‘शहरी लोकसाहित्य’ यो शब्दावली सुन्दा कताकता अनौठो लाग्न सक्छ । हामीमा जिज्ञासा जन्मन सक्छ, ‘शहरी लोकसाहित्य’ पनि हुन्छ र ? हाम्रो सामान्य बुझाइमा ग्रामीण परिवेशमा मात्र लोकसाहित्य जन्मन्छ र यसको शहरसँग कुनै नाता हुँदैन । लोकसाहित्य र ग्रामीण परिवेश एकअर्काका परिपूरक हुन् भन्ने आमबुझाइ छ । हाम्रो सामान्य बुझाइ यही नै हो ।
समयले फेरो मारिसकेको यस घडीमा पछि फर्केर हेर्दा यो बुझाइ त्रुटिपूर्ण देखिन्छ । गाउँ र शहर एकअर्कासँग अलग–अलग अवस्थामा रहेका टापु होइनन् । उनीहरू कुनै न कुनै रूपमा एकअर्कासँग निर्भर रहन्छन्, ‘ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा’ भने जस्तै गरी । गाउँ शहरमा पस्छ र शहर गाउँमा पस्छ । शहरमा सिर्जित लोकअभिव्यक्ति गाउँमा पुग्छ र गाउँमा जन्मेको लोकअभिव्यक्ति शहरमा पुग्छ, जसबाट गाउँ र शहरबीच संवाद चल्छ । परिणामस्वरूप ‘शहरी लोकसाहित्य’ जन्मन्छ ।
अमेरिकी लोकसाहित्यविद् एलन डन्सको दृष्टिमा ‘शहरी लोकसाहित्य’ को रचनागर्भ पृथक्–पृथक् सांस्कृतिक समूहबीचको अन्तर्क्रियाबाट तयार हुन्छ । डन्स आफ्नो पुस्तक इन्टरप्रेटिङ फोकलोर (सन् १९८०) मा लेख्छन्, विभिन्न जातीय र सांस्कृतिक समूहबीचको उठबस तथा अन्तर्क्रियाबाट ‘शहरी लोकसाहित्य’ जन्मन्छ । यस प्रकारको अन्तर्क्रियाबाट जीवन भोगाइ व्यक्त गर्ने बेग्लै शैली र विधा विकास हुन्छन्, जो ‘शहरी लोकसाहित्य’ नामबाट परिचित छ ।
के हो ‘शहरी लोकसाहित्य’ ?
मानव जातिले सुखदुःखमा गुनगुनाउँदा गुनगुनाउँदै जन्मिएका मौखिक रचना नै लोकसाहित्य हो । यसैगरी शहरी परिवेशमा जन्मिएको अभिव्यक्ति नै ‘शहरी लोकसाहित्य’ हो । जो मूलतः मौखिक हुन्छ । लोकसाहित्यकै अर्को संस्करण हो, ‘शहरी लोकसाहित्य’ । आहान, कहावत, गीत, सडक कविता, संस्मरण, हाँसो–ठट्टा, उखान–टुक्का, मिथक, किंवदन्तीलगायत शहरी जीवनसँग जोडिएका तमाम
वाङ्मय ‘शहरी लोकसाहित्य’ हुन् । जो एक अर्थमा परम्परागत लोकसाहित्यका पनि खजाना हुन् ।
सामान्यतया परम्परागत लोकसाहित्यमा पूर्वऔद्योगिक समाजको प्रतिविम्ब भेटिन्छ भने ‘शहरी लोकसाहित्य’ मा उत्तरऔद्योगिक समाजको स्पन्दन धड्किन्छ । परम्परागत लोकसाहित्यमा कृषियुगीन अभिव्यक्तिको प्रभुत्व रहन्छ भने ‘शहरी लोकसाहित्य’ मा शहरी जीवन र प्रविधिको संश्लेषणात्मक अभिव्यक्ति पाइन्छ ।
