कुनै पनि समाजमा त्यहाँको अवस्था, चेतनाको स्तर, घटना परिघटना तथा सकसपूर्ण एवं सहज यात्रासहितको उतारचढाव स्वीकार्य हुन्छ । समाज जीवन्त हुनका लागि यस्ता अवस्था आई नै राख्छन् र आइराख्नु पनि पर्छ । गतिशीलताले नै उन्नत मार्ग पहिल्याउन मद्दत गर्ने हो । समाज उन्नत हुँदै जाँदा मात्रै मानिसको आधारभूत आवश्यकता पूर्तिका लागि सहज अवस्था निर्माण हुँदै जान्छ । हरेक समाजको यस्तो चरित्र हुन्छ, जसलाई साझा चरित्रका रूपमा लिने गरिन्छ ।
समाजको यस्तो चरित्र कायम रहने क्रममा हुने उतारचढावको साक्षी त्यहाँका नागरिक त हुन्छन् नै, अझ जीवन्त साक्षीका रूपमा त्यहाँको पत्रकारिता हुन्छ । नेपालको पत्रकारिता पनि हरेक उतारचढावको जीवन्त साक्षी हो । जीवन्त साक्षी यस अर्थमा भनियो कि पत्रकारिता दर्शकदीर्घामा बस्ने साक्षी जस्तो मात्र हैन र हुन सक्दैन । त्यो उतारचढावका क्रममा सूचना आदानप्रदान गर्ने र ती उतारचढावलाई सहज अवतरण गर्दै एउटा मार्ग पहिल्याउने प्रक्रियामा योगदान दिने भूमिकामा पत्रकारिता रहेको हुन्छ । पत्रकारितालाई समाज विकासका क्रममा अनिवार्य सर्तका रूपमा पनि स्विकारिन्छ ।
पत्रकारिताको अहिलेको अगुवा पुस्ता नेपालको १० बर्र्से सशस्त्र द्वन्द्वको समाचार लेखनबाट खारिएर आएको पुस्ता हो । त्यो अवधिको साक्षी पुस्ता पनि अहिले जीवितै छ । त्यति मात्र हैन, द्वन्द्वका पक्ष नै अहिलेको राजनीतिमा मूल पात्रका रूपमा सक्रिय छन् । त्यसकारण साक्षीको अभाव अझै छैन । केही समयपछि नेपालको पत्रकारिता मात्र त्यो कालखण्डको साक्षीका रूपमा उपस्थित भइरहने छ । नेपालको द्वन्द्व व्यवस्थापनलाई संसारकै मौलिक ढङ्गको अभ्यास मानिन्छ । द्वन्द्वमा पक्षविपक्ष मिलेर सरकार चलाउने मात्र हैन, मिलेरै चुनाव लड्नेसम्मको अभ्यास यहाँ भएको छ । यसले छोटो समयमा नेपाली समाजले द्वन्द्व भुलेर सहयात्राको बाटो रोज्न चाहेको देखाउँछ । जसरी द्वन्द्वको व्यवस्थापन गरियो, त्यसैको प्रतिफल नै यो अवस्था हो । सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन निर्माणका क्रममा पनि सहमति बन्यो । सामाजिक अन्तरघुलनसहित सभ्य समाजको चाहना राख्ने आमनागरिक त द्वन्द्वको घाउ भुल्नै चाहन्थे, पीडित पक्ष र राजनीतिक स्वार्थका कारण पक्षविपक्षमा उभिने शक्तिसमेत नयाँ कानुन निर्माणका क्रममा एकै ठाउँमा उभिन पुगे । यो अनुपम उदाहरण र सभ्य समाज निर्माणको उत्कट चाहनाको अभिव्यक्तिसमेत हो ।
