सिर्जनात्मक अभिव्यक्ति पर्छन् ।
रीतिरिवाज र परम्परा : विवाह, जन्म, मृत्यु र अन्य सामाजिक घटनामा गरिने परम्परागत क्रियाकलाप । सामाजिक मूल्यहरू : समाजले के सही र गलत मान्छ, र कसरी मानिस एकअर्कासँग व्यवहार गर्छन् ।
नैतिक शिक्षाका केही मुख्य पक्ष छन् जसमध्ये इमानदारी : यसले सत्य बोल्न र आफ्नो काममा इमानदार रहन सिकाउँछ । सम्मान : अरूको विचार, भावना, र सम्पत्तिलाई सम्मान गर्न सिकाउँछ । जिम्मेवारी ः आफ्नो कर्तव्य र जिम्मेवारीलाई पूरा गर्न प्रेरित गर्छ । सहानुभूति : अरूको पीडा र खुसीलाई बुझ्न र सहयोग गर्न प्रेरित गर्छ । न्याय : सबैलाई समान व्यवहार गर्न र अन्यायको विरोध गर्न सिकाउँछ । अब प्रश्न उठ्छ यी कुरा कहाँबाट प्राप्त गर्न सकिन्छ ? नैतिक शिक्षा विद्यालय, परिवार र समाजबाट सिक्न सकिन्छ । यसमा विभिन्न व्यक्ति र संस्थाले महत्वपूर्ण भूमिका खेल्छन् । यहाँ केही प्रमुख तत्व उल्लेख गरिएको छ :
परिवार : बालबालिकाको पहिलो शिक्षक परिवार हो । अभिभावकले नैतिक मूल्य र आचरणको आधारभूत शिक्षा दिन्छन् । विद्यालय : शिक्षकले पाठ्यक्रममार्फत नैतिक शिक्षा प्रदान गर्छन् । विद्यालयले नैतिक मूल्यलाई पाठ्यक्रममा समावेश गरेर विद्यार्थीलाई सही आचरण सिकाउँछ । समाज : समाजका विभिन्न संस्था, जस्तै धार्मिक संस्था, सामुदायिक समूह, र सामाजिक सङ्गठनले नैतिक शिक्षामा योगदान पु¥याउँछन् । मिडिया ः टेलिभिजन, रेडियो, इन्टरनेट, र सामाजिक सञ्जालले पनि नैतिक शिक्षामा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । सकारात्मक सन्देश र उदाहरण प्रस्तुत गरेर मिडियाले नैतिक मूल्य प्रवर्धन गर्न सक्छ । व्यक्तिगत अनुभव : जीवनका विभिन्न अनुभवले पनि व्यक्तिलाई नैतिक शिक्षा दिन्छन् । चुनौतीपूर्ण परिस्थितिहरू र तिनबाट सिकाइएका पाठहरूले व्यक्तिको नैतिक विकासमा योगदान पु¥याउँछन् । सरकार : सरकारहरूले नैतिक मूल्यको संरक्षणका लागि नीति र कानुन बनाउँछन् । न्याय प्रणालीले अन्यायको विरोध र न्यायको प्रवर्धन गरेर नैतिक मूल्यहरूको संरक्षणमा योगदान पु¥याउँछ ।
नेपालमा संस्कृति र नैतिक शिक्षासम्बन्धी शिक्षाको इतिहास धेरै पुरानो र समृद्ध छ । नेपालको शिक्षा प्रणालीले विभिन्न कालखण्डमा विभिन्न प्रकारका सांस्कृतिक र नैतिक शैक्षिक मूल्यलाई आत्मसात् गर्दै आएको छ । नेपालमा नैतिक शिक्षाको इतिहास लामो र विविध छ । नैतिक शिक्षा भनेको मानिसको आचरण, मूल्य, र नैतिकतासँग सम्बन्धित शिक्षाको एक प्रकार हो । यसले व्यक्तिलाई सही र गलतको बिचमा फरक छुट्याउन, जिम्मेवार नागरिक बन्न र समाजमा सकारात्मक योगदान दिन सिकाउँछ । यहाँ केही मुख्य कालखण्डमा यसबारे जानकारी दिइएको छ :
प्राचीन काल
