बाबुराम कार्की
वराहक्षेत्र, कात्तिक ४ गते । भगवान् राम वनवासका क्रममा बास बसेको स्थान रामधुनी मन्दिरलाई रामायण सर्किटमा जोड्न सम्भाव्यता अध्ययन थालिएको छ । लामो समयदेखि रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिले रामधुनी मन्दिरलाई रामायण सर्किटमा जोड्न सम्भाव्यता अध्ययन गर्दै आएको थियो ।
त्रेतायुगमा वनवासको क्रममा राम भगवान् जहाँ–जहाँ पुगे त्यस ठाउँलाई सर्किटमा जोड्ने कार्यको अध्ययन भइरहेको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताउनुभयो ।
उहाँका अनुसार सर्किटमा जोड्न जानकी मन्दिरको महन्तसँग यसअघि नै छलफल भइसकेको छ । रामधुनी गुठी व्यवस्थापन समितिले विगत पाँच वर्षदेखि रामायण सर्किटमा रामधुनीलाई जोड्न लागिपरेको छ । सर्किटमा जोड्नका लागि स्थानीय सरकार, प्रदेश सरकार र प्रधानमन्त्री कार्यालयको सिफारिससहित पर्यटन तथा संस्कृति मन्त्रालयलाई पत्र बुझाएको गुठी व्यवस्थापन समितिले जनाएको छ । संस्कृति मन्त्रालयले विज्ञ टोली गठन गरेर नेपालमा रामको पाउ स्पर्श भएको क्षेत्रको अध्ययन गरेर सर्किटमा जोड्नुपर्ने अध्यक्ष डिल्ली कार्की बताउनुहुन्छ ।
पूर्वी नेपालमै धार्मिक पर्यटनको महत्त्व बोकेको रामधुनी मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रूपमा थप विकास गर्ने उद्देश्यले सर्किटमा जोड्न लागिपरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । धार्मिक, पौराणिक एवम् ऐतिहासिक धरोहरका रूपमा रहेको मन्दिरलाई सर्किटमा जोड्न तत्कालीन भारतीय राजदूतावासलाई समेत जानकारी गराइएको समितिले जनाएको छ ।
अध्यक्ष डिल्ली कार्कीका अनुसार मन्दिरलाई रामायण सर्किटमा जोड्न भारतीय पक्ष पनि सकारात्मक रहेको छ तर नेपाल सरकारले सिफारिस प्रक्रिया अगाडि नबढाएकाले सर्किटमा रामधुनी मन्दिर जोडिन सकेको छैन । उहाँले भन्नुभयो “नेपाल सरकारले सिफारिस दिए चाँडै सर्किटमा जोडिने थियो ।”
सुनसरीको रामधुनी र वराहक्षेत्र नगरपालिकाको सीमा जङ्गलको बिच भागमा अवस्थित श्री रामधुनी मन्दिर धार्मिक, पौराणिक र ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो । रामधुनी नगरपालिका वडा नम्बर ४ को रामधुनी जङ्गलमा अवस्थित रामधुनी मन्दिर वराहक्षेत्र नगरपालिका र भोक्रहा नरसिङ्ग गाउँपालिकाको सीमा जङ्गलको बिच भागमा अवस्थित छ । पौराणिक कथनअनुसार त्रेता युगमा श्री रामचन्द्र वनवासको क्रममा रामधुनी तपोवनको पूण्यस्थलमा धुनी लगाएर एक रात बास बसेको र आफ्ना पाऊका एक जोर खराऊ बास बसेकै ठाउँमा छाडी गएको भन्ने भनाइ छ । रामको चरण परेको भूमि र उनले बालेको धुनी हेर्न दैनिक देश तथा विदेशबाट श्रद्धालु दर्शन गर्न रामधुनी मन्दिर श्रद्धालुहरू आउने गरेका छन् । रामायण सर्किटमा रामधुनी नि मन्दिरलाई जोड्न सके यस क्षेत्रको धार्मिक, आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने थियो ।
के हो रामायण सर्किट ?
त्रेतायुगमा भगवान् राम र सीताले यात्रा गरेको क्षेत्रलाई नै रामायण सर्किट भन्ने गरिएको छ । तत्कालीन समयमा राम जहाँ–जहाँ पुगेका थिए त्यस क्षेत्रलाई जोड्ने सडक अवधारणा नै सर्किट हो । त्रेता युगमा श्री रामचन्द्र वनवासका क्रममा रामधुनीमा धुनी जगाएर बास बसेको पौराणिक भनाइ अनुसार रामको पाउ स्पर्श भएको क्षेत्रको रूपमा परिचित छ । मन्दिरको बारेमा पुराणहरूमा समेत वर्णन गरिए अनुसार रामधुनीमा राम भगवान् बास बसेको कथन पाइने हुँदा रामधुनी मन्दिरलाई सर्किटमा जोड्न सकिने आधार रहेको छ । सर्किटमा जोड्न सके धार्मिक पर्यटनको विकास हुने भएकाले रामधुनी मन्दिरलाई सर्किटमा जोड्न पर्नेमा सबैले पहल गर्नु पर्ने देखिन्छ ।
रामको पाउँ स्पर्श भएको रामधुनी मन्दिर सर्किटमा जोडिए पूर्वी नेपालका ओझेलमा परेका अन्य पौराणिक मठ मन्दिरहरूको समेत विकास हुने थियो । भारतबाट समेत तीर्थालुहरु आउने गरेको रामधुनी मन्दिर र रामको जन्मस्थान अयोध्याबिचको दूरी ८ सय २२ किलोमिटर छ । भगवान् रामले यात्रा गरेको नेपाल र भारतका क्षेत्रहरूलाई जोडेर सर्किट बनाए धार्मिक पर्यटनको कोसेढुङ्गा साबित हुने थियो ।