द्वन्द्व व्यवस्थापनका सन्दर्भमा नेपाली मिडियाको भूमिका बिर्सियो भने यो उपलब्धिको कारक तत्वप्रति बेवास्ता गरेको ठहर्छ । अनपेक्षित रूपमा द्वन्द्वकालमा पत्रकारिता गर्न बाध्य भएका पत्रकारका लागि त्यो सकसपूर्ण थियो । जुन प्रदर्शन पत्रकारिताको रह्यो, त्यसमा तलमाथि भएको भए यति सहजै द्वन्द्वको निकास सम्भव थिएन । अहिले आएर द्वन्द्वका दुवै पक्षले भन्ने गरेको सुन्न पाइन्छ– त्यतिबेला पत्रकारिता नभएको भए वा पत्रकारले निर्भीकता प्रदर्शन नगरेको भए अहिलेको यो स्थिति (शान्ति प्रक्रियापछिको स्थिति) आउने नै थिएन । हतियारसहित आमनेसामने उभिएका दुवै शक्तिले मिडियाका सन्दर्भमा यस्तो साझा टिप्पणी गर्नुले त्यतिबेलाको पत्रकारिता सही ठाउँमा उभिएको रहेछ भन्ने पुष्टि हुन्छ ।
पत्रकारिताका वरिष्ठ प्रशिक्षक तथा पत्रकार हस्त गुरुङले आफ्नो पुस्तक ‘शान्तिका लागि पत्रकारिता’ को भूमिकामा लेख्नुभएको छ, “उल्टो पिरामिडमा समाचार लेख्न सिकेको म बबुरोलाई यो किताब लेख्ने क्रममा थाहा भयो, त्यसो गर्दा द्वन्द्व र हिंसालाई समाजले बुझ्ने गरी छर्लङ्ङ बनाउन नसकिँदो रहेछ । द्वन्द्व र हिंसालाई पारदर्शी बनाउन नसक्दा पत्रकारले लेखेको समाचार वा लेखले समाजलाई उपयोगी निर्णय लिन सघाउ पु¥याउन नसक्ने रहेछ ।” गुरुङको यो अनुभवसहितको स्वीकारोक्तिले के दर्साउँछ भने कुनै विशेष अनुभव र ज्ञानबिना नै नेपाली पत्रकारिता युद्ध रिपोर्टिङमा कुद्नु परेको थियो ।
हालै विमोचन भएको पत्रकार दीर्घराज उपाध्यायको पुस्तक ‘द्वन्द्व पत्रकारिताका एक दशक’ मा उहाँले त्यतिबेलाको रिपोर्टिङको अवस्थाका बारेमा लेख्नुभएको छ, “को माओवादी ? को सरकारको सुराकी ? थाहा हुँदैनथ्यो । सेनाका सुराकी र माओवादीका सुराकी हामीभित्र पहिचान लुकाएर काम गरिरहेका छन् भन्ने भान हुन्थ्यो । पत्रकार दुवै पक्षको निगरानीमा थिए ।” द्वन्द्वरत पक्षका कार्यक्रममा आमन्त्रण त हुन्छ रिपोर्टिङका लागि, तर कहाँ जाने हो भन्नेसम्म थाहा हुँदैन । उपाध्यायले लेख्नुभएको छ, “जे भन्छन् त्यो सुन्नु । बस् चुपचाप बस्नु । कहाँ लैजाँदै छन् ? कसैलाई सोध्ने अनुमति थिएन ।” यस्तो अवस्थामा पत्रकारिता गर्दाका चुनौती प्रशस्तै छन् । द्वन्द्व सुरु भएयता हालसम्म ३६ जना पत्रकारको हत्या, बेपत्ता भएको तथ्याङ्क पत्रकार महासङ्घसँग छ । पत्रकारिता गरेकै कारण द्वन्द्वका पक्षले निगरानीमा राख्ने, यातना दिने, गिरफ्तार र अपहरण गर्ने अवस्था थियो ।