वैदिक र हिन्दु शिक्षा : वैदिक कालमा गुरुकुल प्रणालीमा वेद, दर्शन, दण्डनीति आदि विषयमा शिक्षा दिइन्थ्यो भने गुरुकुलमा विद्यार्थी गुरुको घरमा बसेर शिक्षा प्राप्त गर्थे । बौद्ध शिक्षा ः बुद्ध धर्मको प्रचारसँगै बौद्ध शिक्षा पनि प्रचलित भयो । विहार, गुम्बा, चैत्यहरूमा भिक्षुहरूले धर्म, दर्शन, र नीतिमा आधारित शिक्षा प्रदान गर्थे ।
लिच्छवि काल
यो कालखण्डमा शिक्षा प्रशासनको एक अङ्गको रूपमा ‘अग्रहार’ ले शैक्षिक केन्द्रहरूको जिम्मा लिएको थियो । लिच्छवि कालमा संस्कृत र बौद्ध शिक्षा दुवै प्रचलित थिए ।
मल्ल काल
मल्लकालमा राजप्रसादमा रहेका विद्वान्हरूले राजकुमार र राजकुमारीलाई सङ्गीत, साहित्य, कला, दर्शनमा पारम्परागत गराउँथे । यस कालमा काष्ठकला, वास्तुकला, र ललितकला जस्ता विषयमा पनि शिक्षा दिइन्थ्यो ।
राणा काल
नैतिक शिक्षा भनेको व्यक्तिको चारित्रिक विकास र समाजमा उचित आचरणको विकास गर्नु हो । यसले समाजमा नैतिक मूल्यहरूको स्थापना गर्न मद्दत पु¥याउँछ । संस्कृत भाषामा कर्मकाण्ड र हिन्दु संस्कृतिको शिक्षा प्रदान गरिन्थ्यो । जङ्गबहादुर राणाले विसं १९१० मा दरबार स्कुल स्थापना गरे, जुन नेपालमा पहिलो औपचारिक शिक्षालय मानिन्छ । राणाकालमै शिक्षा विभागको गठन भयो र विभिन्न पाठशाला खोलिए । यो कालमा संस्कृत र अङ्ग्रेजी शिक्षा दुवै प्रचलित भए ।
राणाकालमा शिक्षा प्रणालीमा नैतिक शिक्षाको महत्वपूर्ण भूमिका थियो । यो समयावधिमा संस्कृत पाठशालाहरू र गुरुकुलहरूमा नैतिक शिक्षा प्रदान गरिन्थ्यो । यो समयावधिमा नैतिक शिक्षा विद्यालयमा मात्र नभई घर, मन्दिर र अन्य सामाजिक स्थानमा पनि दिइन्थ्यो । राणा शासनकालमा नैतिक शिक्षा धार्मिक शिक्षासँग जोडिएको थियो । धार्मिक ग्रन्थ, महान् व्यक्तिको जीवनकथा, र नैतिक सिद्धान्त पढाइन्थ्यो । यसले बालबालिकालाई जिम्मेवारी, सत्यता र उच्च आदर्शको महत्व बुझ्न मद्दत गथ्र्याे ।
शाह काल
सन् १९५० पछि नेपालमा नैतिक शिक्षा धेरै परिवर्तन भएको छ । प्रारम्भिक समयमा, नैतिक शिक्षा धार्मिक र सांस्कृतिक शिक्षासँग जोडिएको थियो । विद्यालयहरूमा नैतिक शिक्षा अनिवार्य थियो, जसले विद्यार्थीलाई सत्यता, इमानदारी, र सामाजिक जिम्मेवारीको महत्व बुझ्न मद्दत गथ्र्याे ।
सन् १९५१ मा प्रजातन्त्र आएपछि, शिक्षा प्रणालीमा सुधार गरियो र साधारण व्यक्तिहरूका बच्चाहरूलाई पनि विद्यालयमा प्रवेश दिन थालियो । यसले नैतिक शिक्षालाई अझ व्यापक बनायो । सन् १९५९ मा त्रिभुवन विश्वविद्यालयको रूपमा भएको थियो । यसअघि, उच्च शिक्षाका लागि विद्यार्थीलाई भारत र अन्य देशमा जानुपर्ने अवस्था थियो । त्रिभुवन विश्वविद्यालयको स्थापना पछि, नेपालमा उच्च शिक्षाको विकास तीव्र गतिमा भयो । सन् १९८६ मा महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना गरियो, जसले संस्कृत र धार्मिक शिक्षामा विशेष ध्यान दियो । सन् १९९१ मा काठमाडौँ विश्वविद्यालयको स्थापना भयो । हाल नेपालमा १७ बढी विश्वविद्यालय छन्, जसले विभिन्न विषयमा उच्च शिक्षा प्रदान गरिरहेका छन् ।
