• ७ मंसिर २०८१, शुक्रबार

सगरमाथा निकुञ्ज

blog

सगरमाथा राष्ट्रिय निकुञ्जको मुख्य आकर्षण भनेकै विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल हो । यो निकुञ्जको नामकरण सोही हिमालको नामबाट गरिएको हो । 

विसं २०३३ साउन ४ गते स्थापना भएको यो राष्ट्रिय निकु्ञ्ज सन् १९७९ देखि विश्व सम्पदा सूचीमा सूचीकृत छ । कुल एक हजार १४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज कोशी प्रदेशको सोलुखुम्बुको उत्तरी भेग खुम्बु क्षेत्रमा पर्दछ । 

यस निकुञ्जको पश्चिममा गौरीशङ्कर संरक्षण क्षेत्र, पूर्वमा मकालु–वरुण राष्ट्रिय निकुञ्ज र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको चोमोलोङ्मा प्राकृतिक आरक्ष पर्दछ । खुम्बु पासाङल्हामु गाउँपालिका–२, ३, ४ र ५ को भूभागमा पर्ने यस निकुञ्ज क्षेत्र तथा यसको मध्यवर्ती क्षेत्रले सोलुखुम्बुको करिब ४५ प्रतिशत भूभाग ओगटेको छ ।  निकुञ्जमा सर्वोच्च शिखर सगरमाथाका साथै छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमाल पर्दछन् । यहाँ गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा गरी जम्मा चार उपत्यका छन् । यसै क्षेत्रमा रहेका 

गोक्योलगायतका ताललाई सन् २००७ मा सिमसार तथा पन्छीको संरक्षित प्राकृतिक सम्पदा क्षेत्र (रामसार सूची) मा समावेश गरिएको छ । 

हिमाली वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा गोब्रे सल्ला, ठिङ्ग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँसलगायतका रुख पाइन्छ । निकुञ्ज क्षेत्रमा हिउँचितुवा, कस्तुरी मृग, हाब्रेलगायतका दुर्लभ स्तनधारी वन्यजन्तुका ३७ प्रजाति पाइन्छ । सन् २०१० मा निकुञ्जमा चार वटा हिउँचितुवा रहेकामा सन् २०२४ को एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्र (इसिमोड) को अध्ययनले यहाँ ७४ वटा हिउँचितुवा रहेको देखाएको थियो । आर्थिक वर्ष २०७४/७५ को तथ्याङ्क अनुसार कस्तुरी मृगको सङ्ख्या १८५ वटा रहेको छ भने आव २०७८/७९ को गणना अनुसार निकुञ्जमा जम्मा २५७ वटा झारल छन् । सन् २०१२ को अध्ययन अनुसार निकुञ्जमा १०५ वटा हाब्रे छन् । यहाँ १८ प्रजातिका सरीसृप पाइन्छ । 

त्यसै गरी डाँफे, चिलिमे, कालिज, हिमकुखुरा, लालचुच्चे काग (टुङ्गा) र पहेँलोचुच्चे काग (टेमु) सहित १९४ प्रजातिका चरा पाइन्छ । यो निकुञ्ज हिमाल, वनस्पति, वन्यजन्तु र चराचुरुङ्गीको मात्रै नभएर सांस्कृतिक महìवको क्षेत्र पनि हो । यहाँका तेङ्बोचे, पाङ्बोचे तथा थामे गुम्बाबाट बौद्ध धर्मबारे शिक्षा प्रदान गरिन्छ । बर्सेनि ५० हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा एवं पर्वतारोहणका लागि भ्रमण गर्ने भएको हुँदा यो निकुञ्जलाई विश्वको प्रसिद्ध पर्यटकीय गन्तव्यका रूपमा लिइन्छ । यस क्षेत्रको मनोरम दृश्य, शेर्पा संस्कृति र वन्यजन्तु अवलोकन गर्न पनि धेरै पर्यटक आउने गर्दछन् । निकुञ्ज क्षेत्रभित्रका मानव बस्ती र आसपासको २७५ वर्ग किमी क्षेत्रलाई समेटेर २०५८ सालमा मध्यवर्ती क्षेत्र घोषणा गरिएको छ । 

निकुञ्ज कार्यालयका अनुसार निकुञ्ज तथा मध्यवर्ती क्षेत्र अन्तर्गत दुई हजार १३१ घरधुरी रहेका छन् र यहाँको जनसङ्ख्या सात हजार ६३५ रहेको छ । यहाँका बासिन्दाको मुख्य पेसा पर्यटन व्यवसाय, पर्वतारोहण, कृषि र पशुपालन हो । हिमाली शेर्पा संस्कृति, बौद्ध धर्मको सम्पदा क्षेत्र, हिउँचितुवा, कस्तुरी, रेड पान्डालगायतका दुर्लभ वन्यजन्तुको उपयुक्त वासस्थान रहेको यो निकुञ्ज नेपालको पूर्वी क्षेत्रको प्रमुख हिमाली राष्ट्रिय निकुञ्ज हो ।  

    मुना 

Author

प्रमोदकुमार टन्डन