यस सन्दर्भमा लोककण्ठमा गुञ्जिने यी दुई गीतलाई विश्लेषण गर्ने प्रयास गरौँ, “धानको बाला कोदोको कपनी दिनको झल्को रातिको सपनी ।” र “छिन्यो क्यारे टेलिफोन तार, आउनै छाड्यो मायाको खबर ।” यी दुई गीतको मर्मलाई विश्लेषण गर्दा पहिलो गीतमा कृषियुगकालीन ग्रामीण अभिव्यक्ति भेटिन्छ भने दोस्रो गीतमा प्रविधिसँग जोडिएको शहरी जीवनशैलीको गुम्फन प्रतिविम्बित हुन्छ । यस दृष्टिले पहिलो लोकगीतमा परम्परागत लोकसाहित्यको चरित्र भेटिन्छ हो भने दोस्रो लोकगीत ‘शहरी लोकसाहित्य’ को ।
लोकसाहित्यविद् एलन डन्सले आफ्नो कृति इन्टरनेसनल फोरलोर स्टडिज : अर्बन एन्ड रुलर डिस्टिङ्सन्स (सन् २००५) मा चर्चा गरे अनुसार परम्परागत लोकसाहित्य एकै किसिमका सांस्कृतिक तथा सामाजिक पृष्ठभूमि भएका ग्रामीण समुदायद्वारा ग्रामीण समुदायकै लागि सिर्जना गरिएको अभिव्यक्ति हो । यसमा स्थानीय समुदायलाई एकताको सूत्रमा बाँध्ने गरी साझा मूल्य–मान्यता र अनुभूतिहरू प्रतिविम्बित हुन्छन् ।
‘शहरी लोकसाहित्य’ मा प्रविधिसम्पन्न आधुनिक जीवनशैलीका झाँकी र उल्झनहरू भेटिन्छन् । अझ भनौँ ‘शहरी लोकसाहित्य’ ले शहरी जीवन–भोगाइ तथा नगरभित्रको जटिलता र गतिशीलतालाई प्रतिविम्बित गर्दछ । यसमा विस्थापन, गरिबी, शहरी जीवनको व्यस्तता र जटिलता, नोस्टाल्जिया, घाइते जीवन–आकाङ्क्षालगायत तमाम मानवीय जीवन–भोगाइहरू प्रतिविम्बित हुन्छन् । यसैगरी आप्रवासन, वर्ग सङ्घर्ष, सांस्कृतिक पहिचान, बहुसांस्कृतिक परिवेश, मेसिनीकरण जस्ता जटिलतम शहरी उल्झनहरू ‘शहरी लोकसाहित्य’ का खजाना बन्न पुग्छन् ।
चर्चित अमेरिकी लोकसाहित्यविद् ट्रेभर जे. ब्ल्याङ्क आफ्नो कृति फोकलोर एन्ड इन्टनेट (सन् २०१५) मा लेख्छन्, ‘शहरी लोकसाहित्य’ ले शहरी जीवनको गतिशीलता, बहुसांस्कृतिक परिवेश र खण्डित अनुभूतिलाई प्रतिविम्बित गर्दछ ।
लोकसाहित्यका अध्येता रेजिना बेन्डिक्सले आफ्नो कृति अर्बन स्पसेज एन्ड फोक एक्सप्रेसन्स (सन् २०२०) मा ‘शहरी लोकसाहित्य’ ले शहरी जीवनका सामाजिक, आर्थिक र सांस्कृतिक जटिलतालाई अँगाल्छ भन्ने निष्कर्ष निकालेकी छन् । उनको बुझाइमा ‘शहरी लोकसाहित्य’ ले विस्थापन, एक्लोपन र जीवनयापनका सवाललाई पनि विषयवस्तु बनाउँछ ।
कतिपय अध्येताले ‘शहरी लोकसाहित्य’ लाई परम्परागत र आधुनिक समाजको वर्णशङ्कर सन्तति मानेका छन् । लोकसाहित्यका अध्येता डेबिड रोबर्टस्ले आफ्नो कृति द न्यु फोक ः टे«डिसन एन्ड ट्रान्फर्मेसन इन अर्बन स्पेसेस (सन् २०१७) मा चर्चा गरे अनुसार ‘शहरी लोकसाहित्य’ मा परम्परागत र समकालीन दुवै समाजको तत्वको मिश्रण भेटिन्छन् । जसमा नवीनतम विकासक्रमले पनि स्थान पाउँछन् ।
