बागमती प्रदेशस्थित नुवाकोटको सूर्यगढी गाउँपालिका–३, चोकदे बजारमाथि रहेको पहाडको शिरमा ऐतिहासिक सूर्यगढी रहेको छ । यो गढीको दुई किमी जति पश्चिमतिरको शिरमा सहायक गढीका रूपमा चन्द्रगढी रहेको छ । यो गढी छङ्गाछुर भिरको टुप्पामा रहेको छ । दुवै गढीका बिचमा वागेश्वरी भन्ज्याङ र भन्ज्याङको केही माथितिर वागेश्वरी मन्दिर रहेको छ । यी ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिकस्थल अहिले सामुदायिक जङ्गलको क्षेत्रभित्र पर्छ । सूर्यगढी, चन्द्रगढी, गेर्खुगढी, जितगढी, दुधेगढी नेपाललाई बचाएका ऐतिहासिक गढी हुन् ।
सूर्यगढी समुद्री सतहबाट १,६७३ मिटर उचाइमा पर्छ । यो गढी रहेको डाँडाको उत्तरतर्फ सिधा पारिपट्टि धैबुङको अग्लो डाँडा (रसुवा) पर्छ । दुवै डाँडाका बिच भागबाट गहिरो खोच भएर बग्ने फलाखु (वेत्रावती नदी) ले नुवाकोट र रसुवाको सिमानाको काम गरेको छ । यो गढी रहेको स्थल आफैँमा रमणीय छ । सूर्यगढी गाउँपालिका पहाडी भेगमा पर्छ । यसको नदी किनारको थोरै भाग बेँसीटार पर्छ, जहाँ केही न्यानो हावापानी पाइन्छ । माथिल्लो भाग मझौला हावापानी अर्थात् समशीतोष्ण हावापानी पाइन्छ । छ/सात सय मिटरभन्दा माथिको अधिकांश भूभागमा जाडोमा पनि धेरै जाडो नहुने र गर्मीमा धेरै गर्मी नहुने रम्य हावापानी पाइन्छ । यस भागमा जाडोयाममा पनि हुस्सु/कुहिरो लाग्दैन । दिनभर पारिलो घामले न्यानो बनाउँछ । बर्सातको याममा पनि यहाँ ठुलो बाढीपहिरोको प्रकोपले सताउँदैन । बाह्रै महिना आवतजावत गर्न कुनै अवरोध हुँदैन ।
नुवाकोटलाई सुरक्षित आधार तयार पार्नका लागि वेत्रावती नदी (फलाखु खोला) वरिपरिको किल्ला मजबुत बनाउने क्रममा नेपाली सेनाले चोकदे–गेर्खुको डाँडाभरि बलिया गढीहरू बनाएको थियो । सोही क्रममा विसं १८४९ मा नेपाल–चीन, तिब्बत युद्धका बखत नेपाली सेनाले सूर्यगढीको निर्माण र प्रयोग गरेका थिए । जगको अवशेष अझै केही देख्न सकिन्छ ।
घामको पहिलो झुल्का झुल्कने ठाउँ भएकोले ‘सूर्य झुल्कने गढी’ हुँदै यसको नाम सूर्यगढी रहन गएको हो । लम्बाइ ६६ फिट (पूर्व–पश्चिम), चौडाइ २६ फिट (उत्तर–दक्षिण), उचाइ आठ फिटभन्दा अग्लो, बिचको चौडाइ २४ फिट (उत्तर–दक्षिण), पर्खालको मोटाइ छ फिट थियो । २० फिटको दुरीमा भान्छा थियो । भान्छाको लम्बाइ ३६ फिट र चौडाइ आठ फिट थियो ।
यो गढी रहेको टाकुराको भाग वरिपरि मोटो पर्खाल लगाइएको थियो । पर्खालको दुई/दुई फिटको अन्तरमा करिब चार इन्च जतिको प्वाल थियो, जसबाट बन्दुकको नाल छिराउन सकिन्थ्यो । त्यस्ता प्वाल करिब ३६ वटा जति थिए र प्वालहरू धेरै उत्तरतिर थिए, जुन प्वालबाट पारिपट्टि धैबुङमा चिनियाँ फौजको चहलपहल छर्लङ्ङ देखिन्थ्यो । गढीभित्रको गतिविधि भने पारिबाट चिनियाँ फौजले देख्दैनथे ।
विसं २०४०/४१ सम्म यो गढीको पर्खाल केही थियो । २०२१ सालमा लामा गुफा बस्ने ठाउँ बनाउँदा गढीको पर्खालका वरपर छरिएर रहेका ढुङ्गा गढीको पर्खालमा थपिएका थिए । डाँडाको टुप्पामा सितिमिति मानिस जाँदैनथे । सूर्यगढीको थाप्लो एकछेउबाट अर्को छेउसम्म सर्लक्क परेको र भुइँमा घाँस हुनाले आकर्षक देखिन्थ्यो । सत्तरीको दशकमा त्यहाँ गरिएका निर्माण कार्यले थाप्लाको आकृति जुन पहिलेको अवस्थामा थियो, त्यो यथास्थितिमा रहन सकेन ।
डाँडाको टुप्पामा थुप्रै साना थुम्काथुम्की छन् । यो गढीदेखि साढे दुई किमी जति पूर्व बोहरे भन्ज्याङ र करिब सात/आठ सय मिटर पश्चिम वागेश्वरी भन्ज्याङ रहेको छ । यस शृङ्खलामा सूर्यगढीदेखि पश्चिमपट्टि क्रमशः चन्द्रगढी, गेर्खुगढी, जितगढी, दुधेगढी गरी अरू चार वटा गढी छन् । यहाँ पुग्न काठमाडौँदेखि मोटरबाटोको दुरी ८५ किमी र सदरमुकाम विदुरदेखि भने १७ किमी रहेको छ ।
