हिमाली देशका रूपमा परिचित नेपाल संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुकमध्ये एक हो । हिमाल, पहाड, तराई र विभिन्न तालतलैयाका साथै सांस्कृतिक, धार्मिक र जातीय विविधताले भरिएको मुलुक पनि हो । यहाँको रहनसहन, परम्परा र संस्कृति आफैँमा अनुपम छ । यही कारण विभिन्न मुलुकबाट फरक फरक प्रकारका पर्यटक फरक फरक उद्देश्यले नेपाल आउने गरेका छन् । कोही प्राकृतिक सौन्दर्यको रसास्वादन गर्न त कोही नेपालका पर्यटकीय स्थलको भ्रमण गर्न, कोही ट्रेकिङ र हाइकिङ गर्न यहाँ आउँछन् । साहसी पर्यटक हिमाल आरोहणका लागि आउँछन् । धार्मिक पर्यटक पनि नेपाल आउँछन् । नेपाल संसारका हिन्दुको धार्मिक गन्तव्य स्थल पनि हो । हिन्दुका आराध्यदेव पशुपतिनाथ, मुक्तिनाथ जस्ता धाम नेपालमा रहेका छन् । पर्यटक नेपालको भूमि भएर चीनमा रहेको मानसरोवर कैलाश भ्रमण गर्न पनि जान्छन् ।
संसारभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र अर्थात् बुद्धको जन्मस्थल लुम्बिनी पनि नेपालमा नै रहेको छ । बौद्ध धर्मावलम्बी बुद्धको जन्मभूमि टेक्ने अभिप्रायले नेपाल आउने गर्छन् । यसरी फरक फरक प्रकारका उद्देश्य बोकेर पर्यटक यहाँ आउँछन् । ती सबै पर्यटकका लागि नेपाल अत्यन्तै कौतुहलतापूर्ण पर्यटकीय गन्तव्य बन्ने गरेको छ । पर्यटन क्षेत्रबारे उचित प्रचारप्रसार हुन सकेको खण्डमा नेपालमा बर्सेनि लाखौँ पर्यटकको आगमन हुन सक्छ । पर्यटकका लागि हँसिलो व्यवहारले सेवा दिने, राम्रो सुरक्षा उपलब्ध गराउने, उनीहरूका लागि आवश्यक आधुनिक पूर्वाधार उपलब्ध गराउने, स्वस्थ खानपान र वातावरण हुने हो भने नेपालमा विश्वका पर्यटकको गन्तव्य बन्ने निश्चित छ । यसका लागि सरकारी तथा निजी क्षेत्रले पर्यटकीय पूर्वाधारमा लगाउनी बढाउनु पर्छ । विश्वका पर्यटकीय देशले उपलब्ध गराउने सेवा सुविधा हामीले पनि कसरी दिन सक्छौँ, त्यसको सिको गर्न अब पछि पर्नु हुँदैन । पर्यटकले पाउने सेवा, सुविधा र व्यवहारले नै हाम्रो पर्यटन व्यवसायले उन्नति, प्रगति गर्दै जाने हो । त्यसैले पर्यटक बढाउनु छ भने पर्यटकीय पूर्वाधारमा लगानी बढाउनु उत्तम हुन्छ । फेरि पर्यटकीय पूर्वाधारलाई राम्रोसँग प्रयोग गर्ने, सञ्चालन गर्ने कुरामा पनि ध्यान दिनु पर्छ ।
पर्यटकलाई आतिथ्य प्रदान गर्न जसरी राम्रा होटेलको आवश्यकता पर्दछ, त्यसरी नै विभिन्न प्रकारका पर्यटकलाई नेपाल ल्याउनका लागि विभिन्न भूभागमा घुमाउनका लागि र नेपालबाट सहज, सुलभ र आरामदायी ढङ्गले फिर्ता पठाउन अन्तर्राष्ट्रिय/राष्ट्रिय विमानस्थलका साथै सडक यातायात आवश्यक पर्छ । नेपालमा अहिलेसम्म पर्यटकीय पूर्वाधार पर्याप्त छैन । पर्यटन व्यवसायको प्रवर्धन र उन्नति एवं प्रगतिका लागि पर्यटकीय पूर्वाधार अपरिहार्य छ । सडक सञ्जालले नेपाललाई पूर्ण रूपमा जोड्न सकेको पनि छैन । त्यसैले हवाईमार्गबाट पर्यटकलाई गन्तव्यमा पु¥याउनु पर्छ, जसका लागि सुविधासम्पन्न विमानस्थल आवश्यक पर्छ ।
के अहिले हामीसँग पर्याप्त विमानस्थल छन् त ? बिलकुलै छैनन् । नेपालको पहिलो विमानस्थलका रूपमा रहेको त्रिभुवन विमानस्थल सन् १९४९ मा गौचरन अर्थात् गाई चर्ने ठाउँका रूपमा चिनिएको थियो, जुन ठाउँलाई विमानस्थल बनाएर हवाई सेवा सुरु गरिएको थियो । गौचरन विमानस्थलपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो, जुन नेपालको सबैभन्दा पुरानो विमानस्थल हो । सन् १९४९ मा विमानस्थलका रूपमा हवाई यातायात सुरु भएको भए पनि अहिलेसम्म नेपालमा केवल जम्मा ३४ वटा मात्र विमानस्थल निर्माण भएका छन्, जसमध्ये केवल तीन वटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । यति धेरै पर्यटकीय सम्भावना बोकेको मुलुक भए पनि पर्यटकीय पूर्वाधार नभएकै कारण नेपालले ठुलो सङ्ख्यामा पर्यटकलाई नेपाल ल्याउन सकेको छैन ।
अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेका तीन वटा विमानस्थलमध्ये भैरहवा र पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एयर रुटको असहजताका कारण राम्रो गरी सञ्चालनमा आउन सकेको छैन । त्यसरी नै पोखरा विमानस्थल पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबारे विभिन्न तर्कवितर्क गर्ने गरिएको पाइन्छ । पोखरा विमानस्थल करिब तीन हजार सात सय रोपनी क्षेत्रफलमा चीनको सिएमसी कम्पनीले निर्माण सम्पन्न गरेको हो । पोखरा विमानस्थल आफैँमा महìवपूर्ण पर्यटकीय पूर्वाधारमध्ये एक हो । यो नेपालको पर्यटक राजधानी पोखरामा रहेको छ । पोखरा घुम्न बाह्य पर्यटक मात्र होइन, आन्तरिक पर्यटकसमेत ठुलो सङ्ख्यामा आउने गरेका छन् ।
त्यसरी नै पोखरा विमानस्थलले जोमसोम अर्थात् मुक्तिनाथसम्म करिब १० लाख पर्यटकलाई वार्षिक रूपमा सेवा दिने उद्देश्य राखेको छ । पोखराबाट हुने ट्रेकिङ, हिमाल आरोहण र त्यहाँको पर्यटकीय क्षेत्रमा पर्यटकलाई भ्रमण गराउनका लागि यो विमानस्थल महत्वपूर्ण हुने देखिन्छ । नेपालको पर्यटन विकासका लागि अत्यन्त आवश्यक रहेको अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पोखरा विमानस्थल निर्माण गरिएको हो । यो विमानस्थल निर्माणका लागि करिब २२ अर्ब रुपियाँको लागतमा दुई हजार पाँच सय मिटरको रनवे, १० हजार वर्गमिटरको टर्मिनल भवन निर्माण गर्ने सम्झौता भएको थियो । पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस २१९ मोडेलका न्यारोबडी ल्यान्ड गर्न मिल्ने गरी सम्झौता भए अनुसार निर्माण सम्पन्न भई २०२३ जनवरी १ बाट सुरुवात भइसकेको छ तर अहिले पोखरा विमानस्थल राम्रोसँग सञ्चालन हुन सकेको छैन । सरकारले विभिन्न प्रकारका कर छुटको व्यवस्था गर्दै विमानस्थललाई पूर्ण रूपमा सञ्चालनको पहल गरेको छ तर विमानस्थलबारे नकारात्मक कुरा गरेर यसको सञ्चालनमा अवरोध खडा गरेको देखिन्छ ।
ऋण सहयोगमा निर्माण भएको यस विमानस्थल हवाई यातायातको महìवपूर्ण पूर्वाधार हो । यसको प्रयोग नेपालले भरपुर गर्न सक्नु पर्दछ । मित्रराष्ट्र चीनले नेपालमा निर्माण गरिदिएको पूर्वाधार विकासको कार्य यो पहिलो अवश्य होइन । विगत छ दशकदेखि चीनले नेपालको विकासमा अनवरत सहयोग गर्दै आइरहेको छ । नेपालको विकासका लागि चीनले कोदारी राजमार्गको निर्माणको विषय होस् या नेपालमा बाँसबारी छाला जुत्ता कारखाना चिनियाँ सहयोगमै निर्माण भएका पूर्वाधार हुन् । त्यसै गरी हेटौँडा कपडा उद्योग, हरिसिद्धि इँटा टायल कारखाना, भृकुटी कागज कारखाना, लुम्बिनी सुगर मिल, काठमाडौँदेखि भक्तपुरको सूर्यविनायकसम्म ट्रलीबस सेवा जस्ता नेपालमा उद्योग र यातायात क्षेत्रको विकासमा चीनले सहयोग गरी नेपालमा विकासका पूर्वाधार निर्माणमा महत्वपूर्ण सहयोग गर्दै आएको छ । त्यस्तै चिनियाँ सहयोगमा कोटेश्वर–कलङ्की चक्रपथ निर्माण भई २०७५ सालमा नेपाल सरकारलाई हस्तान्तरण भइसकेको छ । पछिल्लो समयमा चीनको एक्जिम बैङ्कको ऋण सहयोगमा पोखरा विमानस्थल निर्माण भएको हो ।