आफ्नो पुस्तक ‘युद्धका ती दिन’ मा पत्रकार सङ्गीता खड्काले त्यतिबेलाको भोगाइलाई लेख्नुभएको छ, “जनयुद्ध सुरु भएपछि घोषित रूपमा सङ्कटकाल लागेको थिएन । सरकारका तर्फबाट भएका ज्यादतीका घटना प्रकाशित गर्दा पटक पटक प्रेसमाथि हस्तक्षेप भइरहेको थियो । सङ्कटकाल घोषण भएमा निसानामा सञ्चार क्षेत्र पर्नेमा शङ्का थिएन । जनयुद्धको समर्थनमा लेखेको भन्दै सुरक्षाकर्मीले जनादेश, जनआह्वान, योजना, महिमा जस्ता पत्रिकामाथि पटक पटक हस्तक्षेप गरी पत्रकारलाई गिरफ्तार गर्नुका साथै सञ्चार सामग्री कब्जा गरेका थिए ।” पत्रकार नै विस्थापित हुनुपर्ने अवस्थासमेत त्यो समयमा भोग्नु प¥यो । त्यो बेला आफूले घर छाड्न परेका अवस्था दर्साउँदै खड्का लेख्नुहुन्छ, “थानकोटका चारपाँच जना साथीलाई प्रहरीले गिरफ्तार गरेको खबर आयो । यो खबरपछि घरमा बस्नु उचित थिएन । खबर साँझपख आएकाले तुरुन्तै हिँड्न पनि सम्भव थिएन । भोलिपल्टै बिहान हिँड्ने योजना बनाएर सुतेँ ।”
त्यतिबेलाको अवस्थामा कसरी रिपोर्टिङ गरियो भन्ने सन्दर्भमा उपाध्याय र खड्काले आफ्नो पुस्तकमा थुप्रै चर्चा गर्नुभएको छ । आफ्नो पुस्तकको एक ठाउँमा उपाध्यायले लेख्नुभएको छ, “न ओढ्ने, न बिछ्याउनलाई केही । बिहानको ४ बजिसकेको थियो । भोक उस्तै लागेको थियो, पानीसमेत पिउन पाएका थिएनौँ । त्यस्तो अवस्थामा कसरी सुत्नु ? ...स्वागत मन्तव्य सकिएपछि माओवादी नेताले सम्बोधन गर्न थालेका थिए । त्यतिबेला तीनतिरबाट प्रहरीका गाडी आमसभा स्थलभित्र प्रवेश गरे । सर्वसाधारण र माओवादी कार्यकर्ता तितरबितर हुन थाले ।” त्यस्तै खड्का लेख्नुहुन्छ, “सङ्कटकालको सुरुवातसँगै बढेको व्यापक धरपकडका कारण पत्रिकाको सम्पूर्ण डिजाइन गर्न असम्भव बन्दै गएपछि पछिल्लो चरणमा प्रवासबाटै तयार भएर आउने डिजाइनलाई जस्ताको तस्तै छाप्न थाल्यौँ ।”
गाउँमा नागरिक पनि त्रासमा बसेका थिए । कोही बोल्दैनथे । समाचारका लागि स्रोत नै मौन थियो । “माओवादी समर्थक हो भन्ने सुइँको पाए सेनाले मार्ने, सेनाको समर्थक वा सुराकी हो भन्ने थाहा पाए माओवादीले मार्ने । आमनागरिक दोहोरो चेपुवामा थिए । सेना आए सेना जस्तो भइदिनुपर्ने, माओवादी आए माओवादी जस्तो । बाँच्नका लागि योभन्दा अर्को उपाय थिएन उनीहरूसँग,” पत्रकार उपाध्यायले गाउँमा समाचारको स्रोत नभेटिनुको कारण खुलाउँदै आफ्नो पुस्तकमा लेख्नुभएको छ ।