ख्यातिप्राप्त अमेरिकी लोकसाहित्यविद् स्टिथ थम्पसनले सन २०१८ मा प्रकाशित ओरल टे«डिसन्स इन दी एज अब् अर्बनाइजेसन शीर्षक शोधपत्रमा लेखे अनुसार लोकसाहित्यले शहरी परिवेशमा आफ्नो स्वरूप बदल्छ । जहाँ मौखिक परम्परालाई शहरवासीका चिन्ता र वास्तविकतासँग मेल खाने गरी अनुकूल बनाइन्छ । थम्पसनको बुझाइमा ‘शहरी लोकसाहित्य’ परम्परागत लोकसाहित्यको परिमार्जित संस्करण हो ।
‘शहरी लोकसाहित्य’ को अन्तरवस्तु के के हुन् ? यसबारे डेबिड रोवर्टस्, एलन डन्स जस्ता अध्येताले बोलेका छन् । प्रदर्शनी कला तथा ग्राफिटी (भित्तेचित्र) पनि ‘शहरी लोकसाहित्य’ का अन्तरवस्तु हुन् । ‘शहरी लोकसाहित्य’ मा लिखित सामग्री पनि पर्छन् । यो परम्परागत लोकसाहित्यसँग मेल नखाने पक्ष हो । लोकसाहित्यविद् डेबिड रोवर्टस्ले पनि लिखित सामग्रीलाई ‘शहरी लोकसाहित्य’ को अन्तरवस्तुका रूपमा स्वीकारेका छन् ।
एलन डन्सले आफ्नो कृति फोक रिप्रिजेन्टेसन्स इन अर्बन सेटिङ्स (सन २०१७) मा ‘शहरी लोकसाहित्य’ ले प्रायः शहरी जीवनमा विद्यमान सामाजिक–आर्थिक असमानतालाई चित्रण गर्दै सीमान्तकृत शहरी समुदायको सामूहिक चिन्ता र आकाङ्क्षा प्रतिविम्बित गर्छ भन्ने राय पेश गरेका छन् ।
‘शहरी लोकसाहित्य’ को प्रसारण दर पनि तीव्र देखिन्छ । अचेल ‘शहरी लोकसाहित्य’ लाई डिजिटल प्रविधिले साथ दिएकाले यसले क्षणभरमै संसारको फन्को मार्न सक्छ । लोकसाहित्यसम्बन्धी कृति इन सर्च अब् अथेन्टिसिटी (सन् १९९७) मा रेजिना बेन्डिक्स लेख्छिन्, डिजिटल प्ल्याटफर्ममार्फत पनि प्रवाह हुने भएकाले ‘शहरी लोकसाहित्य’ व्यापक जनसमुदायसमक्ष पुग्छ ।
यस दृष्टिले ‘शहरी लोकसाहित्य’ को दायरा अझ पराकिलो देखिन्छ । अमेरिकी लोकसाहित्यविद् एलन डन्स आफ्नो पुस्तक इन्टरप्रेटिङ फोकलोरमा ‘शहरी लोकसाहित्य’ को दायरा स्थानीयस्तरमा मात्र सीमित नभई विश्वव्यापी हुन सक्छ भन्ने धारणा राखेका छन् ।
‘शहरी लोकसाहित्य’ को अध्ययनक्रम
हामीकहाँ ‘शहरी लोकसाहित्य’ बारे विधागत रूपमा चिन्तन–मनन र अध्ययनको कुरा त परै जाओस् सामान्य चर्चासम्म पनि भएको पाइँदैन । पश्चिमी गोलाद्र्धमा भने यसबारे विशद अध्ययन भएको छ । पश्चिमी अध्येताहरूले पनि सन् १९६० पछि मात्र ‘शहरी लोकसाहित्य’ लाई केन्द्रमा राखेर अध्ययन–अनुसन्धान कार्य अघि बढाएको देखिन्छ । हाल यसबारे थुप्रै पुस्तक तथा शोधमूलक लेख उपलब्ध छन् ।
