• १० कात्तिक २०८१, शनिबार

पटका मानव स्वास्थ्यविरुद्ध

blog

नेपालीहरूको महत्वपूर्ण पर्व बडादसैँ सकिएसँगै अर्को उल्लासमय पर्व तिहारको रौनक सुरु भइसकेको छ । तिहारलाई अन्धकारविरुद्धको उज्यालो पर्व पनि भनिन्छ । फूलैफूल र झिलिमिली बिजुलीबत्ती तथा दीप प्रज्वलन गरेर घरआँगन सजाउने परम्पराले तिहारको माहोल उल्लासमय बन्ने गरेको छ । बजारमा तिहारलक्षित सामग्रीको बिक्रीवितरण सुरु भइसकेको छ । फूलदेखि फलफूलसम्म, दियोदेखि मैनबत्तीसम्म, रङ्गीविरङ्गी टीका सामग्रीदेखि मसलाजन्य खाद्य सामग्रीको उपभोक्ताले बेलैमा जोहो गर्न थालिसकेका छन् । अर्कोतर्फ खास गरी केटाकेटीदेखि युवापुस्तासम्मका भने तिहारको रमाइलोलाई अझै रोमाञ्चक बनाउन पटकाको खोजीमा जुटिसकेका छन् । पटका खरिदका लागि अभिभावकसँग रकमकलम मिलाउने ध्याउन्नमा उनीहरू देखिन्छन् । देउसी–भैली खेलेर प्राप्त भएको रकम त यसै पनि उनीहरूले पटकामै खर्च गर्ने हुन् । पटका पड्काउनु वातावरणीय दुष्प्रभावका साथै मानव स्वास्थ्यका लागि हानिकारक भएकाले प्रशासनले हरेक वर्ष सूचना जारी गरेर खरिदबिक्रीमा कडाइ गर्दै आएको छ । यद्यपि जस्तोसुकै कडाइ गरिए पनि अवैध निकासी हुने गरेकाले बर्सेनि पटका आतङ्क सिर्जना हुने गरेको जगजाहेर छ । 

तिहारमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले हरेक वर्ष विशेष रणनीति तय गर्दै आएको विदित हुन्छ । वातावरणीय असरका साथै जिउज्यानमै जोखिम हुने पटकाजन्य पदार्थ पड्काउन निषेध गरिने परम्परा नै हो । यस पटक भने सरकारले थप कडाइ गर्न लागेको प्रकाशमा आएको छ । सरकारले पटकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाउने गरी बन्देज लगाउने भएको हो । विगतमा प्रत्येक जिल्ला प्रशासनले पटकाजन्य पदार्थ नपड्काउन सूचना जारी गरे पनि पटकाको अवैध किनबेच र पड्काउने कार्य भइरहेका थिए । सरकारले देशव्यापी रूपमा सर्कुलर जारी गरेरै पटकाजन्य पदार्थ ओसारपसार, बिक्रीवितरण र प्रयोगमा पूर्ण बन्देज लगाउने तयारी गरेको गृह मन्त्रालयको भनाइ छ । 

नेपालमा मुख्य रूपमा भारतबाट पटका भित्रिने गरेको छ । केही मात्रामा चीनबाट समेत भित्र्याइन्छ । भारतका पटका कारखानामा विस्फोट तथा आगलागी भएर बर्सेनि धेरै मानिसको मृत्यु भएका समाचार प्रकाशमा आइरहेका स्मरणीय छ । भारतको सर्वोच्च न्यायालयले नै पटका तथा आतिसबाजीमा प्रतिबन्ध लगाएको समाचार प्रकाशित छ । यसअघि पनि प्रशासनिक निकायबाट र राजधानी दिल्लीमा प्रदूषण नियन्त्रण समितिले प्रतिबन्ध लगाइसकेको थियो । भारतमा सयौँ पटका कारखानामा पाँच लाखभन्दा बढीले काम गर्दै आएका छन् भने अर्बौं रुपियाँको पटकाको व्यापार हुने गरेको छ । उत्पादित मुलुकमा प्रतिबन्ध लगाइएपछि भित्रिने त छिमेकी मुलुकहरूमै हो । खुला सिमानाका कारण सानोतिनो प्रयासले मात्र पटका भित्रिनबाट रोक्न असम्भव देखिएपछि सरकारले कडाइ गर्न लागेको हो । 

तिहार खास गरी पर्यावरण, संस्कृति र संस्कारको संरक्षण गर्दै खुसियाली बढाउने प्रकाशमय पर्व हो । यस्तो मौलिक पर्वमा होहल्ला र कोलाहल उत्पन्न गर्ने मात्र नभई ध्वनि प्रदूषण बढाउने पटकाजन्य पदार्थ पड्काएर क्षणिक रमाइलो गर्दा आफू र आफ्नै परिवारको स्वास्थ्यमा गम्भीर असर परिरहेको हेक्का राख्न आवश्यक छ । मानिसका लागि सामान्यतः २५ डेसिबलसम्मको ध्वनि सामान्य मानिएको छ । सडकमा गाडी तथा अन्य ध्वनिजन्य स्रोतबाट उत्पन्न आवाज औसतमा ८५ डेसिबलसम्मको हुने र यो नै मानव स्वास्थ्यका लागि असरपूर्ण भएको चिकित्सकीय भनाइले पुष्टि हुन्छ । विभिन्न प्रकारका असरदार र शक्तिशाली पटका पड्किँदा उत्पन्न आवाजको मापन हजारौँ डेसिबलमा हुन सक्छ । त्यो पनि एक्कासि कानको जाली नै फटाउने गरी उत्पन्न आवाजले मन र मुटु नै थर्काइदिन्छ । क्षणिक रमाइलोले दिने असर मानव जीवन र पर्यावरणमा दीर्घकालीन हुने भएकाले सचेतना अपनाउन वातावरण विभागले समेत आग्रह गर्नुलाई सकारात्मक रूपमा लिइएको छ ।

मानिस र प्रकृतिका लागि अत्यावश्यक स्वच्छ हावाको गुणस्तर खस्काउने मात्र नभई जिउधनमै क्षति पु¥याउने खालका हानिकारक रसायन पटकाजन्य पदार्थमा हुने वातावरणविद्को भनाइ मननीय छ । मानव स्वास्थ्यका लागि हानिकारक मानिएका रसायन हावाको माध्यमबाट मानव शरीरमा प्रवेश गर्दा त्यसले क्यान्सरलगायतका रोग वृद्धि गराउने स्वास्थ्य विशेषज्ञहरूले औँल्याएका छन् । श्वासप्रश्वाससम्बन्धी रोगीलाई त झनै असरदार हुने विज्ञहरूको भनाइलाई बेवास्ता गर्नु आफू र आफ्नै स्वास्थ्यमाथि खेलबाड गर्नु हो । पटकाका कारण बर्सेनि आगलागीका घटना हुने गरेको अर्को तथ्य सबैसामु छर्लङ्ङ छ । आगलागीबाट हुने जिउधनको नोक्सानीप्रति बेलैमा सावधानी अपनाउनु नै श्रेयस्कर हुन्छ । कुनै पनि माध्यमबाट पटका भित्रिन नदिने गरी सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्नु पर्छ । विगत वर्षहरूमा यदाकदा देखिएको जस्तो बिक्रीवितरणमा कडाइ गरिने तर सुरक्षाकर्मीकै घरमा ज्यादा पटका पड्किने तितो यथार्थतर्फ पनि बेलैमा सचेत गराउन वाञ्छनीय छ ।