सन् १९७१ (२०२८ साल) देखि सन् २००६ (२०६२/६३) सम्म नेपालमा नैतिक शिक्षा अनिवार्य रूपमा चारदेखि आठ कक्षासम्म पढाइन्थ्यो, र ९ र १० कक्षामा ऐच्छिक विषयका रूपमा थियो । यस अवधिमा नैतिक शिक्षाले देशभक्ति, राष्ट्रियता, र मानवीयतामा जोड दिएको थियो ।
गणतन्त्र काल
हालका दिनहरूमा, नैतिक शिक्षा पुनः पाठ्यक्रममा समावेश गर्ने प्रयास भइरहेको देखिन्छ । विभिन्न विद्यालय र संस्थाले नैतिक मूल्यहरूको प्रवर्धनमा ध्यान दिइरहेका छन् । नेपालको नैतिक शिक्षाको इतिहासले देखाउँछ कि यो विषय समयसँगै परिवर्तन भएको छ तर यसको महत्व सदैव रहिरहने छ ।
सन् २००६ (२०६२/६३) को जनआन्दोलनपछि संस्कृत विषयका साथै नैतिक शिक्षा पनि हटाइयो । नेपाली संस्कृति र नैतिक शिक्षामा कम महत्व दिन थालिएको छ । पछिल्ला दशकमा पश्चिमी शिक्षा प्रणालीको प्रभावले गर्दा नैतिक शिक्षामा केही कमी आएको छ । नयाँ पाठ्यक्रममा नैतिक शिक्षालाई प्राथमिकता दिइएको छैन, जसले गर्दा समाजमा नैतिक मूल्यको ह्रास भएको देखिन्छ । यसले युवामा छाडापनको संस्कार सुरु भएको पाइएको छ ।
जसको कारण सांस्कृतिक पक्षाका मुख्य पक्ष जस्तै नेपाली जीवनशैली, विश्वास र धर्म, कला र साहित्य, रीतिरिवाज र परम्परा र सामाजिक मूल्य हराउँदै गएका छन् । त्यसै गरी नैतिक शिक्षाका केही मुख्य पक्षमा इमानदारी, अर्काको सम्मान, जिम्मेवारीबोध, सहानुभूति र न्याय हराउँदै गएका छन् । आमाबुबा, गुरु, मान्यजनप्रति आदरभावमा ह्रास आउँदै छ । परिवारप्रतिको दायित्वबोध, समाज र राष्ट्रप्रतिको जिम्मेवारी हराउँदै गएको छ । विदेश पलायनको क्रम बढेको छ । राष्ट्र निर्माणमा आवश्यक कर्मशील जनशक्तिमा नेपाली संस्कृति र नैतिकता ह्रास हुँदै गएमा र युवाको विदेश पलायनले नेपालमा विकराल स्थिति नआउला भन्न सकिन्न ।
अब प्रश्न उठ्छ यी कुरा कहाँबाट प्राप्त गर्न सकिन्छ ? सांस्कृतिक र नैतिक शिक्षा विद्यालय, परिवार, र समाजबाट सिक्न सकिन्छ । यसमा विभिन्न व्यक्ति र संस्थाले महत्वपूर्ण भूमिका खेल्छन् । विद्यालय, महाविद्यालय र विश्वविद्यालयले अबका पाठ्यक्रममा देशभक्ति, नेपाली संस्कृति, परम्परा र नैतिक शिक्षामा आधारित विषयवस्तु समावेश गरिनु नितान्त आवश्यक छ । साथै परिवार, समाज, मिडिया, स्वयम् व्यक्ति र सरकारले सांस्कृतिक र नैतिक शिक्षाप्रति चनाखो भएर ध्यान दिनु आवश्यक भइसकेको छ ।