‘शहरी लोकसाहित्य’ अवधारणालाई लोकप्रिय बनाउने श्रेय अमेरिकी लोकसाहित्यविद् जन ह्यारोल्ड ब्रनभ्यान्डलाई जान्छ । उनका कृति दी भ्यानिसिङ हिचहाइकर (सन् १९८१), दी चोकिङ डोबरम्यान (सन् १९८४), दी बेबी ट्रेन (सन् १९९३), दी बिग बुक अफ अर्बन लिजेन्डस् (सन् १९९४) आदि लोकसाहित्यिक वृत्तमा बहुचर्चित छन् ।
जन ह्यारोल्ड ब्रनभ्यान्डले आफ्ना कृतिमा समकालीन मिथक तथा किंवदन्तीहरू शहरी परिवेशमा जीवित परम्पराका रूपमा रहेको चर्चा गरेका छन् । उनले यस्ता मिथक तथा किंवदन्तीमा सामाजिक मूल्य–मान्यता कसरी प्रकट भएका छन् र तिनीहरू मौखिक रूपमा कसरी प्रसार भइरहेका छन् भन्नेबारे सुस्वाद वर्णन गरेको देखिन्छ ।
‘शहरी लोकसाहित्य’ लाई लोकप्रिय बनाउने श्रेय अमेरिकी लोकसाहित्यविद् रिचर्ड एम. डोर्सनलाई जान्छ । डोर्सनले लोकसाहित्य र ‘शहरी लोकसाहित्य’ का अनुद्घाटित आयामबारे व्यापकस्तरमा स्थलगत अध्ययन गरेका थिए । लोकसाहित्यलाई प्राज्ञिक अध्ययनको विषय बनाउनमा पनि उनको उल्लेखनीय योगदान छ । डोर्सनले सन् १९४२ मा इन्डियाना विश्वविद्यालयबाट विद्यावारिधि गरेपछि आफ्नो प्राज्ञिक ‘करिअर’ को अधिकांश समय मिसिगन विश्वविद्यालयमा बिताए । जहाँ उनले लोकसाहित्य कार्यक्रमको स्थापना गरी निर्देशकको रूपमा काम गरेका थिए ।
प्रसिद्ध अमेरिकी लोकसाहित्यविद् र मानवशास्त्री एलन डन्सले लोकसाहित्य सँगसँगै ‘शहरी लोकसाहित्य’ को अध्ययनमा प्रशंसनीय काम गरे । सन् १९६२ मा इन्डियाना विश्वविद्यालयबाट उनले विद्यावारिधि गरेका थिए । उनले क्यालिफोर्निया विश्वविद्यालयमा रहेर लोकसाहित्यका साथै ‘शहरी लोकसाहित्य’ का क्षेत्रमा विशद अध्ययन गरी विभिन्न पुस्तक तथा शोधमूलक लेख लेखे । एलन डन्सले लोकसाहित्यको सैद्धान्तिक आधारबारे पनि पर्याप्त विचार–विमर्श गरेका छन् । यति मात्र होइन उनले लोकसाहित्य तथा ‘शहरी लोकसाहित्य’ मनोवैज्ञानिक र सांस्कृतिक कोणबाट समेत विश्लेषण गरे ।
‘शहरी लोकसाहित्य’ को साङ्गीतिक आयाम पनि छ । ‘शहरी लोकसाहित्य’ को विस्तारमा गीत–सङ्गीतले अतुलनीय भूमिका खेलेको देखिन्छ । यस प्रसङ्गमा अमेरिकी सङ्गीतकार बब डिलनको नाम श्रद्धापूर्वक उच्चारण गरिन्छ । डिलनले परम्परागत अमेरिकी लोकगीतमा शहरी जीवन–भोगाइ घोलेर श्रोतामाझ पस्के । जसलाई श्रोतागणले हुनसम्म रुचाए । उनीहरूले गीतको भावलाई अन्तस्करणबाटै प्रेमपूर्वक ग्रहण गरे । यसबाट ‘शहरी लोकसाहित्य’ व्यापक जनस्तरमा विस्तार हुन पुग्यो ।