बेइयानको पुस्तकमा उल्लेख भए अनुसार भदौ ८ बाट युद्ध सुरु भएको ठाउँ चोकदे–गेर्खुडाँडाको उत्तरी मोहडा पहिल्याउन सघाउ पुगेको छ । चोकदे–गेर्खुमा प्रतिरक्षामा तैनाथ नेपाली फौजलाई यस पर्वत शृङ्खलाले ड्याम्मै छेकिदियो । पारि धैबुङबाट चिनियाँ फौजले नेपाली फौजको गतिविधिबारे केही चाल पाउँदैनथे । यहाँको भूस्वरूपले चिनियाँ फौजलाई प्रतिकूल र नेपाली फौजलाई अनुकूल अवस्थामा बदल्न मद्दत पु¥यायो । आधुनिक विकास निर्माणका कार्यले हाम्रा मौलिक संस्कृति लोप हुने क्रम बढ्दै गएको छ । यस परिस्थितिमा यहाँका गढीका पर्खाल पनि बिग्रँदै गयो ।
सूर्यगढीमा ड्युटीमा तैनाथ सेना चौबिसै घण्टा चनाखो भएर पारिको चिनियाँ फौजको गतिविधि चियो गरी होसियारीपूर्वक सतर्कताका साथ बस्थे । दामोदर पाण्डेको कमान्डमा पाँच कम्पनी नेपाली सेना चोकदेमा प्रतिरक्षा स्थितिमा तैनाथ थिए । काजी दामोदर पाण्डे, सरदार प्रबल राना, सरदार पारथ भण्डारी, सुब्बा जोरवर बोगटी पाँच कम्पनी पल्टन लिई चोकदेमा घेरा दिई बसेका थिए । युद्धताका यस गढीमा साउनदेखि कात्तिकसम्म नेपाली सेना तैनाथ रहेका थिए । विसं १८४९ भदौ ८ गते वेत्रावती पुल तरी तीन दिशातिर आक्रमण गर्न आएकामध्ये वागेश्वरी भन्ज्याङ/सूर्यगढीतर्फ आक्रमण गर्न आएका एक हिस्सा चिनियाँ फौजविरुद्ध सूर्यगढी–चन्द्रगढी डाँडाको वारपार धेरै माथिबाट चिनियाँ फौजविरुद्ध दामोदर पाण्डेको कमान्डको नेपाली फौजले अकस्मात् भयानक आक्रमण गर्दा उनीहरूको भागाभाग भएको इतिहासमा उल्लेख छ । चोकदे (सूर्यगढी)–गेर्खु (दुधेगढी) को उत्तरी पाखामा भएको त्यस युद्धमा चिनियाँ फौज पूरै पराजित भयो ।
सूर्यगढीबाट पारिपट्टि धैबुङमा रहेका चिनियाँ फौजको गतिविधि चियो गर्ने, सूचना सञ्चार गर्ने, कुवापानी महभिरतर्फका वनमा ठाउँ ठाउँमा राखिएका सेना र चोकदे क्याम्पमा बसेका फौजकाबिच खबर सञ्चार गर्ने कार्य भएको थियो । दामोदर पाण्डेको कमान्डमा चोकदेमा रहेका फौजले बेलाबखत फलाखु पारि धैबुङ, वेत्रावतीमा दुस्मनमाथि सफल आक्रमण गरी यही सुरक्षित किल्लामा आएर बस्ने गरेको भन्ने भनाइ पनि छ ।
चीन–तिब्बतको संयुक्त फौजलाई जस्तोसुकै मूल्य चुकाएर पनि रोकी छाड्ने अभिप्रायले ढालयुक्त पहाडको टुप्पामा युद्धका बखत नेपाली फौजले निर्माण गरेको गढी हो यो । दामोदर पाण्डेको नेतृत्वमा भीषण लडाइँ भएको गढी पनि हो यो । चीनको भीमकाय संयुक्त फौज युद्धमा पराजित हुन गयो, जसले गर्दा नेपाल र चीनबिच वेत्रावती सन्धि भयो । यही सन्धिले नेपाल र चीनबिचको सम्बन्धलाई झनै निकट बनायो । विसं १८४९ देखि ११५ वर्षसम्म उपहार आदानप्रदान गर्ने परम्परा रह्यो । नेपाल र चीनबिच कूटनीतिक साथै सांस्कृतिक सम्बन्धको एउटा अङ्ग नै बन्न गयो । यति महत्वपूर्ण ठाउँको केही वर्षयता खोज, अध्ययन साथै पुनर्जागरणको प्रयास हुँदै आएको पनि छ । फलतः पुरातत्त्व विभागसँग समन्वय गरेर नेपाली सेनाको उपत्यका कमान्ड टोलीले सूर्यगढी सरक्षण गर्ने मास्टर प्लान तयार गरेको छ ।
ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक, धार्मिक, भौगोलिक एवं प्राकृतिक तथा देशभक्ति र वीरगाथाले भरिएको यस स्थलमा पर्यटन विकासको पनि प्रचुर सम्भावना छ । पूर्वाधार योजना र स्रोतको भने खाँचो छ । यहाँबाट नुवाकोटको साततले दरबार १० किमीको दुरीमा अवस्थित छ । मुख्य कुरा गढीलाई पहिलेकै स्वरूपमा ढालेर जीर्णोद्धार हुन सकेको छैन तर गढीको पश्चिम मोहडा वागेश्वरी भन्ज्याङको मोटरबाटोदेखि वागेश्वरी मन्दिर हुँदै चारैतिरको दृश्य अवलोकन गर्दै उकालो चढ्ने सिँढी भने बनेको छ ।