बुटवल समाचारदाता
बुटवल, कात्तिक ७ गते । जति औषधी गरे पनि निको नहुने दीर्घरोगीका लागि रुपन्देहीको सैनामैना नगरपालिका–१, चारपालामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सा केन्द्र सहारा बन्दै गएको छ । विसं २०६८ मा स्थापना भएको प्राकृतिक चिकित्सा केन्द्रमा पञ्चतत्व हावा, पानी, माटो, जल र आकाशको माध्यमबाट उपचार गरिन्छ ।
त्यसै गरी यहाँ जल चिकित्सा, अकुपञ्चर, अकुप्रेसर, आन्द्रा सफा गर्ने प्रविधि, वैज्ञानिक योग प्राणायाम, ध्यान एवं यौगिक क्रिया, जोर्नी तथा नसा बाथसम्बन्धी समस्या, ग्यास्टिक, कब्जियत, पाइल्स, अल्सर, थाइराइडलगायतका समस्याको उपचार हुँदै आएको छ ।
खासगरी बढी मात्रामा वृद्धवृद्धा एलोपेथी औषधी सेवन गर्दा समेत निको नभएको भन्दै प्राकृतिक चिकित्सा केन्द्रमा आउने गरेका छन् ।
पदमपाणि योग तथा प्राकृतिक चिकित्सा केन्द्रका अध्यक्ष चित्रबहादुर कार्कीले खासगरी दीर्घरोगीहरू, पुराना जीर्ण रोगका बिरामीका लागि प्राकृतिक चिकित्सा केन्द्र आशाको केन्द्र बनेको बताउनुभयो । अहिले चिकित्सा केन्द्रले बिहान बेलुका बिरामीको उपचार गर्नुका साथै योगका माध्यमबाट समेत बिरामीलाई उपचारको व्यवस्था मिलाएको छ ।
यहाँ दैनिक करिब ५०–६० जना बिरामी उपचारका लागि आउने गरेका छन । करिब नौ बिघामा फैलिएको प्राकृतिक चिकित्सा केन्द्रको दुई बिघा क्षेत्रमा केन्द्रको भौतिक संरचना निर्माण गरिएको छ भने बाँकी जग्गामा ड्र्यागन खेतीसहित चिकित्सा केन्द्रले बगैँचा बनाएर वरिपरिको वातावरणलाई बिरामीमैत्री गराएको जनाएको छ ।
प्राकृतिक चिकित्सा केन्द्रकी सदस्य खगीमाया भुजेलले भर्खरै मात्र सैनामैना नगरपालिकाका पूर्वनगरप्रमुख चित्रबहादुर कार्कीको नेतृत्वमा नयाँ समिति गठन भएको र उक्त समितिले प्राकृतिक चिकित्सा केन्द्रको विकास गरेर छाड्ने प्रतिबद्धता जनाउनुभयो ।
प्राकृतिक चिकित्सा केन्द्र परिसरमा रहेको सिउँडी (ड्र्यागन फ्रुट) को संरक्षणका साथै गोडमेल गर्ने काम सुरु भइसकेको छ भने यसमा अध्यक्षसहितको सञ्चालक समितिका सदस्यहरू आफैँले काम गरिरहेका छन् ।
स्थानीय पूर्वभारतीय सैनिक श्यामबहादुर थापाले यो प्राकृतिक चिकित्सा केन्द्रलाई पूर्वी नवपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सा केन्द्र जस्तै बनाउने बताउनुभयो । उहाँले महिलाको महिनावारी समस्या, हड्डी खिइएको, ग्यास्टिक, बाथरोगलगायत दम, निमोनिया जस्ता रोगका बिरामी उपचारका लागि आउने गरेको र अधिकांश बिरामी सञ्चो भएर जाने गरेको बताउनुभयो ।
अबको केही समयमै भारतले चार करोड रुपियाँको लगानीमा योग हल बनाइदिने भएको छ भने एउटा एम्बुलेन्ससमेत प्रदान गर्ने भारतीय पूर्वसैनिक थापाले बताउनुभयो ।
प्राकृतिक चिकित्सा केन्द्रका अध्यक्ष चित्रबहादुर कार्कीले सबैको सहयोग र साथ पाएमा प्राकृतिक चिकित्सा केन्द्रलाई यो क्षेत्रकै राम्रो चिकित्सा केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।