सङ्गीतकार बब डिलनका जीवनीकारसमेत रहेका सङ्गीत समालोचक रोबर्ट सेल्टनका अनुसार बब डिलन परम्परागत लोकगीतमार्फत आधुनिक शहरी जीवनको सामाजिक तथा राजनीतिक वास्तविकतालाई प्रतिविम्बित गर्न खप्पिस थिए । रोबर्ट सेल्टनले बब डिलनको जीवनी नो डिरेक्ट होम : दी लाइफ एन्ड म्युजिक अफ बब डिलन (सन् १९८६) मा बब डिलनका सङ्गीतकर्मबाट सन् १९६० को दशकको अमेरिकी शहरी जीवनमा लोकगीत पुनर्जागरणमा समेत योगदान पुगेको उल्लेख गरेका छन् (सेल्टन, सन् १९८६) ।
डिजिटल युगमा लोकसाहित्यको दायरा झन् विस्तार भएको पाइन्छ । अमोरिकन फोकलोर सोसाइटीका पूर्वअध्यक्षसमेत रहिसकेका इन्डियाना युनिभर्सिटीका लोकसाहित्यका प्राध्यापक डायने गोल्डस्टिनले डिजिटल युगमा ‘शहरी लोकसाहित्य’ को विकास र विस्तारबारे अन्वेषण गरेकी छन् ।
उनले ‘शहरी लोकसाहित्य’ ले डिजिटल प्ल्याटफर्ममा कसरी स्थान पाइरहेको छ, शहरी लोकअभिव्यक्ति कसरी द्रुत गतिमा गाउँबस्ती र कुना–कन्दरामा विस्तार भइरहेको छ तथा समयक्रममा लोकसाहित्यको रूप कसरी परिवर्तन भइरहेको छ भन्नेबारे आफ्नो कृति सोसल लाइभ्ज अफ स्टोरिज् : अर्बन लिजेन्डस्, आइडेन्टिटी एन्ड कम्युनिटी इन दी डिजिटल एज (सन् १९८६) मा चर्चा गरेकी छन् ।
यी अध्ययन तथा विमर्श पश्चिमी सन्दर्भमा भएका हुन् । जुन हाम्रो परिवेशमा हुबहु मेल नखान सक्छ । हाम्रो सामाजिक तथा सांस्कृतिक परिवेश, मानिसको चेतनास्तर तथा भौतिक विकासको स्तर आदिका आधारमा यहाँको ‘शहरी लोकसाहित्य’ को आकार, प्रकार र स्वरूप फरक हुन सक्छ ।
मेटिँदो सीमारेखा
समयले हाम्रो सामाजिक तथा सांस्कृतिक वातावरणलाई तास फिटेझैँ उलटफेर पारिदिएको छ । समयको प्रवाहसँगै परिवर्तन आउनु अस्वाभाविक पनि होइन ।
अचेल गाउँमै गाउँ भेटिन्न । गाउँ गाउँमा शहर घुसिसकेको छ । गाउँको मौलिक जीवनशैली गाउँमै हराउँदै गएको छ । गाउँबाट घरबुनाको तान हराएको जुग बितिसक्यो । गाउँको मौलिक पहिरन गाउँमै व्यापक किसिमले हराइसक्यो । गाउँमा आयातित लुगाफाटाको साम्राज्य छ । गाउँका मौलिक पहिरनको परिमार्जित संस्करण, अझ भनौँ सुकिलो–मुकिलो संस्करण शहरका सांस्कृतिक कार्यक्रममा मात्र देखिन थालेका छन् ।
अर्कोतिर गाउँघरमा स्थानीयस्तरमै सुसेलिँदै आएको रैथाने लोकभाकाको झङ्कार सुनिन छाडेको छ । गाउँघरमा पनि शहरकै व्यावसायिक रचनाकारले रचेर स्टुडियोमा स्वराङ्कन गरिएका गीतले ठाउँ लिन थालिसकेका छन् । के गाउँ, के शहर, के वनपाखा, जताततै शहरका स्टुडियोमा उत्पादित गीतको रजगज छ । लोकगीतको खानी मानिएको गाउँघर लोकभाकाको उर्वरताका दृष्टिले थारो बनिसक्यो ।