यो अवस्थामा पनि नेपाली पत्रकारिताले शान्तिका पक्षमा कलम चलाउन छाडेन । गोलमेच सम्मेलन, संविधान सभाको विषय द्वन्द्व समाधानको राजमार्ग निर्माणको एजेन्डा हुन सक्छन् भन्ने कुरा नेपाली मूलधारको मिडियाले पहिचान गर्यो । युद्धमा सामेल माओवादी नेताहरूसँगको लामो संवादका क्रममा यी विषय अभिव्यक्त भए मिडियामा । त्यसमा राज्य पक्ष तयार थिएन । शान्तिलाई नै लक्ष्य ठानेर पत्रकारिता गरिरहेको नेपाली पत्रकारिताले यी एजेन्डालाई माओवादीको मात्र नभई नागरिक समाजकै एजेन्डाका रूपमा स्थापित गराइदिए । शान्तिप्रक्रियाको जग नै यही हुन पुग्यो । यसरी नेपाली मिडियाले द्वन्द्व अवतरणको यात्रामा द्वन्द्वरत पक्षलाई हिँड्न प्रोत्साहित गर्दै आयो । द्वन्द्वरत पक्षको रणनीतिसमेत नेपाली मिडियाले नबुझेको हैन । दुवै पक्षले मिडियालाई आफ्नो अनुकूल प्रयोग गर्न खोजे र आफ्नै मिडिया चलाउन पनि खोजे । मूलधारको मिडियाको शान्तिप्रतिको प्रतिबद्ध पत्रकारिताका अगाडि ती रणनीति कमजोर प्रतीत भए ।
दीर्घ उपाध्याय आफ्नो पुस्तकमा लेख्नुहुन्छ, “नेपाली सेनाका सुदूरपश्चिम पृतनापति राजेन्द्रकुमार थापा मिडियालाई आफू अनुकूल प्रयोग गर्न खोज्ने पृतनापतिका रूपमा चिनिनुहुन्थ्यो । सरकारी सञ्चार माध्यममा तीन सयभन्दा बढी माओवादी लडाकु मारिएको समाचार प्रकाशन तथा प्रसारण भएकोमा माओवादी क्रुद्ध थियो । ...नेपाली सेना माओवादीतर्फको क्षतिलाई देशभरका सञ्चार माध्यमलाई देखाउन चाहन्थ्यो । सेनाले युद्ध भएको भोलिपल्ट काठमाडौँ, नेपालगन्ज र धनगढीका ६० भन्दा बढी पत्रकारलाई हेलिकोप्टरमार्फत पन्डौन पुर्यायो ।”
त्यस्तै सङ्गीता खड्का आफ्नो पुस्तकमा लेख्नुहुन्छ, “केही दिनमै देशभर पाँच ठाउँबाट रेडियो सञ्चालन हुन लागेको र काठमाडौँ नजिकको दुरीमा सञ्चालन हुन लागेको रेडियो प्रसारण गर्ने जिम्मेवारीमा म पनि रहेको जानकारी पार्टी (तत्कालीन युद्धरत माओवादी पार्टी) का विशेष कमान्ड इन्चार्ज कुलबहादुर केसी (सोनाम) ले दिनुभयो । ...पूर्वाञ्चल, विशेष कमान्ड, मध्यपश्चिमाञ्चल, भेरी कर्णाली र सुदूरपश्चिमाञ्चल गरी पाँच ठाउँबाट रेडियो सञ्चालन गर्ने तयारी रहेछ ।”
प्रोफेसर जोहन गाल्टुङको शब्दमा– द्वन्द्व भनेको जीवनपद्धतिकै अनिवार्य तत्व हो, यो मानवीय र सामाजिक यथार्थ हो । यही मान्यतामा टेकेर शान्तिको पक्षमा पत्रकारिता गर्ने तरिका सम्झाउँदै वरिष्ठ पत्रकार हस्त गुरुङ आफ्नो पुस्तकमा लेख्नुहुन्छ, “समाचारमा द्वन्द्व विश्लेषण गर्दा द्वन्द्वको गतिशीलतालाई स्पष्ट पार्न प्राथमिकता दिनु पर्छ । द्वन्द्वको गति तीव्र, मन्द वा सुषुप्त कुन अवस्थामा छ भन्ने कुराको जानकारी दिनु पर्छ । द्वन्द्वको वस्तुस्थितिको विवेचना गर्नु पर्छ । समाचार लेख्न खोजिएको विषयमा द्वन्द्वको प्रभाव कस्तो पर्ला भन्नेबारे मन्थन गर्नु पर्छ ।”
