सर्लाही समाचारदाता
सर्लाही, कात्तिक ७ गते । इलाका प्रशासन कार्यालय हरिवन र बरहथवाको नागरिकता फाँटमा दसैँलगत्तै सेवाग्राहीको अत्यधिक चाप बढेको छ । यी दुवै कार्यालयमा अहिले नयाँ तथा प्रतिलिपि नागरिकता बनाउन आउने सेवाग्राहीको चाप दोब्बरले बढेको हो । दैनिक ४० देखि ४५ जना सेवाग्राही आउने इलाका प्रशासन कार्यालय हरिवनको नागरिकता फाँटबाट दसैँ बिदापछि ८० देखि ८५ जना सेवाग्राहीको नागरिकता जारी भइरहेको कार्यालयका प्रमुख राजकुमार थापाले जानकारी दिनुभयो ।
काठमाडौँ बस्ने विद्यार्थी दसैँ, तिहारको बिदा मनाउन घर आएका बेला नागरिकता बनाउन आउने गरेकाले पनि कार्यालयमा सेवाग्राहीको चाप बढेको थापाले बताउनुभयो । उहाँका अनुसार कार्यालयमा नागरिकता प्रिन्ट गर्ने शाखामा एउटा मात्रै कम्प्युटर र एक जना मात्रै अपरेटर रहेकाले केही सेवाग्राहीलाई नागरिकता प्रिन्ट गर्न नभ्याएर भोलिपल्ट बोलाउनुपर्ने अवस्था छ ।
जिल्लाको उत्तरी भेगमा पर्ने लालबन्दी र हरिवन नगरपालिका पूूरै तथा ईश्वरपुर र बागमती नगरपालिकाको केही वडाका बासिन्दालाई सेवा प्रवाह गर्ने जिम्मेवारी रहेको इलाका प्रशासन कार्यालय हरिवनमा दसैँ बिदापछि कार्यालय खुलेदेखि नै नागरिकता फाँटमा दिनभर नै सेवाग्र्राहीको लामो लाम देखिन्छ । लामो समयसम्म पालोमा बस्नुपर्दा चुरे भेगको विकट गाउँबाट घन्टौँ धाएर आउने सेवाग्राही भने मारमा परेका छन् ।
एकै दिनमा काम नहुँदा टाढाबाट आउने सेवाग्राहीलाई समस्या पर्ने गरेको छ । कार्यालय प्रमुख थापाले सकेसम्म कोही पनि सेवाग्राही दोहो-याएर आउनु नपरोस् भन्ने हिसाबले काम गरे पनि कम्प्युटर र अपरेटरको अभावमा धेरै भिडभाड भएका बेला कहिलेकाहीँ समस्या पर्ने गरेको बताउनुभयो । त्यस्तै जिल्लाको पश्चिमी भेगका नागरिकलाई सेवाप्रवाह गर्ने इलाका प्रशासन कार्यालय बरहथवामा पनि दसैँपछि सेवाग्राही निरन्तर बढिरहेका छन् । दैनिक २० देखि २५ वटा नागरिकता जारी हुने बरहथवामा दसैँपछि भने एक दिनमा ५० वटासम्म नागरिकता जारी भइरहेको छ ।
बरहथवामा पनि नागरिकता प्रिन्ट गर्ने फाँटमा एक जना मात्रै कम्प्युटर अपरेटर छन् । कार्यालयका निमित्त प्रमुख राजेश रायले कर्मचारी अभावकाबिच सेवाग्राहीको काम एकैदिनमा सक्ने गरी खटिरहेको बताउनुभयो ।
हरिवन र बरहथवामा नागरिकता फाँटमा चाप बढ्दा राष्ट्रिय परिचयपत्रको विवरण लिइने फाँटमा समेत उत्तिकै भिड लागेको छ । दक्षिणी भेगका पालिकाका बासिन्दालाई सेवा प्रवाह गर्ने जिल्ला प्रशासन कार्यालय मलङ्गवामा भने सेवाग्राहीको चाप स्थिर नै रहेको कार्यालयका सूचना अधिकारी एवं सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयबाट अहिले नयाँ र प्रतिलिपि गरी ७० देखि ७५ वटासम्म नागरिकता जारी भइरहेको छ । कार्यालयमा प्रायः तिहार र छठको बिचमा कार्यालय खुल्दा अत्यन्तै भिडभाड हुने गरेको कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले बताउनुभयो । अघिल्ला वर्षमा छठ मनाउन धेरै सर्वसाधारण र विद्यार्थी घर आउने समयमा थेगिनसक्नु भिड हुने गरेको जिल्ला प्रशासन कार्यालय मलङ्गवाले जनाएको छ ।