खाद्य संस्कृतिको हविगत पनि उस्तै छ । गाउँमा पनि शहरमा उत्पादित बिस्कुट, चाउचाउ, पेय पदार्थ तथा तमाम उपभोग्य वस्तुको छेलेखेलो छ । गाउँको मौलिक पहिचान मानिने परम्परागत कृषिचक्र एक किसिमले तोडिइसकिएको छ । परिणामस्वरूप गाउँमै मकै, भट्ट, ढिँडो, दूध, दही र मोही जस्ता वस्तु पाउन कठिन छ । यसको सट्टामा व्यापारिक हिसाबले उत्पादित सबै अस्वस्थकर वस्तु गाउँगाउँमा पुगेको देखिन्छ ।
गाउँको मौलिक पहिचान बोकेको उत्पादन गाउँमै भेटिँदैन । गाउँको गुन्द्रुक किन्न शहर झर्नुपर्ने अवस्था छ । अचेल गाउँमा ढिँडो भेटिँदैन । त्यो त शहरको हाइफाई रेस्टुराँमा चर्को दाममा उपलब्ध छ । गाउँले हाटबजारमा भेटिने मालमत्ता शहरका सपिङ मलमा आकर्षक प्याकेजिङका साथ सजिएका छन् । गाउँमा त्यसै मिल्किएको सिस्नु शहरमा मूल्यवान् व्यापारिक वस्तु बन्न गएको छ ।
गाउँको सांस्कृतिक केन्द्र रोदीघर थला परिसकेको छ । गाउँको रोदीघर बसाइँ सरेर शहरको दोहोरी साँझमा व्यापारिक वस्तुमा रूपान्तरित भइसकेको छ । शहरमा रोदीघरको पुँजीवादी रूपरङ चम्किएको छ । बिनायो, मौरीबाजा, मादल जस्ता परम्परागत बाजागाजा बिरानिएका छन् । तिनको ठाउँ आधुनिक बाजागाजाले लिएका छन् ।
गाउँको सञ्चार प्रणालीमा पनि व्यापक परिवर्तन आएको छ । गाउँका कटुवाल प्रथा कमजोर भएको छ । गाउँ के शहर सबैतिर इन्टनेट तथा मोबाइल फोन जीवनको अभिन्न हिस्सा बनिसकेका छन् । कुनै जमानामा आधुनिक आमसञ्चारको उन्नत प्रविधि मानिएको रेडियो–टेलिभिजनलाई पुरानो आविष्कार मानेर कतै थन्क्याउने अवस्थामा पुगिसकेको छ ।
यी तमाम उलटफेर तथा उथलपुथलबाट गाउँ र शहरबीचको सांस्कृतिक सीमारेखा मेटिँदै गएको छ । यससँगै गाउँको लोकसाहित्यमा शहरिया चालचलन घुस्नु अस्वाभाविक भएन । यसबाट समाजको ऐना मानिने लोकसाहित्यमा पनि परिवर्तन नआउने कुरै भएन । यसरी सबै सांस्कृतिक परिदृश्य उलटफेर भएको वर्तमान घडीमा लोकसाहित्य, ‘शहरी लोकसाहित्य’ र ‘पपुलर कल्चर’ बीचको सीमारेखा मेटिँदै गएको छ ।
लोकसाहित्यविद् टे«भर ब्ल्याङ्कले आफ्नो कृति फोकलोर एन्ड दी इन्टरनेटमा डिजिटल मिडियाको उपस्थितिले परम्परागत लोकसाहित्य र ‘शहरी लोकसाहित्य’ बीचको सीमारेखालाई अस्पष्ट बन्दै गएको चर्चा गरेका छन् ।