यसरी भोग्दै, सिक्दै नेपाली पत्रकारिता १० बर्से सशस्त्र युद्धको कालखण्डमा पनि जीवन्त साक्षीका रूपमा रहँदै शान्तिको पक्षमा निर्भीकतासाथ उभियो । द्वन्द्वको शान्तिपूर्ण अवतरणमा नेपाली मिडियाको समग्र भूमिकाको अध्ययन हुन बाँकी नै छ । त्यतिबेलाको भोगाइ, सिकाइमा आधारित भएर सार्वजनिक भएका उल्लिखित पुस्तकका आधारमा तथा व्यक्तिका स्मरणका आधारमा पनि यो प्रक्रियामा नेपाली मिडियाको भूमिका सकारात्मक ढङ्गको र निकै महत्वसहितको रह्यो भन्नेमा सन्देह छैन । यतिकै आधारमा पनि शान्तिका लागि कसरी पत्रकारिता गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न चाहनेलाई त्यसका लागि नेपाली पत्रकारिताको पनि अध्ययन गर भनेर भन्न सक्ने स्थानमा हामी उभिएका छौँ । यो गर्वको विषय पनि हो । युद्धरत पक्षका एजेन्डालाई मिहिन अध्ययन गर्ने, एजेन्डामा साझा मत निर्माण हुन सक्छ कि सक्दैन भनेर विश्लेषण गर्ने, त्यसप्रतिको नागरिकको धारणा बुझ्ने काम द्वन्द्वकालीन पत्रकारिता गर्नेका लागि अनिवार्य हुन्छ । यो क्षमताको विकास गर्नै पर्छ । द्वन्द्वरत पक्ष सहमत हुन सक्ने मुद्दा पहिचान गरी त्यसलाई सामाजिकीकरण गर्ने दायित्व दोस्रो प्राथमिकतामा पर्छ । नेपाली पत्रकारिताले यो दायित्व पनि निर्वाह गर्यो ।
संविधान सभालाई आमसहमतिको एजेन्डाका रूपमा मिडियाले स्थापित नै गराएको थियो । अन्तरिम संसद्, त्यहाँ विद्रोही पक्षको उपस्थिति, संविधान सभाको निर्वाचन, दोस्रो पटकको निर्वाचन, हतियार व्यवस्थापन, अनमिनको उपस्थिति र भूमिका, दलहरूबिचको निर्वाचनसम्मको सहकार्यको मुद्दा; यस्ता यावत् संवेदनशील विषय थिए, जहाँ मिडियाको सकारात्मक र रचनात्मक भूमिका नभएको भए अवस्था जुनैबेला पनि भड्किन सक्थ्यो । मिडियाको यसखाले भूमिकाले प्राप्त उपलब्धि अब नागरिक अधिकार स्थापित गर्दै लोकतन्त्रको असल अभ्यासको दिशामा अगाडि बढ्न जरुरी छ । परिवर्तन र सम्भावित सकारात्मक परिवर्तनको महत्वपूर्ण एउटा पक्ष मिडिया पनि हो । नेपालको मिडियाले नेपालको शान्ति प्रक्रियामा एउटा पक्षका रूपमा खेलेको त्यो भूमिकाको थप अध्ययन अझै बाँकी छ । त्यो अध्ययनले हाम्रो पत्रकारिताको गर्विलो इतिहास र भावी पुस्ताका लागि ऊर्जाशील दस्ताबेज तयार गर्ने छ; जुन अझै हुन बाँकी छ ।