समाजको परिवर्तनशीलतासँग हर प्रकारको साहित्य परिवर्तन हुनु स्वाभाविकै हो । यही वास्तविकतालाई केन्द्रमा अमेरिकी लोकसाहित्यविद् डोरोथी नोइजले सन् २०१६ मा प्रकाशित फोकलोर इन मोर्डन सिटिज् शीर्षक शोधपत्रमा शहरी जीवनको गतिशीलतासँगै ‘शहरी लोकसाहित्य’ पनि निरन्तर परिवर्तन भइरहने मत जाहेर गरेकी छन् ।
‘शहरी लोकसाहित्य’ को नेपाली संस्करण
नेपालको सन्दर्भमा शहरबारे धेरै वादविवाद गर्न सकिन्छ । कस्तो बसोबासलाई शहर भन्ने ? हामीकहाँ शहरको मापदण्ड के हो ? हाम्रो शहरको चरित्र र विशेषता के के हुन् ? यी प्रश्नको उत्तर खोज्ने क्रममा थुप्रै वादविवाद हुन सक्लान् तर पनि नेपालमा ‘शहरी संस्कृति’ गजबले भित्रिइसकेको तथ्यचाहिँ विवादरहित छ ।
देशको केन्द्रीय राजधानी काठमाडौँको त कुरै नगरौँ । पोखरा, विराटनगर, भरतपुर, बुटवल, भैरहवा, नेपालगन्ज, धनगढी, महेन्द्रनगर आदि स्थानका बाक्लो मानव बस्तीले शहरको दर्जा पाइसकेका छन् । यसबाहेक हामीकहाँ नगरोन्मुख बस्ती वा अर्धशहरी क्षेत्रको सूची लामै हुन सक्छ । अर्कोतिर गाउँको जीवनशैली बदलिँदो छ । गाउँमा उपलब्ध बिजुली, यातायात, सञ्चार आदिको सुविधा आदिलाई दृष्टिगत गर्दा गाउँले जीवनमा पनि शहरी जीवनशैलीको विशेषता बाक्लिँदै गएको छ ।
ग्रामीण जनसङ्ख्या घट्दो र शहरी जनसङ्ख्या बढ्दो क्रममा छ । २०७८ सालमा सम्पन्न राष्ट्रिय जनगणनाको नतिजालाई आधार मान्ने हो भने ६६ प्रतिशत मानिस शहरमा बस्छन् । शहरमा बसेपछि यसको आफ्नै किसिमको जीवन–भोगाइ छ । शहरवासीको जीवन–भोगाइ धेरथोर ‘शहरी लोकसाहित्य’ मा प्रतिविम्बित छ । हाम्रो सन्दर्भमा ‘शहरी लोकसाहित्य’ का अनेकन् आयाम छन् ।
नेपालको ‘शहरी लोकसाहित्य’ मा भूराजनीतिक अवस्था पनि प्रतिविम्बित भएको देखिन्छ । २०७२ सालमा भारतले नाकाबन्दी गर्दा हाम्रो भूराजनीतिक अवस्थालाई घुमाउरो किसिमले दर्शाउने रमाइला उखान–टुक्का सोसल मिडियामा भेटिएका थिए । जस्तै : “नाकाबन्दीको चोट नेतालाई के थाहा ।”, “काम कुरो एकातिर सिलिन्डर बोकी लाइनतिर ।”, “नहुनु ग्यासभन्दा मक्किएको दाउरा जाती ।”, “ट्याङ्करभरि तेल आयो, हर्ष न विस्मात् ।” आदि ।
यसका अतिरिक्त शहरी जीवनको वास्तविकतालाई झल्काउने परिमार्जित शैलीका व्यङ्ग्यात्मक उखान–टुक्का यदाकदा सुनिन्छन् । केही दृष्टान्तः “खडेरीले मकै सुके, मनिप्लान्टलाई पानी ।”, “जोगीको घरमा हिप्पी पाहुना ।”, “बाख्रा बेची अडियो, भैँसी बेची भिडियो ।”, “बाहुनको टुप्पी, एन्टिना न एरियल ।”, “अनिकालमा लाइफ जोगाउनु, आन्दोलनमा बाइक जोगाउनु ।”, “आमा पनि ब्युटी छोरी पनि ब्युटी, बाउले गर्नुपर्ने चुलोको ड्युटी ।”, “प्रेमिकाले छोडेको कहिले कहिले, लभलेटर लेख्छन् अहिले ।” आदि ।
लोकगीतमा पनि शहरिया जीवनशैली राम्रैसँग झल्किन थालेको छ । अहिले शहरका स्टुडियोमा स्वराङ्कित तथा उत्पादित लोकगीतमा पनि शहरी जीवनशैली झल्कने भाव र झङ्कार यथेष्ट भेटिन्छन् । यी गीतमा इन्टरनेट, टेक्स मेसेज, एसएमएस, चाउमिन, क्याम्पस, कलेज जस्ता शहरी जीवन प्रतिविम्बित हुने अभिव्यक्ति देखिन्छ । अब वनपात र गाउँबस्तीमा मात्र गुञ्जने रैथाने शैलीको लोकगीत पाउन अति कठिन छ ।
‘शहरी लोकसाहित्य’ को सैद्धान्तिक आधारलाई मनन गर्ने हो भने डिजिटल मिडियामा आएका अन्तरवस्तु ९अयलतभलत० लाई पनि यसको खजाना मान्न सकिन्छ । अहिले टिकटक, फेसबुक (रिल्स) जस्ता सोसल मिडियाका अन्तरवस्तुमा समाजको वास्तविकता बोल्ने थुप्रै प्रसङ्ग भेटिन्छन् । ती खजानामा लेनदेनसम्बन्धी व्यवहार, वैदेशिक रोजगारी, पीरमर्का, हाँसोठट्टा, राजनीतिक टिप्पणी, दाम्पत्य जीवनको गाह्रोसाह्रो, नरनारीबीच विद्यमान जटिल सम्बन्ध, यौनसम्बन्धी अश्लील अभिव्यक्ति, गालीगलौज आदि भेटिन्छन् । यस्ता खजानालाई ‘शहरी लोकसाहित्य’ को श्रेणीमा राख्न सकिन्छ । यद्यपि यी खजाना स्तरीयता र शिष्टताका कसीमा न्यून कोटीका देखिन्छन् ।
यसबाहेक सडकमा माग्न बसेका भिखारीले गर्ने कलात्मक याचना, सडक व्यापारी तथा शिलाजित व्यापारीले आकर्षक नारा दिएर ग्राहक लोभ्याउने अभिव्यक्ति, सडकमा गीत गाएर सहयोगको याचना गर्नेका साङ्गीतिक अभिव्यक्ति, सडक कविता, सडक प्रहसन, सवारीसाधनमा अङ्कित कवितात्मक अभिव्यक्ति, भित्तेलेखन, महोत्सवमा हुने कलाकर्मीको ‘पर्फमेन्स’ आदिलाई पनि ‘शहरी लोकसाहित्य’ को दृष्टान्त मान्न सकिने सैद्धान्तिक आधार छ ।
लोकसाहित्यका अध्येता रेजिना बेन्डिक्सले अर्बन स्पेसेज एन्ड फोक एक्प्रेसन्स (सन् २०२०) शीर्षक शोधपत्रमा उल्लेख गरे अनुसार भित्ते लेखनदेखि भिडभाडयुक्त बजारसम्मका शहरी दृश्य शहरी लोकअभिव्यक्तिका भण्डार र मञ्च हुन् । रेजिना बेन्डिक्सको कथन हाम्रो सन्दर्भमा पनि पुरापुर लागू हुने देखिन्छ ।
निष्कर्ष
नेपालमा ‘शहरी लोकसाहित्य’ आफ्नै गतिमा विकास भइरहेको छ । जो ‘शहरी लोकसाहित्य’ भनेर नचिनिएरै आफ्नो पथमा निरन्तर अघि बढिरहेको छ । हामीकहाँ ‘शहरी लोकसाहित्य’ ठम्याउने आँखाको कमी छ । अतः ‘शहरी लोकसाहित्य’ लाई सही किसिमले ठम्याउन यसका विविध आयाममा गहन अध्ययन हुन आवश्यक छ ।